• १५ माघ २०७९, आईतवार
हेर्नैपर्ने रुकुमको स्यार्पुताल

कसरी पुग्ने स्यार्पु ?


  • केबी मसाल

  • १६ पुष २०७९, शनिबार १२:४२

बाँफीकोटमा रहेको स्यार्पु ताल विशेष गरी वर्षातमा हेर्नलायक हुन्छ । स्यार्पुतालको आकार वर्षा र हिउँदमा आकार मात्र होइन रंग पनि फरक हुन्छ । स्यार्पुताल साउनदेखि असोज महिना तालको आकार पानी भरिएर आकर्षक देखिन्छ । हिउँदमा तालको आकार विस्तारै घटदै जान्छ । हिउँदमा पनि ताल निकै रमणीय देखिन्छ । शहर बजारको कोलाहल, हिलो, धुलो र धुँवाको सामना गरिरहेका मानिसहरुलाई स्यार्पु तालको घुमघामले रिफ्रेस बनाउँछ । तालको सुन्दरता अवलोक गरेर सारा दुःखलाई भुलाउन सकिन्छ भने आफैले तालमा बोटिङ गरेर आनन्द लिन सकिन्छ । तालको चारैतर्फ मिलेर बसेका गाउँ र बस्ती, नजिकै रहेको स्यानीदह, दादुरे ताल, सिमैछरी झरना र स्यार्पुसम्म पुग्दा बाटोमा पर्ने नागबेली आकारको सानीभेरी नदीको दृश्यले स्यार्पु जाँदा सबै पर्यटकहरु प्रकृतिसँग रमाउँछन् ।

कुनै बेला रुकुम ५२ पोखरी ५३ टाकुरीको नामले प्रख्यात थियो । मुलुक संघीय र प्रदेश विभाजनका क्रममा रुकुम जिल्ला विभाजन भएको छ । रुकुमको पूर्वी भेग लुम्बिनी प्रदेश र पश्चिमी भेग कर्णाली प्रदेशमा पर्दछ । जिल्ला विभाजनले रुकुममा रहेका ५२ पोखरी ५३ टाकुरी पनि विभाजन भएका छन् । अहिले स्यार्पु ताल कर्णाली प्रदेशको पश्चिम रुकुमको बाँफीकोट गाउँपालिका वडा नं. ३ र ५ को बीचमा पर्दछ । स्यार्पु ताल प्रकृतिको सुन्दर उपहार हो । चारैतिर हरिया डाँडाकाँडाले घेरेको बीचमा मनमोहक र रमणीय रहेको छ स्यार्पु ताल । जहाँ हजारौं पर्यटकहरु स्वर्गीय आनन्द लिन तालमा पुग्छन् । तालभित्रको स्वच्छ, निलो पानी, वरपरका चिटिक्क मिलेका स–साना बस्तीहरु र तालभित्र सल्बलाउने माछाको दृश्यले स्यार्पु तालमा पर्यटक रमाउँछन्् । तालमा पुगेपछि सबैको क्यामरा क्लिक क्लिक हुन थाल्छ । कोही सेल्फी खिच्नमा ब्यस्त हुन्छन् । कोही टिकटक बनाउन लाग्छन् । ताल वरपरको रमणीय दृश्यले पर्यटकहरु रम्छन् ।

