१६ चैत्र २०८०, शुक्रबार
मौरिससविरुद्धको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा नेपाल विजयी

  • टाइम्स संवाददाता

  • १५ माघ २०७८, शनिबार १९:२१

 

फरवार्ड बिमल घर्तीमगरको एकमात्र निर्णायक गोलमा नेपालले मौरिससविरुद्धको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा मौरिससलाई पराजित गरेको छ । नेपालले घरेलु मैदानमा मौरिससलाई १–० ले पराजित गरेको हो ।

नेपालको जितमा बिमलले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । प्रतिबन्ध र चोटबाट फर्किएर राष्ट्रिय टोलीमा पूनरागमन गरेको पहिलो खेलमै बिमलले गोल गर्न सफल भएका हुन् ।

त्यसअघि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको प्रतिस्पर्धात्मक खेलको दोस्रो मिनेटमा सुनिल बलको आर्कभित्रको फ्रिकिक डिफ्लेक्ट हुँदै बाहिरिदा नेपाल अग्रता लिनबाट चुक्यो । त्यसपछि अन्जन विष्टको प्रहारलाई मौरिससका गोलरक्षक तथा कप्तान केभिन जित लुइसले सहजै बचाए । सुमन लामाको प्रहार आकासियो ।

१६औं मिनेटमा एड्रिएन फ्रान्कोइसको प्रहारलाई नेपालका डिफेन्डर देवेन्द्र तामाङको ब्लक गरे । ३१औं मिनेटमा सुमन लामाको ३० यार्ड टाढाको सशक्त प्रहार पोस्टनजिकैबाट बाहिरिदा नेपाल अग्रता लिनबाट चुक्यो । ३६औं मिनेटमा एड्रिएन फ्रान्कोइसको वान भर्सेस वानको प्रहारलाई गोलरक्षक तथा कप्तान किरण चेम्जोङले नियन्त्रणमा लिदै नेपालको खतरा टारे ।

४५औं मिनेटमा अन्जन विष्टले सुवर्ण अवसर चुकाउँदा नेपाल पनि अग्रताबाट चुक्यो । डिफेन्डरको गल्तीमा अन्जनले अवसर पाएपनि उनको प्रहार दोस्रो बार च्याप्दै थोरै बाहिरियो । ४६औं मिनेटमा फर्नान्डो ज्याक्सनको प्रहार पोलमा लागेर फर्कदा नेपालको खतरा टरेको थियो । ५५औं मिनेटमा बिमलले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाए ।

मौरिससका डिफेन्डरबीच तालमेल मिल्न नसक्दा अन्जन विष्टले बल खोस्दै दिएको पासमा अफसाइड बिट ट्याप गर्दै बिमलले गरेको प्रहार पोलमा लाग्दै गोलमा परिणत भएको थियो । उनले सन् २०१८ मा भएको साफ च्याम्पियनसिपपछि पहिलो गोल गरेका हुन् । यससँगै बिमलको गोलसंख्या ९ पुगेको छ ।

७६औं मिनेटमा जगजित श्रेष्ठको फ्रिकिकमा अन्जन विष्टको हेडर क्रसबारमा लागेर फर्कदा नेपाल अग्रता दोब्बर पार्नबाट चुक्यो । लगत्तै अन्जन विष्टको प्रहार पोलमा लागेर फर्कदा जगजित श्रेष्ठको प्रहार आकासियो । दोस्रो मैत्रीपुर्ण खेल मंगलबार हुनेछ । नेपालले पहिलो पटक अफ्रिकी टोलीसँग अन्तर्राष्ट्रिय खेल खेलेको हो ।

Nabintech