१५ चैत्र २०८०, बिहीबार
कर्णालीको हुम्ला, जुम्ला, मुगु, डोल्पामा हिउँ, स्याउ किसान उत्साहित

लगातारको हिमपातले जनजीवन कष्टकर


  • टाइम्स संवाददाता

  • ११ माघ २०७९, बुधबार ०८:३७

जुम्ला: लामो समयदेखि खडेरीको मार खेप्दै आएका जुम्लाका किसान हिउँ परेपछि खुसी छन्। हिउँ परेसँगै उनीहरू नियमित खेती कर्म तिर लागेका हुन्। माघ महिनामा वर्षा र हिमपात भएपछि हिउँदे बाली राम्रो हुनेमा किसान विश्वस्त छन्।

सोमबार रातिदेखि परेको हिउँले किसानमा खुसी छाएको छ। खडेरीले सुकेको हिउँदे बालीमा राहत पुग्ने भएपछि  किसानहरू खुसी भएका हुन्। हिउँ परेपछि जमिन भिजेको छ।  विशेष गरी अहिले खेतबारीमा लगाएको जौं, गहुँ र उवा बाली उम्रिने समय भएको र यही बेला हिमपात र पानी पर्दा खेतीपातीका लागि राम्रो हुने सिंजा-६ का किसान भिमबहादुर रावतले बताए।
माघ महिनाको वर्षा र हिमपातले वर्षा खेतीपाती र बालीमा राम्रो हुने उनको भनाइ छ । सुख्खा जमिनमा छरिएको जौं, गहुँ राम्रोसँग उम्रिने, विषेशगरी उम्रेको बाली नष्ट गर्ने पठ्याङ्ग्रा लगायतका किरा मर्ने र हिउँदे बाली तथा तरकारीको उत्पादनमा पनि वृद्धि हुने कृषकको भनाइ छ।
स्याउ खेतीका लागि चिस्यानको आवश्यकता पर्ने र त्यो चिस्यान हिमपात भएपछि प्राप्त हुने भएकाले व्यावसायिक स्याउ खेती गरिरहेका किसान उत्साहित भएका हुन्। उनीहरू हिमपातको पानी  पोखरीमा सङ्कलन गर्न आतुर छन्। उच्च लेकाली क्षेत्रका किसान हिउँका डल्ला बोकेर पोखरीमा जम्मा गर्ने गर्दछन्।

स्याउ किसान राममबहादुर रोकायाले यो वर्ष समयमै हिउँ परेकोले स्याउ उत्पादन बढ्ने विश्वास गरेको बताउँछन्। कृषि प्राविधिकका अनुसार  ठिक समयमा हिउँ पर्दा जमिनमा चिस्यान उत्पन्न भएको छ। यो बेला खाडल खन्ने, स्याउ र ओखर रोप्नका लागि पनि उपयुक्त समय हो। समयमै हिमपात र वर्षा भएकाले बारी बाँझो राख्नुभन्दा स्याउ र ओखर  लगाउने तयारी किसानहरूले गरिरहेका छन् ।

पुस १५ देखि माघ अन्तिममा स्याउका बगैँचा काटछाट गर्ने र व्यवस्थापन गर्ने समय पनि हो। जुम्लाका ८ वटै स्थानीय तहका कृषि शाखाका प्राविधिकले किसानको स्याउ बगैँचामा पुगेर स्याउका बिरुवा काटछाट गर्ने तरिका र व्यवस्थापन र खाडल गर्ने तरिकाका बारे सिकाइरहेका थिए। हिमपातले स्याउको गुणस्तर वृद्धि हुने, स्याउमा लाग्ने रोग किराहरूमा पनि कमी आउने जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेशबहादुर अधिकारी बताउँछन्। कर्णालीको हुम्ला, जुम्ला, मुगु, डोल्पामा हिउँ परेको छ। तर जुम्लामा यो वर्ष पहिलोपटक परेको हो।

जनजीवन कष्टकर बन्दै

सोमबार रातिदेखि अहिलेसम्म लगातार हिउँ परिरहेको छ। लगातारको हिमपातले जनजीवन कष्टकर बनेको छ। विशेष गरी ज्येष्ठ नागरिक, दीर्घ रोगी, बालबालिका, गर्भवती महिला र विद्यार्थीहरू चिसोबाट बढी प्रभावित भएका छन्।

यता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका अस्पताल निर्देशक डाक्टर राजीव शाहले लगातार हिउँ परिरहेकोले स्वास्थ्यमा ख्याल राख्न सुझाएका छन्।उनले जथाभाबी बाहिर हिड्डुल नर्गन, हिउँमा नखेल्न नियमितरूपमा तातोपानी खान अनुरोध गरे। गेडागुडीको झोल, तरकारी बढी खान पनि उनले आग्रह गरेका छन्।

पशु चौपायालाई दानापानी समस्या

हिमपातसँगै बढेको चिसोले हिँडडुल गर्न र पशु चौपायालाई दानापानी दिन भने समस्या भएको छ। हिमपातपछि जुम्लाको तापक्रम माइनसमा झरेको छ। पशु चौपाया, भेडा बाख्रा चराउने वनजंगल हिउँले ढाकेर सेताम्य भएका छन्। गाईबस्तु र भेडा बाख्रालाई चराउन समस्या भएको गोठालाहरू बताउँछन्।

पशु चौपाया,भेडा बाख्रालाई राम्रोसँग दानापानी र सोतर राम्रोसँग दिनुपर्ने भेटेरिनरी अस्पताल जुम्लाका प्रमुख ज्ञानेन्द्रिसंह बुढ्थापाले बताए। पाठापाठी, बाच्छाबाच्छीलाई चिसो बाट बचाउन किसानलाई आग्रह गरे। तातोपानी तताएर वा पुरानो माटाको गोठमा हुल्न र झ्याल ढोका राम्रोसँग बन्द गर्ने सुझाव दिए।हिउँदमा खुवाउन भण्डारण गरेको घाँस खुवाउन अपिल गरे।

हिमपातले यातायात सेवा प्रभावित

हिमपातले यातायात उड्ने र सडक बाट गुड्ने सानाठूला सवारीसाधन  सेवा प्रभावित भएको छ। साबिकका पाँच जिल्ला जुम्ला, मुगु, कालिकोट ,डोल्पा र हुम्ला जिल्लामा हिमपातले यातायात उड्ने र सडक बाट गुड्ने साना ठुला सवारीसाधन  सेवा प्रभावित भएका छन्। यता जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले हिमपातपछि राहत उद्धार तथा पुनर्स्थापनाको पूर्व तयारी मजबुत बनाइएको बताए।

Nabintech