४ जेष्ठ २०८१, शुक्रबार
तुलसीपुर–घोराही चार लेन सडक आयोजना : रद्द गर्न उपप्रधानमन्त्रीलाई बुझाइयो ज्ञापनपत्र

७ वटा पेटी ठेकेदार परिवर्तन भइसकेको छन् भने ३ पटक म्याद थप भइसकेको छ तर सडक अझै लथालिङ्ग


  • टाइम्स संवाददाता

  • २१ पुष २०७९, बिहीबार १६:२०

दाङ : तुलसीपुर–घोराही चार लेन सडक निर्माण आयोजना रद्द गर्न माग गर्दै उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाइएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट दाङमा प्रतिनिधिसभा सदस्यको मंसिर ४ को चुनावमा उम्मेदवारी दिएका दुईजनाले तुलसीपुर–घोराही सडक आयोजना रद्द गर्न माग गरेका हुन्।

उनीहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसमेत रहेका उपप्रधानमन्त्री श्रेष्ठलाई बुधबार भेटेर तुलसीपुर–घोराही सडकखण्डको अलपत्र परेको चार लेन आयोजना रद्द गर्न माग गरेका हुन्।

दाङको निर्वाचन क्षेत्र ३ का उम्मेदवार कमल सुवेदी र निर्वाचन क्षेत्र २ का उम्मेदवार विशाल अधिकारीले मन्त्री श्रेष्ठलाई भेटेर निर्माण पूरा भइसक्नुपर्ने समय सकिए पनि अहिलेसम्म १० प्रतिशत मात्र भौतिक प्रगति भएको हुँदा सम्झौता रद्द गर्न माग गरेका हुन्।

उक्त सडकखण्ड २०७५ माग १४ गते ठेक्का सम्झौता भएको थियो। सम्झौताअनुसार २०७७ वैशाख २९ गते निर्माण भइसक्नुपर्ने थियो। सडक विस्तार भारतको तथ्य इञ्जिनियरिङ एण्ड इन्फा प्रोजेक्ट प्रालिले लिएको थियो। यसबीचमा ७ वटा पेटी ठेकेदार परिवर्तन भइसकेको छन् भने ३ पटक म्याद थप भइसकेको छ। तर सडक अझै लथालिङ्ग छ।

आयोजनाको हालसम्मको भौतिक प्रगति ९ दशमलव ८२ प्रतिशत र आर्थिक प्रगति ४ दशमलव ४२ प्रतिशत मात्रै भएको सरोकारवालाले बताएका छन्। सडक आयोजनाका लागि भारतीय एक्जिम बैंकको १ दशमलव ५ अर्ब सहुलियत ऋण लिएकोमा समयमै काम नसकिँदा राज्यलाई करिब ८ करोड रूपैयाँ व्ययभार थपिएको उनीहरूको ज्ञापनपत्रमा उल्लेख छ।

सडक निर्माणमा भएको लापरबाहीले भएका दुर्घटनाबाट हालसम्म २२ जनाभन्दा बढीको मृत्यु भएको उल्लेख छ। सडकको दुरावस्थाका कारणले नागरिकले सास्ती बेहोर्नु परेको, व्यापार व्यवसाय, पर्यटन‚ कृषि र जनस्वास्थ्यमा गम्भीर असर परेको ज्ञापनपत्रमा समेटिएको छ।

हालसम्मको अवस्था अध्ययन गर्दा समयमा आयोजना पूरा हुने आधारहरू नदेखिएको दाबी गर्दै आयोजना रद्द गरि समयमै नयाँ ठेक्का प्रक्रिया शुरु गर्न माग गरिएको छ। आयोजनाको लागत रकम नियमित वार्षिक बजेटबाट सुनिश्चित गर्न अनुरोध पनि गरिएको छ।

मंसिर ११ गते निर्वाचित जनप्रतिनिधि, सडक सुधार तथा विकास आयोजना काठमाडौँका निर्देशक, ठेकदार, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायतको सहभागितामा बैठक बसेको थियो। बैठकले अबको १५ दिनभित्र १ प्रतिशत भौतिक प्रगति हुने गरी निर्माण अगाडि बढाउने निर्णय गरेको थियो। बैठकले मंसिर ११ गतेदेखि पुस ११ गतेसम्म १६ प्रतिशत भौतिक प्रगति हुनुपर्ने नभए ठेक्का सम्झौता रद्द गर्ने लिखित सहमति भएको थियो।

तुलसीपुरदेखि घोराही र घोराहीदेखि बबई नदीसम्म २८ दशमलव १९ किलोमिटर चार लेन र दुई लेन सडक निर्माणाधीन अवस्थामा छ। सो सडक निर्माणका लागि २०७६ माघ १४ गते सम्झौता गरी २०७८ जेठ ८ गतेसम्म निर्माण गरिसक्नु पर्ने सम्झौता निर्माण कम्पनीसँग भएको थियो।

सम्झौता भएको केही महिनापछि मात्र काम शुरु भएको थियो तर पनि ठेकेदारले निर्माणको गति सुस्त बनाएको थियो। आयोजनामा तुलसीपुरदेखि घोराही र घोराहीदेखि लमही सडकखण्डअन्तर्गत बबईसम्म गरी २ खण्डमा सडक बनाउनुपर्ने ठेक्का सम्झौता छ।

 

Nabintech