२१ बैशाख २०८१, शुक्रबार
नेपालगञ्ज नाका भएर जोखिमपूर्ण यात्रा गर्नेको संख्या बढ्यो

  • टाइम्स संवाददाता

  • १६ पुष २०७९, शनिबार १५:१२

नेपालगञ्ज : बाँकेको नेपालगञ्ज नाका भएर जोखिमपूर्ण यात्रा गर्नेहरुको संख्या बढेको छ । माइती नेपाल नेपालगञ्जले सार्वजनिक गरेको तथ्यांकले जोखिमपूर्ण यात्रा गर्नेहरुको संख्या बढेको देखाएको हो ।

नेपालगञ्जमा शनिवार आयोजित पत्रकारसँग अन्तरक्रिया कार्यक्रममा माइती नेपाल नेपालगन्जमा संयोजक केशव कोइरालाले वितेको एक वर्षमा नेपालगञ्ज नाका भएर जोखिमपूर्ण यात्रा गरेका ५२९ जनालाई सीमा नाकाबाट उद्धार गरिएको बताए । कोइरालाले सामाजिक संजालको सुझबुझपूर्ण प्रयोग नहुँदा पछिल्लो समय जोखिम बढेको बताए ।

जोखिमपूर्ण यात्रा गर्ने सबैभन्दा बढी सुर्खेतका ८६ जना छन् । बाँकेका ८२ जना छन् । बाँकेमा सबैभन्दा धेरै कोहलपुरका २१ जना र बैजनाथका २० जना रहेको माइती नेपाल नेपालगञ्जले जनाएको छ । जबकि सन् २०२१ मा ४३४ जनाको उद्धार गरिएको थियो । त्यसअघि यो संख्या २६७ थियो ।

पारिवारिक पुनः मिलन गराइएको संख्या भने यस वर्ष बढेको छ । कोइरालाका अनुसार सन् २०२२ मा ५३४ जनालाई पारिवारिक पुनः मिलन गराइएको छ । सन् २०२१ मा ४३२ जनालाई पारिवारिक पुनः मिलन गराइएको थियो । पछिल्लो एक वर्षमा सीमा नाकाबाट परामर्श दिई घर फर्काइएको संख्या ५२७ रहेको माइती नेपालले जनाएको छ ।

यस्तै खोजतलासका लागि निवेदन दिनेको संख्या ६९३ रहेकोमा २४९ जना फेला परेका छन् । यो अवधिमा वेचविखनका ५ वटा मुद्दा दर्ता भएका छन् ।

Nabintech