४ जेष्ठ २०८१, शुक्रबार
जमुनाहा नाकामा एक जनामा कोभिड संक्रमण पुष्टि, नेपालगञ्जमा दादुरा खोप लगाउन शुरु

दादुरा देखिएका वडाहरु ५, ७, ८, ९, १०, ११, १४, १५, २२ मा तत्काल खोप अभियान चलाइँदै


  • टाइम्स संवाददाता

  • २२ पुष २०७९, शुक्रबार १३:४७

नेपालगञ्ज : नेपालगञ्जस्थित जमुनाहा नाकामा शुक्रवार फेरि एक जनामा कोभिड संक्रमण पुष्टि भएको छ । जमुनाहा नाकामा आज कोभिड जाँच गर्दा बर्दियाका २७ वर्षीय पुरुषमा कोभिड पुष्टि भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

गत असोज १ गतेपछि बाँकेमा पहिलोपटक गत पुस १४ गते जाजरकोेटीकी एक महिलामा कोभिड पुष्टि भएको थियो । बाँकेमा साढे तीन महिनापछि फेरि कोभिड भेटिएको हो ।

यसैबिच बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा दादुराको महामारी फैलिएपछि शुक्रवारदेखि खोप अभियान थालिएको छ । केही दिन यता समुदायस्तरमै दादुरा प्रभावित बालबालिकाको संख्या उल्लेख्य देखिएपछि आजदेखि खोप लगाउन शुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए ।

वडा नम्बर ५, ७ र ८ मा खोप लगाउन शुरु गरिएको चन्दले जानकारी दिए । यी वडाहरुमा दादुरा प्रभावित बालबालिका बढी भेटिएका छन् । वडा नम्बर ५, ७ र ८ स्थित सहरी स्वास्थ्य क्लिनिक र वडा नम्बर ८ स्थित आइडियल स्कुलमा खोप केन्द्र सञ्चालन गरिएको छ । यी वडाका करिब ४५ सय बालबालिकालाई खोप लगाउने लक्ष्य छ ।

दादुरा देखिएका वडाहरु ५, ७, ८, ९, १०, ११, १४, १५, २२ मा तत्काल खोप अभियान चलाइँदैछ । अभियान सबै वडामा पु¥याउने तयारी रहेको चन्दले जानकारी दिए । नेपालगञ्जमा ५ वर्षमाथिका बालबालिकामा प्रकोप देखिएकाले ९ महिनादेखि १५ वर्ष उमेरका बालबालिकामा खोप लगाइँदैछ ।

नेपालगञ्ज उपमहानगरपालिकाले दादुरा देखिएका बालबालिकालाई घरमै छुट्टै राखेर उपचार गर्ने र गम्भीर बिरामी भएकालाई अस्पताल लैजाने व्यवस्था मिलाएको चन्दले बताए । दादुराले नेपालगञ्जमा एक बालकको मृत्यु भइसकेको छ भने २९ जना बढी बिरामी फेला परेका छन् ।

Nabintech