१० मंसिर २०८१, सोमबार
विद्यार्थीका लागि ल्याएको ल्यापटप शिक्षकलाई उपहार

  • टाइम्स संवाददाता

  • २७ मंसिर २०७९, मंगलवार १३:११

सुर्खेत : जाजरकोट भेरी नगरपालिका– ११ जगतिपुर स्थित शिव शंकर माध्यमिक विद्यालयमा रहेका कम्प्युटर शिक्षकले घरमा लैजाँदा विद्यार्थीले छुनसमेत पाएका छैनन्। ४५ वटा कम्प्युटर मध्ये १३ वटा ल्यापटप र ३२ वटा डेस्कटप विभिन्न निकायबाट विद्यालयलाई उपलब्ध गराएको थियो।

ति कम्प्युटरहरू विद्यार्थीहरूले टाढैबाट देख्न बाहेक अन्य काम कुनै पनि गर्न नपाएको बताएका छन्। विद्यार्थीका लागि भनेर उपलब्ध भएका ल्यापटपहरू शिक्षकले घरमा लिएर राखेको विद्यार्थीहरूले आरोप लगाएका छन्।

प्रयोगशालामा राखेपछि बिग्रन्छन् भन्ने बहाना बनाएर ल्यापटपहरू शिक्षकले घरमा लिएको विद्यार्थीको भनाइ छ। विद्यालयलबाट निर्णय नै गरेर १३ जना शिक्षकलाई ल्यापटप दिइएको छ।

प्रयोगशालामा भएका कम्प्युटर पनि विद्यार्थीले छुन पाउँदैनन्। जनशक्ति र विद्युतको अभावको बहाना बनाउँदै विद्यालयले प्रयोगात्मक अभ्याससमेत नभएको विद्यार्थीको भनाइ छ। विद्यालयले निजी स्रोतबाट एक जना शिक्षक राखिएको छ तर  ती शिक्षकले पनि विद्यार्थीलाई पढाउँदैनन्।

उनले कहिलेकाहिँ विद्यार्थीलाई पढाए पनि अधिकांश समय कम्प्युटरसम्बन्धी काम मात्रै गर्ने गरेको विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क नेपाली बताए।

विद्यालयमा कम्प्युटर चलाउनका लागि पहिले सोलार व्यवस्था गरिएको थिए भने अहिले विद्युत नै जडान गरिएको छ। तर विद्यालयको भद्रगोल व्यवस्थापनका कारण विद्यार्थीहरूले कम्प्युटर छुन पाउँदैनन्। सैद्धान्तिक विषय मात्रै पढेर परीक्षा दिने गरेको एक  विद्यार्थी बताउँछन्।

‘किताबमा जे लेखेको छ, त्यही पढ्छौँ, सोही अनुसार परीक्षा दिन्छौँ’, एक विद्यार्थीले भने, ‘प्रयोगात्मक कक्षा नहुँदा कम्प्युटर खोल्न र बन्द गर्नसमेत जानेका छैनौँ।’

पाठ्यक्रम विकास केन्द्रले २०७० देखि नै कक्षा ६ माथि कम्प्युटर शिक्षालाई अनिवार्य गरेको छ। कक्षा ९ र १० मा ऐच्छिक कम्प्युटर शिक्षा लागू गर्ने भनिएको छ। पाठ्यक्रमअनुसार कम्प्युटर विषयको परीक्षा बनाउँदा ५० प्रतिशत सैद्धान्तिक र ५० प्रतिशत प्रयोगात्मक बनाउनुपर्ने व्यवस्था छ। तर जाजरकोटका जिल्लाका अधिकांश सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षा देखावटी मात्रै बनेको छन्।

कम्प्युटर ल्याब छ, जनशक्ति छैनन्
विद्यालयमा कम्प्युटर ल्याब (प्रयोगशाला कक्ष) छ। विद्यार्थीलाई प्रयोगात्मक अभ्यास गराउन शिक्षा विकास कार्यालय र भेरी नगरपालिकाले १४ लाख बढी रकम खर्चेर प्रयोगशाला स्थापना गरिदिएका छन्।

