कोहलपुर बाँकेको कोहलपुरमा रहेको सृजना सहकारी संस्था लिमिटेडको २७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाले सहकारीमार्फत कृषि तथा पशुपालन व्यवसायलाई प्रवर्द्धन गर्दै किसानको आयआर्जन वृद्धि गर्नुपर्नेमा जोड दिएको छ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी संघका अध्यक्ष पृथ्वीबहादुर रावतले सृजना सहकारीले कोहलपुर क्षेत्रका कृषक तथा दुग्ध उत्पादक किसानको आर्थिक अवस्था सुधारमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताए। सहकारीले विभिन्न कार्यक्रममार्फत किसानलाई प्रोत्साहन गर्नुका साथै उत्पादन र बजारीकरणमा समेत सहयोग गर्दै आएको उनको भनाइ थियो।
पछिल्लो समय सृजना सहकारीले गुणस्तरीय दूध, घिउ तथा पनिर उत्पादन र वितरण गर्दै आएको छ। कृषकले उत्पादन गरेको दूध संकलन गरी बजारसम्म पुर्याउने र पशुपालनमा संलग्न किसानलाई प्रोत्साहन गर्ने काममा सहकारी सफल भएको संस्थाका अध्यक्ष दशरथ पराजुलीले बताए।


सहकारीले आर्थिक वर्ष २०८२/८३ मा सदस्य किसानले बिक्री गरेको दूधको प्रतिलिटर एक रुपैयाँका दरले लाभांश प्रदान गरेको छ। किसानलाई उत्पादनमा निरन्तरता दिन र व्यावसायिक पशुपालनतर्फ आकर्षित गर्न यस्तो प्रोत्साहन कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष पराजुलीले जानकारी दिए।
संस्थाका व्यवस्थापक चन्द्रलाल तिवारीका अनुसार सहकारीले आर्थिक वर्षमा करिब १४ करोड रुपैयाँ बराबरको कारोबार गर्दै ३१ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। सहकारीले सदस्यको बचत तथा ऋण कारोबारसँगै दुग्ध उत्पादन र बजारीकरणलाई पनि प्राथमिकतामा राख्दै आएको उनले बताए।
साधारण सभाका अवसरमा सहकारीबाट ऋण लिएर समयमै भुक्तानी गर्ने ११ जना सदस्यलाई सम्मान गरिएको थियो। त्यस्तै, दूध उत्पादनमा योगदान पुर्याउने नौ जना कृषकलाई पुरस्कार प्रदान गरिएको संस्थाले जनाएको छ।

सहकारीले आगामी दिनमा व्यावसायिक पशुपालनलाई थप प्रोत्साहन गर्ने, कृषकलाई सन्तुलित पशु आहार प्रयोग गर्न प्रेरित गर्ने तथा न्यूनतम मूल्यमा पशु आहार उपलब्ध गराउने योजनासमेत अघि सारेको छ। किसानको उत्पादन लागत घटाउँदै दूध उत्पादन र गुणस्तर वृद्धि गर्ने लक्ष्यसहित यस्ता कार्यक्रम सञ्चालन गरिने संस्थाले जनाएको छ।
कृषि तथा पशुपालनलाई सहकारी अभियानसँग जोड्दै स्थानीय किसानको आर्थिक समृद्धिमा योगदान पुर्याउने उद्देश्यका साथ सृजना सहकारीले आफ्ना गतिविधि विस्तार गर्दै आएको छ।