स्यार्पुताल धार्मिक, पर्यटकीय तथा ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण ताल हो । सुन्दर, मनमोहक, अनुप दृश्यावलोकन गर्न चाहने पर्यटकहरुका लागि स्यार्पु ताल पुग्नैपर्ने हुन्छ । स्यार्पु तालमा प्रत्येक वर्ष असोज महिनामा स्यार्पु पर्यटन मेला पनि लाग्ने गर्दछ । तालमा पुग्ने पर्यटकहरुले ¥याप्mटिङ र बोटिङको मज्जा लिन सक्छन् । पर्यटकहरुले बोटिङबाट तालमा वारपार गर्दा माछाले समेत सयर गरेको देख्न सकिन्छ । स्यार्पु तालको मुहान नजिक खारखोला छहरा, सिमईछहरी झरनालगायतका आकर्षक झरनाहरु रहेका छन् । तालको उत्तरतिर रहेका पहाडमा नौवटा धारामा विभाजित भई बग्ने स–साना झरनाहरु रहेका छन् । यी झरनाहरु धार्मिक तथा पर्यटकीय दृष्टिकोणमा समेत महत्वपूर्ण मानिन्छन् । झरनामा परापूर्वकालमा नौ बहिनी भगवतीहरुले स्नान गरेकाले नौ धारा भएको जनविश्वास गरिन्छ । तालको चारैतिर परम्परागतरुपमा निर्माण भएका सुन्दर घरहरु रहेका छन् । तालको वरिपरि पैदल यात्रा गर्न सकिने गोरेटो बाटो निर्माण गरिएको छ । सडक निर्माण भएपछि सदरमुकामबाट करिब ४५ मिनेटमा स्यार्पुताल पुग्न सकिन्छ ।

स्यार्पु तालको नाम पनि रोचक भनाइ रहेको छ । कुनै कालखण्डमा अहिले भएको तालमाथि भिर पहरामा साप आएर धेरै दिनसम्म बसेछ । साँप भीरमा बसेपछि वरपर गाउँहरुमा हल्लाखल्ला भएछ । गाउँलेहरु साँप हेर्न ताल भएको ठाउँमा पुगेछन् । साँप देखाउने क्रममा साँप उ…साँप उ…भन्दा भन्दै बोल्ने क्रममा अपभं्रश भएर स्यार्पु भएको रहेको छ । समुन्द्र सतहदेखि करिब १ हजार ३ सय ७२ मिटरको उचाइमा रहेको स्यार्पु तालको क्षेत्रफल २.६ वर्ग किलोमिटरमा फैलिएको छ । वरिपरिी अग्ला पहाडले घेरिएको र बीचमा त्रिकोण आकारको नीलो पानी देखिने स्यार्पु तालले सबै पर्यटकहरुलाई आकर्षण गराएको छ । तालको बाहिर जाने पानीबाट २५० वाट क्षमताको बिद्युत उत्पादन गरी गाउँमा विद्युत सेवासमेत प्रदान गरिएको छ । ताल अवलोकनका लागि तालको पूर्व उत्तरमा भ्यूटावर निर्माण भएको छ । भ्यूटावरले पर्यटकहरुलाई ताल अवलोकन गर्न र फोटो खिच्न सजिलो भएको छ ।

स्यार्पु ताल पश्चिम रुकुमको सबैभन्दा ठूलो ताल हो । ताल वरिपरिको सौन्दर्यता र स्यार्पुको सुन्दरताले पर्यटकहरुको मन लोभ्याउँछ । स्यार्पु ताल धार्मिक, पर्यटकीय तथा ऐतिहासिक दृष्टिकोणले पनि महत्वपूर्ण छ । ताल क्षेत्रमा बुढालमस्टा, मथिगरे ब्रम्हा, दारे मस्ट, शिवालय, कालिका र वराह मन्दिर रहेको छ । ताल किनारमा दुईवटा स्यार्पु र दह गाउँ रहेका छन् । स्यार्पु तालको प्रकृति सौन्दर्यले सबैको मन लोभ्याउने गर्दछ । स्यार्पु तालको उत्तरमा रहेको सिमैछरी झरना, बौलाह छरी, झार्लेबोटको जंगल, स्यार्पु तालबाट बगेर गएको दही खोला स्यार्पु ताल पुग्ने पर्यटकहरुलाई आकर्षित गर्दछ । यो बाहेक स्यार्पु ताल पुगेको बेला भीमसेनले बाँसले ताछेको बाँसताछे पहरा, भीमसेनले नै छेलो हानेको ढुंगा, सर्पले चाटेको पहरालगायतका रमणीय स्थानको पनि अवलोकन गर्न सकिन्छ । मेला पर्व र महोत्सवको समयमा पुग्ने पर्यटकहरुले सांस्कृतिक कार्यक्रम अवलोकन गर्न पाउँछन । मेलामा स्थानीय कला संस्कृतिको प्रदर्शन गराइएको हुन्छ । पर्यटकहरुले मेलामा लोकदोहोरी, सामूहिक लोक नृत्य, एकल नृत्य जस्ता लोक संस्कृति झल्कने खालका झाँकी, लोकबाजा समेत देख्न सक्छन् । पहिलोपटक रुकुम पुगेको पर्यटकलाई त रुकुमको टप्पा र गर्रा, सिगांरु र वनगारी नाच देख्दा अनौठो लाग्छ ।

