५ जेष्ठ २०८१, शनिबार
वीरगञ्जमा आज नेपथ्य लाइभ कन्सर्ट हुने, सबै तयारी पुरा

  • टाइम्स संवाददाता

  • १९ मंसिर २०७९, सोमबार १०:३४

वीरगञ्ज:  वीरगञ्जमा आज नेपथ्य लाइभ कन्सर्ट हुने भएको छ । मानव सेवा आश्रमको आयोजनामा मानवता प्रवर्द्धनका साथै मानव सेवा आश्रमको भवन निर्माण तथा अक्षयकोष स्थापनार्थ चर्चित साङ्गीतिक समूह नेपथ्य व्याण्डसँगको सहकार्यमा मानव सेवा आश्रमले आज अपराह्न ४ः०० बजेदेखि ८ बजेसम्म वीरगञ्जमा आयोजना गर्न लागेको ‘नेपथ्य लाइभ कन्सर्ट’ गर्न लागेको र  कन्सर्ट’को सबै तयार पुरा भएको जनाइएको छ  ।

‘मानवताका लागि सङ्गीत’ भन्ने नाराका साथ महिना व्यापी रूपमा आयोजना गर्न लागिएको अन्तर्राष्ट्रियस्तरको उक्त नेपथ्य लाइभ कन्सर्टअन्तर्गत दोस्रो कार्यक्रमको रूपमा वीरगञ्जको आदर्श नगर रङ्गशालामा आज पाँच हजार मानिसको सहभागितामा नेपथ्य गुञ्जने आयोजकले जनाएको छ ।

उक्त महिना व्यापी कार्यक्रमअन्तर्गत मङ्सिर १६ गते पहिलो कन्सर्ट पाँच हजार दर्शकको उपस्थितिमा विराटनगरमा सम्पन्न भएको थियो । वीरगञ्जमा अन्तराष्ट्रियस्तरको साङ्गीतिक समुहरुलाई ल्याउन सक्नु पनि वीरगञ्जवासी कै लागि गौरवको विषय भएको जनाइएको छ ।

मानव सेवा आश्रम सहयोगापेक्षी (बेसहारा, असक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रूपमा कमजोर) सडक आश्रित मानवहरूको मानवोचित व्यवस्थापन, औषधोपचार, पालनपोषण र जीवन रक्षा गर्दै परिवार खोजेर पुनर्मिलनसमेत गराउने अभियानमा एक दशकदेखि सक्रिय रहेको संस्था हो ।

हेटौँडामा मुख्य कार्यालय रहेको मानव सेवा आश्रमले १९ जिल्लाका २३ सेवा केन्द्रबाट सेवा दिइरहेको छ । हाल देशैभर गरेर झन्डै एक हजार ६सय सडक आश्रित मानवहरूले सेवा पाइरहेका छन् ।

आश्रम अहिले विसं २०८२ सालसम्ममा नेपालका सडक पेटीलाई सडक आश्रित मानवरहित बनाउने योजनाका साथ अघि बढेको छ । वीरगञ्ज महानगरपालिका ९ स्थित रानी घाटमा ६ वर्ष अघि स्थापना भएको मानव सेवा आश्रममा हाल अभिभावक विहीन ५० व्यक्तिहरू आश्रित रहेका छन् ।

वीरगञ्ज महानगरपालिका १५ स्थित लक्ष्माननौतनमा झन्डै रु १५ करोडको लागतमा भवन निर्माण गर्न लागिएको छ । उक्त भवन निर्माणका लागि आर्थिक जोहो गर्न तथा मानवता प्रवर्द्धन गर्न नेपथ्य लाइभ कन्सर्टले सघाउ पुर्‍याउने विश्वास लिइएको छ ।

आगामी अर्को कार्यक्रम यही २२ गते हेटौडा र २५ गते चितवनमा पनि हुँदै छ । त्यसपछि नेपालगञ्ज, सुर्खेत, धनगढी , बुटवल, पोखरा र काठमाडौँमा कार्यक्रम हुने छ ।

Nabintech