३ जेष्ठ २०८१, बिहीबार
दादुरा फैलिएको नेपालगञ्जमा झण्डै १० हजारलाई खोप वितरण, विद्यालय बन्द गरेर खोप अभियान चल्दै

दादुरा सङ्क्रमित बालबालिकामा ज्वरो आउने, नाकबाट पानी बग्ने, शरीरमा राताराता बिमिरा आउने लक्षण देखिन्छ


  • टाइम्स संवाददाता

  • २९ पुष २०७९, शुक्रबार ०९:३५

नेपालगञ्ज: दादुरा फैलिएको बाँकेको नेपालगञ्ज उपमहानगरमा झण्डै १० हजार बालबालिकालाई खोप लगाइएको छ । अहिलेको खोप अभियानमा उपमहानगरभित्रका झण्डै १८ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको छ ।

हिजोसम्ममा ६ महिनादेखि १५ वर्षसम्मका ९ हजार ९ सय ६३ जनालाई दादुरा रुबेलाविरुद्धको खोप लगाइएको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले जानकारी दिनुभयो । बाँकीलाई अबको तीन/चार दिनभित्र खोप दिइनेछ । खोपमा पहुँच नपुग्दा र धेरैले नियमित खोप नलगाएका कारण नेपालगञ्जमा दादुरा फैलिएको पाइएको छ ।

बाँकेलाई दुई वर्षअघि नै पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो । तर गएको पुस १३ गतेयता नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न वडामा गरी १ सय ३० जनामा सङ्क्रमण देखिएको छ भने एक जनाको ज्यान गएको छ । बाँकेको खजुरा गाउँपालिकामा पनि २ जनामा दादुरा सङ्क्रमण देखिएको छ ।

सङ्क्रमण देखिएकामध्ये ६० जना उपचारमा छन् भने अरु निको भइसकेका छन् । खोप अभियान प्रभावकारी बनाउन र सङ्क्रमण रोकथाम गर्न नेपालगञ्ज उपमहानगरमा आउँदो मङ्गलवारसम्मका लागि विद्यालय बन्द गरिएको छ। आवश्यकता अनुसार विद्यालय थप एक हप्ता बन्द गर्ने तयारी रहेको पनि प्रमुख प्रशासकीय अधिकृत रिजालले जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालय बाँकेका  खोप  फोकल  पर्सन नरेश  श्रेष्ठका अनुसार नेपालगञ्जका वडा नम्बर १, ९, १०, ११, १४, १५ र २२  मा  दादुराको  सङ्क्रमण फैलिएको छ । परीक्षण, चेतनामूलक कार्यक्रम, बिरामीको थप खोजी र खोप अभियान तीव्र पारिएको  उहाँको भनाइ छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि दादुरा र रुबेलाविरुद्धको खोप लगाउन आग्रह गर्दै आएको छ । खोप शाखाका प्रमुख सागर दाहालले दादुराबाट जोगाउन नौदेखि १५ महिनासम्मका बालबालिकालाई दादुराविरुद्धको नियमित खोप लगाउन आग्रह गर्नुभयो । यो खोप सरकारले निःशुल्क दिँदै आएको छ ।

बालबालिकालाई दादुरा र  रुबेलाबाट  बचाउन  नौ  महिना पुगेपछि पहिलो मात्रा र १५ महिना पुगेपछि दोस्रो मात्रा खोप लगाउने गरिन्छ । तर खोप अभियानका बेला यसअघि लगाएका र छुटेका १५ वर्षसम्मका सबै बालबालिकालाई खोप दिने गरिएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका प्रमुख डा.विवेककुमार लालले बताउनुभयो । उहाँका अनुसार दादुरा सङ्क्रमित बालबालिकामा ज्वरो आउने, नाकबाट पानी बग्ने, शरीरमा राताराता बिमिरा आउने लक्षण देखिन्छ ।

Nabintech