मुसीकोट प्रकृतिले दिएको सुन्दरतासँग सजिएको मात्र छैन खलंगा आकर्षक र रमणीय छ । मुसीकोटको सल्ले विमानस्थल र खलंगा बजारले पर्यटकहरुको मनै लोभिन्छ । पछिल्लो समयमा खलंगा बजारको बराह टाकुरा अर्थात टुँडिखेलबाट सल्ले बजार एयरपोर्ट जोड्ने झोलुङ्गे पुलको निर्माण भएपछि मुसीकोट पुग्ने पर्यटकहरुलाई थप आकर्षण गराएको छ । लामो र अग्लो पुलमा हिड्दै सेल्फी लिने, भिडिओ बनाउने र टिककटमा रमाउने पर्यटकहरु पनि धेरै हुन्छन् । सल्ले विमानस्थलको पश्चिमतिर फर्किए सानीभेरी नदी अवलोकन गर्न सकिन्छ । पूर्व फर्किए खलंगा बजार, उत्तर फर्किए जन्तीडाँडाको प्राकृतिक रमणीय दृष्य र दक्षिण फर्किए अग्ला–अग्ला सुन्दर पहाडी श्रृंखलाहरु देखिन्छन् । खलंगा बजार भन्दा पूर्वतर्फ साख दह र त्यहाँको रमणीय बस्तीले पर्यटकहरुको मनै लोभ्याउँछ । मुसीकोट पुगेपछि धेरै पर्यटकहरु डिग्रे शाईकुमारी भगवतीदेवीको मन्दिरमा पुग्दछन । डिग्रे शाईकुमारी मन्दिर मुसीकोट नगरपालिका वडा नं. ५ थर्पुमा पर्दछ । थर्पुडाँडा प्राकृतिक भ्यूटावर पनि हो । यहाँबाट धेरै टाढाका डाँडाकाँडा र गाउँबस्तीहरु अवलोकन गर्न सकिन्छ । मन्दिर परिसरमा शिद्ध बाबा मन्दिर, सत्यनारायण मन्दिर, गणेश मन्दिर, शिव मन्दिर र खप्तड स्वामी सरस्वतीको मन्दिर रहेका छन् ।

पश्चिम रुकुमका ग्रामीण क्षेत्र पर्यटनका धेरै सम्भावना भएको भूगोल हो । पश्चिम रुकुमको हावापानी, ग्रामीण जनजीवन र रहनसहन, भौगोलिक अवस्था, स्थानीय अर्गानिक खाना, सांस्कृतिक सम्पदा र संस्कारले गाउँघरमा पुग्ने पर्यटकहरु लोभिन्छन । ग्रामीण पर्यटनका लागि पूर्वाधार पहिलो आवश्यकता हो । पर्यटकलाई सुरक्षित तवरले गन्तब्यमा पुग्न यातायातको सुविधाका लागि सडक मार्ग, घोरेटो बाटो जस्ता पूर्वाधार हुनुपर्दछ । तर पश्चिम रुकुमका ग्रामीण क्षेत्रमा धेरै सडकहरु कच्ची छन् । जबरजस्ती कच्ची सडक बनाउँदा गाउँको रमणीयताको विनाश भएको छ । ग्रामीण पर्यटन प्रबद्र्धन गर्न ब्यवस्थित सडक बनाउने र घोरेटो बाटोको संरक्षण गर्नेतर्फ अब स्थानीय सरकारले ध्यान दिनु पर्दछ । ग्रामीण पर्यटनको विकासको लागि अब बन्ने सडक र भएका सडकलाई दीर्घकालीन योजनासहित प्राविधिक दृष्टिले उपयुक्त एवं वातावरणीय अनुकूल बनाइ गाउँको रमणीयताको संरक्षण गर्नुपर्दछ ।

