१३ बैशाख २०८१, बिहीबार
कर्मचारीमा कोरोना सङ्क्रमण पछि  दैलेखको नियमित सेवा प्रवाह रोकियो

  • टाइम्स संवाददाता

  • १६ माघ २०७८, आईतवार १९:४२

दैलेख। कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय दैलेखको नियमित सेवा प्रवाह रोकिएको छ । जिल्ला प्रशासनमा कार्यरत चार जना कर्मचारीमा कोरोना सङ्क्रमण भएपछि कार्यालयबाट प्रवाह हुने सबै प्रकारका सेवा बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले चार जना कर्मचारीमा कोरोना पुष्टि भएको र अन्यमा समेत लक्षण देखिएपछि नियमित सेवा अवरुद्ध भएको बताउनुभयो । अन्य कर्मचारी पनि परीक्षणको क्रममा रहेकाले सेवाग्राहीहरूको स्वास्थ्य सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै माघ १७ गते सोमवारदेखि २१ गतेसम्मका लागि सेवा प्रवाह बन्द गरिएको बताउनुभयो । मुद्दा, विपद् व्यवस्थापन र शान्ति सुरक्षाका सेवा भने नियमित रूपमा सञ्चालन हुने प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बताउनुभयो ।

यस्तै, राष्ट्रिय वाणिज्य बैङ्क दैलेखमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि सेवा बन्द गरिएको छ । बैङ्कमा कार्यरत अधिकांश कर्मचारीलाई कोरोना पुष्टि भएपछि सेवा बन्द गरिएको बैङ्कले जनाएको छ ।

लामो समय कोरोना सङ्क्रमितको संख्या शून्य रहेको दैलेखमा पछिल्लो समय सङ्क्रमणको दर बढ्न थालेको छ । शनिवारसम्म जिल्लामा ८६ जनामा सङ्क्रमण पुष्टि भइसकेको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थिरप्रसाद रेग्मीले जानकारी दिनुभयो । उहाँकाअनुसार सबै सङ्क्रमितहरू होम आइसोलेसनमा छन् ।

Nabintech