सुर्खेत : भेरी करिडोरको जाजरकोट-दुनै-मरिम-तिन्जे-धो-लासीक्याप सडकखण्डको काम गुणस्तरीय तथा अध्ययनका लागि सडक डिभिजनको टोली डोल्पा पुगेको छ।
निर्माणधीन सडकमा हुनसक्ने त्रुटी कमजोरी तथा गुनासा सुन्न र बनाउन बाँकी रहेको सडकको विस्तृत अध्ययनका लागि डिभिजन प्रमुख आशुतोष कर्णसहितको टोली स्थलगत अनुगमनमा उपल्लो डोल्पा पुगेको हो।
जाजरकोटबाट दुनैसम्म ११८ किलोमिटर सडकखण्ड भेरी करिडोरभित्र पर्छ। मोरिम्ला नाकादेखि धोसम्म सडक ६५ किलोमिटर छ। मोरिम्ला नाकादेखि धोसम्मको ६५ किलोमिटरको ट्र्याक धमाधम खोलिरहेको छ। दुनै–ल्यासिक्याप सडक २० किलोमिटर छ।
डोल्पाको सदरमुकाम दुनैबाट–ल्यासीक्याप सडकखण्डको निर्माणसमेत सडक डिभिजन चौरजहारीमार्फत नै भइरहेको छ। डिभिजनको टोलीले १४८ किलोमिटर सडकको अध्ययन यो पटक गरेको जानकारी प्रमुख कर्णले दिए।
दुनै-लासीक्या सडकखण्डमा सम्झौता गरे पनि १० महिनादेखि निर्माण व्यवसायीले काम नगरेको भन्दै आलोचना भएपछि सडक डिभिजनको टोली उपल्लो डोल्पा पनि पुग्नु थियो।
२०७८ चैतमा सूर्या श्रेया शान्तिदेवी जेभी निर्माण कम्पनीसँग सम्झौता भएको थियो। यस आयोजनाको कुल लागत १३ करोड ४१ लाख भएको कार्यालयले जनाएको छ। दुनै–ल्यासीक्याप सडकखण्ड काइके गाउँपालिका, डोल्पोबुद्ध गाउँपालिका हुँदै चीनसँगको सीमामा पर्ने मोरिम्ला नाका पुग्न सकिन्छ।
अहिले जाजरकोटको भेरी नगरपालिका–४ पासागाडबाट नलगाड नगरपालिका–१२ को तल्लुसम्म सडक स्तरोन्नति (पिच) को लागि ठेक्का भएर यति बिल्डर्सले काम गरिरहेको छ।
यो सडक त्रिदेशीयसमेत रहेको छ। कर्णाली प्रदेशको हुँदै लम्बिनी प्रदेशको नेपालगन्ज जमुनाहा नाकासमेत जोड्छ । भेरी करिडोर निर्माण भएमा भारतको रूपैडियाबाट चीनको तिब्बतसँग यो सडकले सीधा जोडिनेछ।
जाजरकोटदेखि दुनैसम्म अस्थायी ट्र्याक नेपाली सेनाले खोलेको हो। अहिले स्तरोन्नति सडक डिभिजन चौरजहारीले गरिरहेको छ। रणनीतिक सडक भएकाले कामलाई गति दिन अनुगमनमा गरिएको सडक डिभिजन चौरजहारीका प्रमुख आशुतोष कर्णले बताए।
चौरजहारीबाट दुनैसम्म कार्यालयको गाडीमा पुगेको कर्णको टोलीले माथिल्लो डोल्पामा पैदल यात्रा गरेर सडकको अवस्था र कामको प्रगति हेर्न लागेको हो। सर्वाधिक समस्या रहेको दुनैदेखि लासिक्यापसम्मको सडकको अनुगमन टोलीले गरेको छ। हिउँदमा अत्यधिक चिसोका कारण यहाँ काम गर्न कठिन हुने गर्छ।
