२ जेष्ठ २०८१, बुधबार
डीएनएमै अल्झियो निर्मला हत्या प्रकरणको अनुसन्धान

अनुसन्धान अधिकृतका मत विभाजित


  • टाइम्स संवाददाता

  • ३ माघ २०७९, मंगलवार ०८:५१

काठमाडौं :उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले मन्त्रालयमा पदभार ग्रहण गरेपछि पहिलो निर्णय गरे, ‘निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने ।’ चार दिनपछि निरीक्षणका लागि प्रहरी प्रधान कार्यालय, नक्साल पुग्दा समेत लामिछानेले निर्मला पन्त प्रकरणको अनुसन्धानबारे चासो राखे ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उत्तमराज सुवेदीसहितका अधिकृतहरूले अनुसन्धानमा भइरहेको गतिविधिबारे ब्रिफिङ गरे । लगत्तै प्रहरी प्रधान कार्यालय, नक्सालले यो प्रकरणमा छानबिनका लागि नयाँ अनुसन्धान समिति गठन गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) की प्रहरी नायब महानिरीक्षक (डीआईजी) दुर्गा सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनेको हो । समितिमा ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) कमल थापा, प्रहरी निरीक्षक धीरेन्द्र रोकाया, मनोचिकित्सकलगायत सदस्य छन् ।

केन्द्रीय प्रहरी प्रवक्ता टेकप्रसाद राईका अनुसार टोली कञ्चनपुर नै पुगेर अनुसन्धान गरिरहेको छ । ‘माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्रीबाट पनि यसमा चासो व्यक्त भएको छ, अनुसन्धान समितिले गम्भीर रूपमा छानबिन गरिरहेको छ’, डीआईजी राईले भने ।

अनुसन्धान अधिकृतका मत विभाजित

कञ्चनपुरस्थित भीमदत्त नगरपालिका–२, उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको १० साउन २०७५ मा बलात्कारपछि हत्या भएको थियो ।

घटनाको २५ दिनपछि प्रहरीले मुख्य आरोपीका रूपमा दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । तर स्थानीयले उनी मानसिक रोगी भएको र उनी घटनामा संलग्न हुन नसक्ने बताउँदै आन्दोलन चर्काए । आन्दोलनकै क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु पनि भएको थियो ।

तत्कालीन अनुसन्धान अधिकृतहरूले निर्मलाको ‘भजाइनल स्वाब’लाई डीएनए परीक्षणका लागि प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाएका थिए । त्यसमा भेटिएको डीएनएसँग विष्टको डीएनए म्याच नभएपछि उनी २६ भदौमा छुटेका थिए ।

अनुसन्धानमा खटिएका प्रहरीहरू नै बर्खास्ती र निलम्बनमा परे । गृह मन्त्रालयले तत्कालीन सह–सचिव हरिप्रसाद मैनाली र प्रहरी प्रधान कार्यालयले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धीरु बस्न्यातको नेतृत्वमा बनाएको छुट्टाछुट्टै समितिको प्रतिवेदनका आधारमा कञ्चनपुर प्रहरीका तत्कालीन एसपी दिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्ट बर्खास्तीमा परेका थिए ।

अनुसन्धानका लागि काठमाडौंबाट गएका केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का डीएसपी अंगुर जिसी, कञ्चनपुरका तत्कालीन डीएसपी ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षक एकेन्द्र खड्का, सईद्वय रामसिंह धामी, हरसिंह धामी र जवान चाँदनी साउद निलम्बनमा परेका थिए ।

अधिकृतहरूका अनुसार पहिले पक्राउ परेका दिलीपसिंह विष्टविरुद्ध प्रहरीसँग भएको विगतभन्दा नयाँ प्रमाण भनेको निर्मलाकी आमा दुर्गादेवीले दिएको किटानी जाहेरी मात्र हो

तर हालसम्म घटनाको गुत्थी भने सुल्झिएन । प्रहरीका दर्जनौं अनुसन्धान टोलीले ११५ जना शंकास्पदको डीएनए जाँच गरिसकेको छ, तर म्याच भएको छैन ।

तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले कार्यकालको अन्तिममा एआईजी बस्न्यात नेतृत्वको समितिले बनाएको प्रतिवेदनमाथि पुनरावलोकन गर्न अर्को समिति बनाएका थिए । किनकि उनी र उनको टिमलाई निर्मलाको बलात्कारपछि हत्यामा विष्टकै संलग्नता हुनसक्ने शंका बढेको थियो ।

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) सुरज श्रेष्ठको नेतृत्वमा बनेको त्यो समितिको प्रतिवेदनले तत्कालीन सह–सचिव मैनाली र एआईजी बस्न्यात नेतृत्वको समितिको दुवै प्रतिवेदनलाई बदनियतपूर्ण भन्यो ।

Nabintech