५ जेष्ठ २०८१, शनिबार
लुम्बिनी प्रदेशको सभामुख र उपसभामुखमा भयो मनोनयन दर्ता

  • टाइम्स संवाददाता

  • २ माघ २०७९, सोमबार १८:१५

दाङ : लुम्बिनी प्रदेशको सभामुख र उपसभामुखमा मनोनयन दर्ता भएको छ। प्रदेशसभा सचिवको कार्यकक्षमा सत्तारुढ दलबाट सभामुख र उपसभामुखमा  मनोनयन दर्ता भएको हो। सभामुखमा नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती र उपसभामुखमा राप्रपाकी मेनुका खाँड केसीले मनोनयन दर्ता गराएका हुन्।

सभामुखको प्रस्तावकमा एमालेका नेता तथा प्रदेशसभा सदस्य भूमिश्वर ढकाल र समर्थकमा राप्रपा संसदीय दलका नेता आशिषकुमार चौधरी रहेका छन्। घर्ती माओवादी केन्द्रबाट पाल्पा निर्वाचन क्षेत्र २ (ख) बाट प्रत्यक्ष निर्वाचित भएका हुन्।

उपसभामुखको प्रस्तावकमा नेकपा माओवादी केन्द्र नेता तथा प्रदेशसभा सदस्य इन्द्रजित थारु र समर्थकमा जनमत पार्टीका संसदीय दलका नेता चन्द्रशेक गुप्ता रहेका छन्। मेनुका राप्रपाबाट गुल्मीबाट समानुपातिक सांसद बनेकी हुन्।

मनोनयन दर्ताको समय बेलुका ५ बजेसम्म दिइएको थियो। मंगलबार दिउँसो १ बजे सभामुख र उपसभामुख चयनका लागि निर्वाचन हुनेछ।८७ सदस्यीय प्रदेशसभामा सत्तारुढ गठबन्धनका ५८ सांसदहरूको समर्थन रहेको छ।

नेकपा एमालेका २९, माओवादीका १०, राप्रपा र नागरिक उन्मुक्तिका ४/४, जसपा, जनमत, लोसपाका ३/३ र २ स्वतन्त्र सांसदले सरकारलाई समर्थन गरेका छन्। नेपाली कांग्रेसका २७ सांसद, नेकपा एकीकृत समाजवादीका १ जना र जनमोर्चाका १ जना गरी २९ जनामात्र विपक्षमा छन्।

Nabintech