१० मंसिर २०८१, सोमबार
नरैनापुर गाउँपालिकाका किसानले अझैँसम्म राहत रकम पाएनन

  • टाइम्स संवाददाता

  • १८ मंसिर २०७९, आईतवार ०९:११

बाँके, नरैनापुर :बेमौसमी वर्सातले काटेको र काट्न तयारी अवस्थामा रहेको धानवालीमा क्षति पुगेका नरैनापुर गाउँपालिकाका किसानले अझैँसम्म राहत रकम पाएका छैनन् । वर्सातले क्षति पुर्याएका किसानलाई राहत रकम दिन क्षतिको विवरण संकलन भए पनि अहिलेसम्म नपाएको नरैनापुर गाउँपालिका ६ गंगापुरका आशाराम यादवले बताए ।

उनले राहत रकम आएको सुने पनि अहिलेसम्म नपाएको बताए । ‘गत वर्षको राहत रकम एक वर्ष वित्दासमेत पाइएको छैन । सुखा पीडितको रकम झन के पाइएला,’ उनले भने, ‘आशा गरेर निराश हुनुभन्दा आशा नै नगर्ने उचित लाग्न थालिसक्यो ।’

नरैनापुर गाउँपालिका ५ मटिहियाका सोहनलाल यादवले पनि गत वर्षको राहत रकम नपाएको गुनासो गरे । बेमौसमी वर्सातले धानवालीमा पुर्याएको क्षतिको विवतरण बुझाए पनि अहिलेसम्म राहत रकम नपाएको उनले बताए । ‘गाउँपालिकामा गएर बुझ्दा पाउनुहुन्छ भन्ने आश्वासन दिन्छन्, तर कहिले दिने एकीन समय भन्दैनन्,’ उनले भने, ‘गाउँपालिका धाएर हैरान भइसक्यौँ । अव त सोध्न मन लाग्न छाडिसक्यो ।’

राहत रकमका लागि गाउँपालिका धाएर थाकिसकेको नरैनापुर गाउँपालिका ४ नरैनापुरका जाकिर खाँले बताए । उनले राहत रकम नपाउँदा पेट पाल्न समस्या भएको बताए । ‘अव त गत वर्षको राहत रकम पाउने आशा पनि मरिसक्यो । यस वर्षको झन आशा गर्नुको कुनै अर्थ छैन,’ उनले भने ।

समयमा वर्सात नभएपछि नरैनापुर गाउँपालिकाको ८५ प्रतिशत जमिनमा धान रोपाइँ भएको छैन । रोपाइँ नभएपछि गाउँपालिकाले सुखा क्षेत्र घोषणा गरेको छ । यस गाउँपालिकामा आठ गुणा कम धान उत्पादन भएको कृषि शाखा प्रमुख सदन भण्डारीले जानकारी दिए ।

गतवर्षको राहत छिट्टै वितरण गर्छौँ : कृषि शाखा प्रमुख
बेमौसमी वर्सातले धानवालीमा क्षति भएका किसानलाई छिट्टै राहत रकम वितरण गरिने गाउँपालिकाका कृषि शाखा प्रमुख भण्डारीले जनाएका छन् । उनले राहत वितरणका लागि सरकारले रकम पठाइसकेकोले प्रक्रिया पुर्याएर छिट्टै वितरण गरिने बताए । ‘जिल्ला प्रशासन कार्यालयले गाउँपालिकाको खातामा रकम पठाइसकेको छ । गाउँपालिकाले पीडित किसानको बैँक खातामा रकम पठाउने ब्यवस्था मिलाउँदै छ,’ उनले भने ।

उनले पीडित किसानलाई राहत रकमका लागि नआत्तिन आग्रह गरेका छन् । कागजी प्रक्रिया पुर्याउन केहि समय लागेकोले वितरणमा केहि ढिलाई भएको उनको भनाई छ । ‘किसानका लागि आएको रकम किसानले नै पाउने हो । रकम गाउँपालिकाको खातामा आइसकेको छ । केहि दिनपछि वितरण हुनेछ । तपाईहरु (किसान) नआत्तिनु होला,’ भण्डारीले भने ।
करिव पाँच हजार परिवार किसानलाई राहत वितरणका लागि झण्डै दुई करोड रुपैँया पालिकाको खातामा जम्मा भइसकेको भण्डारीको भनाई छ ।

उनले सुखा पीडित किसानको पनि लगत संकलन गरिरहेको बताए । सुखा पीडित किसानको लगत संकलन सकिए पछि राहतका लागि प्रक्रिया अगाडी बढाइने स्पष्ट पारे । ‘राहतका लागि कति रकम आवश्यक छ भन्ने निक्र्यौल गरेपछि मात्र सरकारसँग माग गर्छौँ,’ उनले भने ।

Nabintech