वर्षायाममा सडक खन्न निर्माण सामग्रीदेखि डोजर, स्काभेटर ल्याउन समस्या हुने गर्छ। हिउँदमा उपल्लो डोल्पाका अधिकांश बासिन्दा गाउँ छाडेर बेंशी झर्ने गर्छन्। विकास निर्माणमा खेलाँची गरेको भन्दै काइके गाउँपालिकाले विज्ञप्ति निकालेर सडक निर्माणमा खबरदारीसमेत गरेको थियो।
गाउँपालिकाका अध्यक्ष अंकद रानाले तत्काल काम गर्न र नगर्ने भए ठाउँ खाली छाड्न आग्रह गरेका थिए। उपल्लो डोल्पामा सडक निर्माण नहुँदा घोडा, खच्चडकै भरमा दैनिक काम हुँदै आएका छन्।
सदरमुकाम दुनैबाट घोडा, खच्चड र चौँरीबाट नै खाद्यान्नदेखि निर्माण सामग्री सबै ओसार्ने गरिन्छ। उपल्लो डोल्पामा योजना अनुगमन तथा निरीक्षणमा जानका लागि समेत ठूलै खर्च हुने गरेको शे-फोक्सुण्डो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज शर्मा न्यौपानेले बताए।
सडक नै विकासको पहिलो आधार भएकाले सडक निर्माणलाई गति दिन सडकको टोली फिल्ड भिजिटमा लागेको डिभिजन प्रमुख कर्णले दावी गरे।
उनले भने, ‘डोल्पामा निर्माण हुन लागेका ठूला विद्युत आयोजनादेखि यहाँका सर्वसाधारणको जीवनस्तर सुधार्नसमेत सडक आवश्यक छ। दुनैबाट उपल्लो डोल्पा जान र आउन मात्र धेरै समय लाग्ने भएकाले काम गर्न मुस्किल हुँदै आएको छ। हामीले सडक र पुल निर्माणमा जोड दिएका छौँ।’
काम नगर्ने निर्माण व्यवसायीलाई खबरदारी आवश्यक रहेकोसमेत उनको जिकिर थियो। डोल्पामा गएर सरोकारवाला निकायसँग छलफलसमेत गरिएको उनले बताए। सडक अनुगमनमा जाँदा ३ दिन त कसैसँग पनि सम्पर्क गर्न नपाएको उनले बताए।
२५ वटा पुल बनाउन बाँकी
भेरी करिडोर निर्माण गर्न राज्यले अझै ठूलो लगानी गर्नुपर्ने डिभिजन प्रमुख कर्णको भनाइ छ। जाजरकोट सदरमुकामबाट उपल्लो डोल्पाको धोसम्म मात्र नयाँ २५ पुल निर्माण गर्नुपर्ने उनले बताए।
अहिलेसम्म सडकको मात्र लागत आएको तर पुलको लागत नआएका कारण खर्च धेरै बढ्न सक्ने उनले बताए। जाजरकोटबाट उपल्लो डोल्पाको धोसम्म १४८ किलोमिटर यात्रा गरेर स्थलगत अध्ययन गरेको उनको दावी छ।
जाजरकोट सदरमुकाम, दुनै-लासीक्याम-सिस्यौल र धोसम्म सडकको विस्तृत योजनासमेत बनाउने आफ्नो लक्ष्य रहेको उनको भनाइ छ। जाजरकोट रिम्ना र नलगाड नगरपालिका–१२ तल्लुसम्म कालोपत्रेको ठेक्का भइसकेको छ।
तल्लुबाट दुनैसम्म पिच गर्न पत्र आएको र अर्थको सहमति आउनासाथ ठेक्का लाग्ने उनको भनाइ छ। अहिलेको स्थलगत अनुगमन त्यही कालोपत्रे गर्न अध्ययन भइरहेको उनले बताए।