३ जेष्ठ २०८१, बिहीबार
बाँकेमा दादुरा संक्रमित ११५ पुगे, धेरै बालबालिका होम आइसोलेसनमा

३० हजार डोज दादुरा रुवेलाको खोप बाँके पुर्‍याइँदै


  • टाइम्स संवाददाता

  • २८ पुष २०७९, बिहीबार १३:२५

काठमाडौं : बाँकेमा दादुरा संक्रमित बालबालिकाको संख्या ११५ पुगेको छ। गत पुस दोस्रो सातादेखि बाँकेमा फैलिएको दादुरा संक्रमण पछिल्लो दिनहरूमा झनै फैलिएको हो। नेपालगञ्जका ११३ र पछिल्लो  खजुराका २ संक्रमित भेटिएपछि संक्रमितको संख्या  ११५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले  जानकारी दिए।

खोप सुपरभाइजर श्रेष्ठले भने, ‘नेपालगञ्जका ११३ र पछिल्लो समय  खजुरा पनि २ जना संक्रमित भेटिएका छन् यसले गर्दा संक्रमितको संख्या ११५ जना पुगेको छ।’

संक्रमित बालबालिका कहाँ छन्?

श्रेष्ठका अनुसार हाल संक्रमित बालबालिकामध्ये २ जना अस्पताल भर्ना भएर उपचारतर छन्। ५८ जना घरमा आइसोलेसनमा रहेको, ६२ जना उपचाररत रहेको र ५२ जना उपचारपछि निको भएका छन्। यस्तै एकजना बालकको भने संक्रमणबाट मृत्यु भइसकेको पनि उनले बताए।

दादुरा संक्रमण जिल्लाभर फैलन थालेपछि महामारी लक्षित खोप अभियान सुरु गरिएको समेत श्रेष्ठले बताए। उनका अनुसार हाल नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गत १, ४, ५, ७, ८, ११, १४, र १५ का ७ वटा वडाका १५ वटा खोप केन्द्र बनाई ६ महिनादेखि १५ वर्ष मुनिका बालबालिकाहरुलाई तीव्र रूपमा खोप लगाइएको छ।

योसँगै दादुराको महामारी फैलनबाट रोक्न आज र भोलि नेपालगञ्ज उपमहानगरपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ।उपमहानगरपालिकाले सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरु यही पुष २८ र २९ गते बन्द गर्ने निर्णय गरेको हो।

३० हजार डोज दादुरा रुवेलाको खोप बाँके पुर्‍याइँदै

दादुरा विरुद्धको खोप हाल जिल्लामा दादुरा रुबेलाको खोप १६ हजार ५ सय डोज स्टकमा रहेकोमा हालसम्म ७ हजार ५०० खोप लगाइसकिको समेत श्रेष्ठले बताए। उनका अनुसार आज पुन: थप ३० हजार खोप प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत बाँके पुग्नेछ।

नेपालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  स्वास्थ्य संस्थाहरूले ९ महिना र १५ महिनाको उमेरमा दुईपटक बालबालिकालाई निःशुल्क दादुराविरुद्ध खोप दिँदै आएका छन्।​ सन् २०२३ सम्म नेपालबाट दादुरा रोग निवारण गर्ने लक्ष्य लिएको सरकारलाई बाँके क्षेत्रमा फैलिएको दादुराले चुनौती थपिदिएको छ।

Nabintech