४ जेष्ठ २०८१, शुक्रबार
राप्तीसोनारीमा हुने सातौँ राष्ट्रिय थारु साहित्य सम्मेलनको तयारी तीव्र

उत्कृष्ट स्रष्टालाई रु. २५ हजारको पुरस्कार दिने घोषणा


  • टाइम्स संवाददाता

  • २४ पुष २०७९, आईतवार ०८:४४

राप्तीसोनारी, बाँके: राप्तीसोनारी गाउँपालिका ६ फत्तेपुरमा गर्न लागिएको सातौँ राष्ट्रिय थारु साहित्य सम्मेलनको तयारी तीव्र पारिएको छ । तयारीको बारेमा जानकारी दिन शनिवार भर्चुअल बैठक गरिएको साहित्यकार सोमप्रसाद चौधरीले बताए ।

थारु गोचाली समाज फत्तेपुरको सहकार्यमा थारु लेखक संघ नेपालले २०, २१ र २२ माघमा राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको हो । राष्ट्रिय सम्मेलनको लागि सह–आयोजक थारु गोचाली समाजले तयारी तीव्र पारेको अध्यक्ष देखलाल थारुले बताए । उनले सम्मेलन नजिकिएसँगै बैठक, छलफल र आवश्यक संरचना निर्माणमा जोड दिएको बताए ।

सम्मेलन सफल बनाउन तयारी समिति गठन गरी जिम्मेवारी बाँडफाड गरिएको उनले बताए । थारु लेखक संघका सदस्य शेखर दहितको संयोजकत्वमा प्रस्तावना लेखन तयारी समिति, गोविन्द दहित चौधरीको संयोजकत्वमा ब्यवस्थापन समिति, सोमनाथ थारुको संयोजकत्वमा स्वागत सत्कार समिति, कालुराम थारुको संयोजकत्वमा समन्वय तथा सहकार्य समिति, सुन्दरलाल थारुको संयोजकत्वमा आर्थिक संकलन समिति र सुनिता थारुको संयोजकत्वमा सांस्कृतिक समिति गठन गरिएको थारु गोचाली समाजका महासचिव कालुराम थारुले बताए ।

सम्मेलनमा झापा–कञ्चनपुरका थारु साहित्यकारले सहभागिता जनाउने दावी गरिएको छ । सम्मेलनमा विभिन्न विधाका साहित्य वाचन हुने रहने थारु लेखक संघ नेपालका केन्द्रीय सदस्य तथा जंग्रार साहित्यक बखेरीका अध्यक्ष सोमप्रसाद चौधरीले जानकारी दिए । ‘जिल्ला तथा स्थानीय स्तरको एजेण्डालाई विशेष प्राथमिकता दिएर ब्यापक बहस, प्यानल छलफल पनि हुने छ,’ उनले भने ।

सातौँ राष्ट्रिय थारु साहित्य सम्मेलनमा समग्र बाँके जिल्ला र राप्ती सोनारीको मुख्य समस्या तथा समाधानको उपाय, शिक्षाको अवस्था, बरघरहरुको एजेण्डा, नयाँ जनप्रतिनिधिहरुको कामको प्राथमिकता लगायत विषय पनि उठान गरिने उनको भनाई छ ।

थारु लेखक संघ नेपालले प्रत्येक वर्ष फरक–फरक जिल्लामा राष्ट्रिय सम्मेलन गर्दै आएको छ । ०७३ सालमा दाङको घोराहीमा पहिलो राष्ट्रिय थारु साहित्य सम्मेलन गरिएको थियो । दोस्रो सम्मेलन कैलालीको पटेला, तेस्रो सम्मेलन बर्दियाको बाँसगढी, चौथो सम्मेलन रुपन्देहीको सैनामैना, पाँचौँ सम्मेलन सुर्खेतको वीरेन्द्रनगरमा र छैठौँ सम्मेलन कञ्चनपुरको सिंहपुरमा भएको थियो ।

उत्कृष्ट स्रष्टालाई रु. २५ हजारको पुरस्कार दिने घोषणा

थारू लेखक संघ नेपाल धनगढी कैलालीले ‘थारू साहित्य पुरस्कार २०७९’ बाट थारु भाषा, साहित्य, संस्कृति र गीत संगीतको क्षेत्रमा विशेष योगदान पु¥याउने एकजना स्रष्टालाई सम्मान गर्ने भएको छ ।

कार्यसमितिको बैठकले बाँकेमा हुने राष्ट्रिय थारू साहित्य सम्मेलनमा स्रष्टालाई सम्मान गर्ने जनाएको छ । २०–२२ माघसम्म राप्तीसोनारीकोको फत्तेपुरमा हुने सातौँ राष्ट्रिय थारु साहित्य सम्मेलनमा उक्त पुरस्कार प्रदान गरिने संघका सचिव अनिल कुश्मीले जानकारी दिए ।

उनले थारु, साहित्य, संस्कृति तथा गीत संगीत क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने स्रष्टालाई सम्मान गर्ने बताए । संघद्वारा स्थापना गरिएको अक्षय कोषको ब्याज रकमबाट नगद रु. २५ हजार नगद पुरस्कार सहित प्रमाणपत्रले सम्मान गरिने उनले बताए ।
यसका लागि संघले पुरस्कारका लागि इच्छुक कृतिकारलाई आगामी ५ माघभित्र आफूले लेखन तथा संकलन गरेका सम्पूर्ण कृतिसहित मनोनय दर्ताका लागि अनुरोध गरेको छ । ‘मौलिक तथा सांस्कृतिक गीत संगीतमा अब्बल, क्षमतावान, योग्य स्रष्टालाई प्राथमिकता दिइने, स्रष्टा थारु समुदायमा कहलिएका लोकप्रिय एवं स्वच्छ छवि भएका, देस तथा विदेसमा रहेका थारु भाषाका मौलिक तथा सांस्कृतिक गीत संगीतका स्रष्टालाई मात्र समावेश गरिने छ,’ संघले जारी गरेको सूचनामा उल्लेख छ ।

थारू भाषा, साहित्य, कला र संस्कृतिमा कलम चलाई थारू वाङ्गमयमा महत्वपूर्ण योगदान पु¥याउने लेखक, स्रष्टा, साहित्यकार, कलाकार एवं अनुसन्धानकर्तालाई सम्मान तथा पुरस्कार प्रदान गर्ने उद्देश्यले संघले दुई लाख २५ हजारको अक्षय कोष स्थापना गरेको छ । उक्त अक्षय कोषको वार्षिक ब्याजको २५ प्रतिशत रकमबाट प्रत्येक वर्ष एकजना स्रष्टालाई सम्मान गर्ने संघका अध्यक्ष जीतबहादर चौधरीले बताए ।

Nabintech