चितवन: चितवन जिल्लामा चरा पाईने चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चरा गणना गरेर सकिएको छ । गत आइतबारदेखि सुरु भएको गणनाको फिल्डको काम मंगलबार सकिएको बर्ड एजुकेशन सोसाईटी चितवनका अध्यक्ष टिका गिरीले जानकारी दिए । उनका अनुसार, चितवनमा चराको संख्या कम देखिएको छ । ‘हाम्रा खोला नाला तालतलैया प्रदुषित भएका छन् । प्लाष्टिकका बोतल र कागज बाहेक केहीदेखिँदैन,’ उनले भने, ‘प्रारम्भिक नतिजामा चराको संख्या उत्साहजनक छैन।’ अन्तिम नजिजा एक साताभित्र सार्वजनिक गर्ने उनले बताए ।
चितवन राष्ट्रिय निकुञ्ज र यसआसपासका क्षेत्रका तालतलैया तथा खोलामा चरा गणना गरिएको उनले बताए । यसवर्ष संख्या केही बढेपनि केही प्रजाति नबढेको प्रक्षेपण गरिएको छ । यसपटक पानीमा आश्रीत चराहरु गणना गरिएको हो । यो समयमा साइवेरिया, मंगोलिया, उज्वेकिस्तान, तिब्बत लगायतका उत्तरी क्षेत्रबाट बसाईसराई गरि चरा आउने गर्दछन् । त्यसमध्ये हास प्रजातीका चखेवाहरु नियमित आउने गर्दछन् । तर, पूर्वि चितनमा नियमित आउने खोयाँ हाँस प्रजातिको चरा यसपटक नदेखिएको अध्यक्ष गिरीले बताए । फिरन्तेको रुपमा आउने ग्रेटर वाईट फन्रेट ग्रुज चरा चितवनमा देखिएको छ ।
बाटुली पोखरी, टिकौली ताल, कुमाल ताल, राइनो ताल, बूढी राप्ती, ढुङ्ग्रे खोलामा पनि गणना गरिएको अध्यक्ष गिरिले बताए । गणनामा तीन सय ५० जना चरा विज्ञ र संरक्षणकर्मीको सहभागिता रहेको थियो । क्यामरा, वाइनोकुलर र टेलिस्कोपलगायतका उपकरण प्रयोग गरी चराको रङ, शरीरको बनोट हेरेर, आवाज सुनेर गणना गर्ने गरिन्छ । चितवनमा ५० प्रतिशत चरा बसाई सराई गरि आउने गर्दछन् । नेपालमा ८८७ प्रजातिका चरा पाईने गर्दछ । त्यसमध्ये चितवनमा मात्रै ६५२ प्रजातिका चरा पाइन्छ । तर, पछिल्लो समयमा वातावरण प्रदुषित बन्दै जाँदा चराको संख्यामा कमी आउने चिन्ता बर्ड एजुकेशन सोसाईटी चितवनका पूर्व अध्यक्ष बासु विडारीको छ । ‘चराले प्राकृतिक सन्तुलन राख्न महत्वपूर्ण भूमिका खेलेका हुन्छन् । तर उनीहरुको बासस्थान हामीले बिगार्दै लगेका छौँ,’ उनले भने, ‘पछिल्ला गणनामा चराको संख्यामा कमी देखिन थालेको छ।’
गर्मी समयमा दक्षिण भारतदेखि अफ्रिकासम्मका चरा नेपालमा आउने गर्दछन् । तर, जाडो मौसममा भने हिमाल पारीबाट चरा आउने गर्दछन् । गर्मी समयमा प्रजननका लागि चराहरु नेपाल आउने गर्दछन् । नेपालमा चरण गणना सन् १९८७ बाट हुँदै आएको छ । हिमाल य नेचरको नेतृत्वमा नेपालमा गणना हुने गर्दछ । विश्वब्यापी रुपमा जनवरी २देख २२ तारिकसम्म हुने गर्दछ । विश्वमा ११ हजार भन्दा बढी प्रजातिका चरा पाइन्छन् । चरा गणना संगै उनीहरुको बास्थानको अवस्था समेत जानकारी दिईने गरिएको छ । जसले निति निर्माण गर्न सहज हुने उनले बताए ।