४ जेष्ठ २०८१, शुक्रबार
लुम्बिनी प्रदेशका विपद् जोखिम क्षेत्रमा हेलिप्याड बनाइने

लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०७९/८० को पुससम्मको ६ महिनामा विभिन्न विपत्का घटनामा ४६१ जनाको मृत्यु


  • टाइम्स संवाददाता

  • २४ पुष २०७९, आईतवार १८:२९

नेपालगञ्ज : लुम्बिनी प्रदेश सरकारले विपदका घटनामा खोज तथा उद्धार कार्यलाई सहज बनाउन जोखिम क्षेत्रमा हेलिप्याड बनाउने योजना अघि सारेको छ । लुम्बिनी प्रदेश आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयले प्रदेशभरका विपदका घटनाबारे विश्लेषण गर्दै जोखिम क्षेत्रमा हेलिप्याड निर्माण गर्ने योजना बनाएको हो ।

मन्त्रालयका अनुसार विपत् व्यवस्थापनका लागि योसहित मुख्यमन्त्री उद्धार राहत कोष स्थापना र सञ्चालन गर्ने तयारी भइरहेको छ ।त्यस्तै आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना र प्रदेशभित्र एकीकृत जोखिम व्यवस्थापन केन्द्र स्थापना गरी पूर्वसचेतना प्रणाली जडान गर्ने योजना बनाइएको छ ।

लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०७९/८० को पुससम्मको ६ महिनामा विभिन्न विपत्का घटनामा ४६१ जनाको मृत्यु हुनुका साथै १५० जना घाइते भएका छन् । विपतबाट १९६ वटा चौपायामा क्षति भएको छ । प्रदेशका १२ जिल्लामा ६ महिनाको अवधिमा अविरल वर्षाका कारण २२ जनाले ज्यान गुमाएका छन् । वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या सबैभन्दा बढी दाङमा छ । दाङमा नौ जनाको मृत्यु भएको बताइएको छ ।

त्यस्तै प्युठानमा सात, बाँकेमा दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । गुल्मी, अर्घाखाँची, कपिलवस्तु र पाल्पामा एकरएक जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण १९ हजार १६७ वटा घरगोठ डुबानमा परेका छन् । बाढी र डुबानका कारण सबैभन्दा धेरै बर्दियामा १ हजार ६ सय जना विस्थापित भएका छन् । दाङ, बाँके र कपिलवस्तुमा डुबानका कारण सयौँ परिवार प्रभावित भएका हुन् ।

मन्त्रालयका सचिव कोमलप्रसाद धमलाका अनुसार बाढी र डुबानबाट विस्थापित भएकालाई मन्त्रालयले तीन सय थान त्रिपाल, ९० थान टेन्ट, म्याट २० थान, थ्रो ब्याग रस्सी पाँच मिटर, ब्ल्याङ्केट ३४ थान र डोरी वितरण गरेको थियो । मन्त्रालयले प्राकृतिक प्रकोपका घटना न्यूनीकरण गर्न ४६ जनाको विपत् फोकल पर्सनमार्फत उद्धार, राहत तथा खोजतलास गरेको जनाएको छ ।

Nabintech