१२ बैशाख २०८१, बुधबार
संविधान स्पष्ट छ, चुनाव धकेल्न खोज्नु असंवैधानिक काम हो – कानुनविद् टीकाराम भट्टराई

  • टाइम्स संवाददाता

  • १५ माघ २०७८, शनिबार १९:१३

काठमाडौं, माघ १५ : कानुनविद्हरुले वैशाखभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गरिसक्नु पर्ने कानुनी व्यवस्था रहेको बताउनुभयो । कानुनविद् टिकाराम भट्टराई र सुनिल पोखरेलले स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल पाँच वर्ष हुने कुरा संविधानमै व्यवस्था गरेकाले स्थानीय तहको निर्वाचन पर धकेल्ने काम गर्न नहुने तर्क गर्नुभएको हो ।

प्रेस चौंतारी नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेपाल बार एशोसिएशनका पूर्वउपाध्यक्ष समेत रहनुभएका भट्टराईले पहिलो चरणमा सम्पन्न भएको निर्वाचनलाई आधार मानेर स्थानीय तहको निर्वाचन हुने अन्तर्राष्ट्रिय मान्यता रहेको पनि स्मरण गराउनुभयो। उहाँले स्थानीय तह पदाधिकारीविहीन हुने परिकल्पना संविधानले नगरेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो , ‘संविधानको धारा २२५ मा पहिलो नगरसभा र गाउँसभाको कार्यकाल पाँच वर्षको हुनेछ भन्यो। त्यसको सुरुवात पहिलो चरणको निर्वाचनबाटै गणना हुने अन्तर्राष्ट्रिय मान्यता पनि छ। इन्डियामा पनि लोकसभाको निर्वाचन नौं चरणमा भएको थियो।

तर, त्यसको कार्यकाल पहिलो चरणको निर्वाचनलाई आधार मानेर बनाइएको थियो।’ नेपाल बार एसोसिएशनका पूर्वमहासचिव पोखरेलले जेठ ५ गते भित्रै स्थानीय तहको निर्वाचन सम्पन्न हुनुपर्ने संविधानमा किटानी व्यवस्था भएको बताउनुभयो । उहाँले स्थानीय तहको निर्वाचन समयमै नभए स्थानीय तह जनप्रतिनिविहीन हुने अवस्था आउनेतर्फ पनि सचेत गराउनुभयो ।

पोखरेलले भन्नुभयो, ‘संविधानको धारा २१५ र २१६ मा स्थानीय तहको कार्यकाल पाँच वर्षको हुने व्यवस्था गरिएको छ। त्यो भनेको पाँच वर्ष एक दिन हुँदैन। त्यसैले संविधानले किटान गरेको पाँच वर्ष भित्र स्थानीय तहको निर्वाचन हुनुपर्छ। यति जेठ ५ गतेभित्र स्थानीय तहको निर्वाचन नभए स्थानीय तह जनप्रतिनिधिविहीन हुन्छ।’ महासचिव पोखरेलले दलहरुले संविधान र कानुन विपरित भएर स्थानीय तहको निर्वाचन सार्न नमिल्ने बताउनुभयो ।(जनता टाईम्सबाट)

Nabintech