१५ चैत्र २०८०, बिहीबार
नेपालमा एउटै नर्सले हेर्नुपर्छ ३० बिरामी

०८७ साल सम्म १६ हजार ६२८ जना नर्सिङ तथा मिडवाइफरी जनशक्ति नेपालमा थप गर्नुपर्ने


  • टाइम्स संवाददाता

  • १५ माघ २०७९, आईतवार ०८:४०

काठमाडौं : अस्पतालमा भर्ना भएका बिरामीको सेवामा समर्पित हुनु नर्सको कर्म र धर्म दुवै हो। हरेक बिरामीलाई कुन औषधी कतिखेर खान दिनेदेखि जटिलताअनुसारको सेवामा नर्स समर्पित हुन्छन। अस्पतालमा २४ घण्टा बिरामीकै सेवामा रहने हुँदा नर्स बिरामीको लागि आडभरोसा बनेका हुन्छन्। तर पछिल्लो समय नर्सको मायालु व्यवहार र सेवा पाउन छाडिएको गुनासो बढ्दै छ। नर्स स्वयं पनि यो कुरा स्वीकार गर्छन्।

एउटै नर्सले धेरै बिरामी हेर्नु र लामो समयसम्म ड्युटी गर्नुपर्ने गर्दा पनि नर्सले दिने सेवामा गुनासो आउन थालेको बताउँछिन्, त्रिवि शिक्षण अस्पतालमा कार्यरत नर्स विन्दा शर्मा। ‘एउटै नर्सले लामो समयसम्म ड्युटी गर्नुपर्ने, एउटैले धेरै बिरामी हेर्नु पर्ने हुँदा पनि आराम नपुग्दा उनीहरूको सेवामा गुनासो बढेको हो’, उनले भनिन्।

अहिले पनि धेरै नर्स विनातलब वा एकदमै कम सेवासुविधामा काम गरिरहेको अवस्थामा भेटिन्छन्। निजी अस्पतालमा प्रायः नर्स करारमा नियुक्त गरिएका हुन्छन्। अस्पतालले चाहेको अवस्थामा कामविहीन हुनुपर्छ। स्थायी नियुक्ति नदिँदा समस्या भएको नर्स शर्माको भनाइ छ।

अहिले पनि नर्सहरूलाई एकदमै कम तलबमा काम लगाउने समस्या रहेको बताउँछिन्, नर्सिङ संघकी अध्यक्ष मनकुमारी राई। ‘नर्सिङ क्षेत्रको मुख्य समस्या भनेकै सेवा सुविधा एकदमै कम हुनु हो। यो समस्या धेरै निजी स्वास्थ्य संस्थामा छ’, उनी भन्छिन्।

विश्व स्वास्थ्य संगठनले एक नर्सले धेरैमा ६ देखि ८ जना बिरामी हेर्नुपर्ने व्यवस्था गरेको छ। तर नेपालमा एक नर्सले १५ देखि २० जना बिरामीसम्म हेर्नुपर्ने बाध्यता छ। अस्पतालको वार्डमा हेल्परसमेत नहुँदा दोहोरो कामको चेपुवामा  रहेकाका कारण नर्सहरूमा मानसिक तनाव बढाउने गरेको छ। विश्व स्वास्थ्य संगठनले सघन उपचार कक्षमा ‘एक बिरामी बराबर एक नर्स’ हुनुपर्ने भनेको छ। भने जनरल वार्डमा एक नर्स बराबर आठ बिरामी हेर्नुपर्ने नियम छ।

स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका र न्युनतम सेवा मापदण्ड अनुसार जनरल कक्षमा चारदेखि ६ शय्यामा एक नर्स, इमर्जेन्सी तथा पोष्ट अपरेटिभ कक्षमा प्रति दुई शय्यामा एकजना नर्स, सघन उपचार कक्ष मा प्रति बिरामी बराबर एकजना नर्स हुनुपर्ने व्यवस्था छ।

यस्तै प्रसूति कक्षको लेबर बेडमा प्रति महिला दुई एस.बी.ए तालिम प्राप्त नर्स वा मिडवाइफको हिसाबले नर्सिङ जनशक्ति व्यवस्था गरिनुपर्छ। साथै विभिन्न बिदामा बस्दा कुल जनशक्तिको थप ३० प्रतिशत नर्सिङ जनशक्तिको आवश्यकता पर्छ।

तर नेपालमा एउटै नर्सले धेरै बिरामी हेर्नुपर्ने बाध्यता छ। नेपालमा ठूला स्वास्थ्य संस्थामा एक नर्सले सरदर ३० जनासम्म बिरामी हेर्नुपर्ने बाध्यता रहेको नर्सहरूको भनाइ छ। हालसम्म नेपाल नर्सिङ काउन्सिलमा स्पेसल नर्स  एक हजार १९४ जना, नर्स ७३ हजार ५१४ जना, नर्सिङ तथा मिडवाइफ ५१ जना, एएनएम ३६ हजार ९६९ र ८४८ जना  विदेशी नर्स दर्ता भएका छन्।

यस्तै स्वास्थ्य मन्त्रालय नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाको तथ्यांक अनुसार सरकारी स्वास्थ्य संस्थामा अनमी ८ हजार ५००, स्टाफ नर्स १६ सय, नर्सिङ अफिसर १०९, कम्युनिटी नर्सिङ अफिसर २८, कम्युनिटी नर्सिङ एड्मिनिस्ट्रेटर २, नर्सिङ एड्मिनिस्ट्रेटर ३९ र चिफ नर्सिङ एड्मिनिस्ट्रेटर चार जना गरी  १० हजार २ सय ८२ जना सेवामा आबद्ध रहेका छन्। यो संख्या विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार अपुग हो।

०८७ साल सम्म १६ हजार ६२८ जना नर्सिङ तथा मिडवाइफरी जनशक्ति नेपालमा थप गर्नुपर्ने छ। त्यो वेलासम्म नर्सिङ तथा मिडवाइफरी जनशक्ति २६ हजार ९१० जना आवश्यक पर्छ। हाल नेपालमा एएनएम, स्टाफ नर्स, बीएन,बीएस्सी नर्सिङ र मास्टर्स अध्ययन पूरा गरेका नर्स छन्।

स्वास्थ्य मन्त्रालयका नीति योजना प्रमुख डा. कृष्ण पौडेलका अनुसार हाल माग अनुसारको नर्स पुर्‍याउन नसिएको बताए। उनका अनुसार पछिल्लो समय नर्सिङ अध्ययन गराउने धेरै कलेज बन्द हुने,धेरै नर्स अध्ययन पछि विदेश जाने गर्दा पनि नर्सको कमी भएको बताउँछन्। डा. पौडेलका अनुसार हाल विद्यालय नर्स योजना अघि बढिरहेको छ।

यसका साथै आवश्यक पर्ने अस्पताल केन्द्रित नर्स, हाल स्थापना हुँदै गरेका आधारभूत अस्पतालमा पनि पर्याप्त मात्रामा नर्स चाहिने अवस्था रहेको हुँदा नर्स उत्पादनमा लाग्नुपर्ने उनको भनाइ छ। ‘अहिलेकै अवस्थामा नर्स नपुगेको अवस्थामा विद्यालय नर्स योजना अघि बढिरहेको, स्थापना हुँदै गरेका आधारभूत अस्पतालमा पनि धेरै नर्स आवश्यक छ। त्यसैले अब केही वर्ष नर्स उत्पादनमा ध्यान दिनु पर्छ’, डा पौडेलले भने।

 

Nabintech