ल्याबमा शिक्षकले घरमा लिएका ल्यापटप बाहेक ३२ वटा डेस्कटप कम्प्युटरहरू छन्। तर जनशक्ति अभावमा प्रयोगशाला नै प्रयोगविहीन बनेको छ। लामो समयदेखि कम्प्युटर नचलाउँदा १२ वटा डेस्कटप त बिग्रिसकेका छन्।

२० वटा डेस्कटप चालू अवस्थामा छन्। तर पनि जनशक्ति नभएकै कारण विद्यार्थीलाई प्रयोगात्मक अभ्यास गराउन नपाएको प्रधानाध्यापक रामलाल आचार्यले बताए। ‘जनशक्ति अभावकै कारण कम्प्युटर शिक्षा प्रभावकारी बन्न सकेको छैन’, उनले भने, ‘प्रयोगात्मक अभ्यास गराउने जनशक्ति त के विद्यालयमा कम्प्युटर विषय पढाउने शिक्षक नै छैनन्।’ विषय शिक्षक नभएका कारण कक्षा ६ देखि ८ सम्म लेखापालले कम्प्युटर विषय पढाउने गरेका छन्।

विद्यार्थीका लागि ल्याएको ल्यापटप शिक्षकलाई उपहार
विद्यालयले विद्यार्थीको लागि ल्याएका कम्प्युटर शिक्षकलाई उपहार जस्तै गरेर वितरण गरेको छ। विद्यालयबाट आधिकारिक निर्णय नै गराएर शिक्षकलाई ल्यापटप वितरण गरेको प्रधानाध्यापक आचार्यले जानकारी दिए।

विद्यालय कर्मचारी प्रशासनको बैठकबाट निर्णय गरेर विभिन्न तहमा कार्यरत १३ जना शिक्षकलाई ल्यापटप वितरण गरेको उनले बताए। कक्षा ११, १२ मा अध्यापन गराउने शिक्षकहरू बिनिता बटाला, टेकबहादुर मल्ल, गणेश वली, मावि तहका वीरप्रसाद शर्मा, शन्तप्रसाद शर्मा र रुद्र रानालाई ल्यापटप वितरण गरेको हो।

त्यस्तै निमाविका शारदा शर्मा, एमबहादुर रोकाय र सञ्जय भारती र प्रावितर्फका ईश्वरी जैसी र पिताम्बर शर्मालाई वितरण गरिएको हो। वितरण गरिएका १३ वटा ल्यापटपमध्ये ६ वटा सामाजिक विकास कार्यालय जाजरकोटले र बाँकी अन्य अनुदान स्वरूप दातृ निकायले दिएका थिए। ल्यापटप पाएका शिक्षकले प्रश्नपत्र बनाउने बाहेक बाँकी घरमा फिल्म र गीतहरू सुन्ने काममा प्रयोग गर्दै आएका छन्। शिक्षकको क्षमता विकासका लागि बाँकी कार्यरत शिक्षकका लागि पनि ल्यापटप माग गरिएको प्रधानाध्यापक आचार्यले बताए।

यता भेरी नगरपालिकाले भने घरमा कम्प्युटर लैजाने शिक्षक र दिने विद्यालयलाई कारबाही गरिने बताएको छ। विद्यार्थीले कम्प्युटर छुनसमेत नपाउने तर शिक्षकले ल्यापटप व्यक्तिगत प्रयोजनका लागि घरमा लिइएको भेटिए कानुनी कारबाही गर्ने नगरपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख अमृत पुनले बताए।

विद्यालयमा कम्प्युटर शिक्षक अभाव भए नगरपालिकालाई जानकारी गराउनुपर्ने तर जनशक्ति अभावको बहाना बनाएर विद्यालयको सम्पत्तिलाई दुरुपयोग गर्न नहुने उनको भनाइ छ।

Nabintech