गाउँमा पुग्ने पर्यटकहरुले फर्कदा कोसेलीस्वरुप कुनै पनि बस्तु किन्न खोज्छन । स्थानीय उत्पादनलाई पर्यटकहरुलाई कोशेलीको रुपमा लैजाने प्रबन्ध मिलाउन गाउँमा कोशेली घरको ब्यवस्था गर्न सके राम्रो हुन्छ । यो पर्यटन प्रबद्र्धनको महत्वपूर्ण पक्ष हो । ग्रामीण पर्यटन प्रबद्र्धनको अर्को महत्वपूर्ण पक्ष भनेको गाउँको भौगोलिक रमणीयता, पर्यटकीय धरोहरहरु पुरातात्विक वस्तु, मठ मन्दिर, ताल, झरना, बन्यजन्तु, अग्लो स्थानबाट देखिने दृश्य जे गाउँको सम्भावना छ त्यसको अवलोकन गराउनु र पर्यटकलाई आनन्द दिलाउनु पनि हो । अवलोकनका लागि स्थानीयस्तरमा पथप्रदशकको ब्यवस्था गरी स्थानीय धरोहरको विस्तृत जानकारी गराई पर्यटकीय लाभ दिलाउने वातावरण बनाउनुपर्दछ । गाउँको सांस्कृतिक बिधालाई प्रदर्शनी गरी पर्यटकलाई आनन्द दिलाउन सके ग्रामीण पर्यटनको महत्व बढ्छ । गाउँले जीवनको रहनसहन, संस्कार र रीतिरिवाजलाई पर्यटकमाझ प्रदर्शन गरी पर्यटकको मन जित्न सक्नुपर्दछ । पुर्खाले प्रयोग गरेका सामानहरु तथा प्राचीन प्रविधि पनि पर्यटकका मन जित्ने वस्तु हुन् । यी वस्तुको प्रदर्शनीबाट पनि पर्यटकलाई आनन्द दिन सकिन्छ ।

पर्यटनको विकास जति भन्नमा सजिलो हुन्छ गर्न भने धेरै कुरा जुट्नुपर्दछ । गाउँमा पुग्ने पर्यटकको सुरक्षा, सूचना र सञ्चारको पहुँच र आधारभूत स्वास्थ्य सेवा ग्रामीण क्षेत्रमा हुनुपर्दछ । पर्यटकको घुमफिरमा सहज वातावरण बनाउने र कुनै अवरोध हुन नहुने अवस्था सिर्जना हुनु पर्दछ । पर्यटक सुरक्षामा कुनै सौदाबाजी गरिनुहँुदैन । पर्यटकको लागि फोन तथा इन्टरनेटको सुविधाको पहुँचले घुमफिर र बसाइमा थप मनोरञ्जन दिलाउँछ । पर्यटकको आधारभूत स्वास्थ्य सुविधाले पर्यटकको आत्मविश्वास बढाइ पर्यटन प्रबद्र्धनमा टेवा पु¥याउँछ । पर्यटनको प्रबद्र्धन गर्न अब शहरी पर्यटन र गाउँको सम्बन्ध जोड्नुपर्दछ । शहरको भ्रमणमा आएका पर्यटकलाई पायक पर्ने सुरक्षित ग्रामीण क्षेत्रको भ्रमण गराउने र एक रात गाउँमै बस्ने ब्यवस्था मिलाउनाले गाउँमा पर्यटनको विकास हुन्छ । ग्रामीण पर्यटन प्रबद्र्धन गर्न शहरी क्षेत्रमा जोडिएका गाउँसँग पर्यटकीय योजनासहित अघि बढनुपर्दछ । ग्रामीण पर्यटनका लागि स्थानीय उद्यमीलाई आवश्यक तालिम दिने, स्थानीय उत्पादनलाई संरक्षण गर्ने जस्ता विषयमा सरकारले विशेष ध्यान दिनु आवश्यक छ ।

