११ मंसिर २०८१, मंगलवार
दाङ : सीता एअरले टरीगाउँ विमानस्थलमा हप्ताकाे एक पटक उडान भर्ने

यात्रुको मागलाई मध्यनजर गर्दै उडानको तालिका र समय थप्दै जाने


  • टाइम्स संवाददाता

  • १४ माघ २०७९, शनिबार ०९:४४

दाङ: सीता एअरले टरीगाउँ विमानस्थलमा हप्ताकाे एक पटक उडान भर्ने भएको छ । हिजाे शुक्रवार टरीगाउँ विमानस्थलमा परीक्षण उडान गरेको सीता एअरले पहिलो चरणमा हप्तामा एक पटक दाङ-काठमाण्डौ उडान भर्ने जानकारी दिएकाे हाे । हिजाे दिउँसो १ बजे सीता एअरको १९ सिटे ९ ए–एजेएच विमानले परीक्षण उडान भरेकाे हाे ।

सुरुआतमा पश्चिमतर्फबाट र पुनः पूर्वतर्फबाट विमान अवतरण गरेको हो । दुवैतर्फबाट विमान अवतरण गर्न सहज नै रहेको क्याप्टेन रवीन्द्र डङ्गोलले बताउनुभयो । ‘दुवैतर्फबाट अवतरण सहजै छ’, उहाँले भन्नुभयो, ‘यहाँको समग्र अवस्थाकाे मूल्याङ्कन गरेर प्रतिवेदन निकाल्छौँ ।’ केही रुख, पानीको ट्याङ्की र आकासमा चरा धेरै हुँदा समस्या हुने उहाँको भनाइ थियो । ‘यताउती फोहर धेरै हुनसक्छ, त्यसको नियन्त्रण गरे हुन्छ ।’

उडान परीक्षणपछि प्राविधिक समस्या, यात्रु लगायतका विषयमा बोर्डमा छलफल गरेर १० दिनपछि नियमित उडान भर्ने एअरका प्रबन्ध निर्देशक राजेन्द्रबहादुर सिंहले बताउनुभयो । यात्रुको मागलाई मध्यनजर गर्दै उडानको तालिका र समय थप्दै जाने उहाँले बताउनु भएकाे छ ।

तुलसीपुर उपमहानगरपालिकाले ठूला जहाजले पनि उडान भर्न मिल्ने गरी धावनमार्ग विस्तार गर्ने तयारी गरेकाे छ । उपमहानगरपालिकाकी उपमेयर स्यानी चौधरीको नेतृत्वमा समिति बनाएर विमानस्थल विस्तारका लागि काम अघि बढाइएको हाे । अहिले नेपाल वायु सेवा निगमकाे विमानले हप्तामा चार दिन तुलसीपुरमा उडान भर्दैआएको छ । आइतवार, मङ्गलवार, बिहीवार र शनिवार उडान हुने गरेको छ । टरीगाउँमा इन्धन डिपो पनि सञ्चालनमा आएको छ ।

अहिले दाङबाट काठमाण्डौको न्यूनतम भाडा ८ हजार ८ सय १० तथा काठमाण्डौबाट दाङको भाडा न्यूनतम ९ हजार र अधिकतम १२ हजार रुपैयाँ रहेको छ । अहिले कायम रहेको ७ सय ५० मिटर लम्बाइ र ३० मिटर चौडाइको धावनमार्ग विस्तार गर्ने योजना छ ।

Nabintech