ग्रामीण पर्यटनका माथि उल्लेखित गतिविधिले पर्यटन क्षेत्रबाट मनग्गे आम्दानीको अवसर प्रदान गर्दछ । गाउँमा खेतीपाती पनि गर्नुपर्ने र फुर्सदमा थप आम्दानीका लागि ग्रामीण पर्यटनको अवसरबाट लाभान्वित हुन सकिन्छ । गाउँको पर्यटन प्रबद्र्धन गर्न सामूहिक प्रयत्न समेत गर्नुपर्ने हुँदा स्थानीय सरकारले यस विषयमा नेतृत्वदायी भूमिका निर्वाह गरी स्थानीय जनतालाई लाभान्वित गर्न जागरण ल्याउनुपर्दछ । संघीय संरचनाको शासकीय ब्यवस्थामा प्रदेशले आफ्नो प्रदेशभित्र ग्रामीण पर्यटन प्रबद्र्धन गर्ने गरी पालिका समेतको साझेदारीमा प्रदेश पर्यटन नीति र पर्यटनसम्बन्धी ऐन नियम बनाई लागु गर्ने र पालिकाले आफ्नो मौलिक पहिचानलाई प्रदर्शन गर्ने गरी पर्यटन गुरुयोजना बनाइ लागु गरी त्यसको लाभ स्थानीय जनताले पाउने सुनिश्चितता गर्नुपर्दछ । प्राकृतिक रमणीयता, विविध सांस्कृतिक सम्पदा र आकर्षक पर्यटकीय गन्तब्य नै हाम्रो पर्यटकीय सम्पदा हुन् । प्रकृतिले दिएको सुन्दरतालाई ब्यवसायिकतामा बदली आर्थिक प्रतिफल प्राप्त गर्न पर्यटन क्षेत्रमा ठूलो अवसर रहेको छ । प्रकृतिको सुन्दरताको प्रसारप्रचार गरी पर्यटकहरुलाई आकर्षित गर्नपर्दछ ।

कसरी पुग्ने स्यार्पु ?

दाङको तुलसीपुरबाट सल्यान श्रीनगर हुँदै करिब ८ घण्टा बस यात्रा पश्चात पश्चिम रुकुमको सदरमुकाम मुसीकोट खलंगा पुग्न सकिन्छ । मुसीकोटबाट रातामाटा, गाराघाट, छिन्खेत हुँदै स्यार्पु पुग्ने एउटा बाटो छ भने मुसीकोटबाट सल्ले, कैलदेउ, गिल्बाङ हुँदै पुग्ने अर्काे बाटो छ । सडक पुगेको भए पनि हिडेर जान झनै राम्रो मानिन्छ । काठमाडौंबाट डेढ घण्टाको हवाई यात्रापछि रुकुमको मुसीकोट विमानस्थल पुगिन्छ । मुसीकोटबाट स्यार्पु ताल पुग्नका लागि करिव ३० किमी यात्रा जीपमा गर्नुपर्छ । सुर्खेतदेखि छिन्चु हुँदै चौरजहारी भएर पनि स्यार्पु पुग्न सकिन्छ । मुसीकोटबाट स्यार्पु ताल पुग्न कच्ची सडक मार्ग भन्दा पैदल यात्रा रमणीय हुन्छ । मुसीकोटबाट स्यार्पु ताल पुग्न साढे ४ घण्टाको पैदलयात्रा गर्नुपर्छ । यात्रामा सानोभेरीको किनारमा रहेका राउखेत, छिनखेत जस्ता खेतबारीमा लगाइएका बालीनाली बीच बाटो हुँदै उकालो लाग्दा बाटो काटेको थाहा नै हुदैन । बाटोमा देखिने दहीखोलाले झनै नयाँ मानिसलाई थप उत्सुकता पैदा गरिदिन्छ । स्यार्पु तालको पानी दहीजस्तै सेतो देखिने भएकाले दहीखोला भन्ने गरिन्छ ।

Nabintech