काठमाडाैँ: जाजरकोटमा ५ वर्षअघि हत्या गरेर गाडिएको एक व्यक्तिको शव फेला परेको छ ।भेरी नगरपालिका–६ सिस्नेका काले कामीको शव पाँच वर्षपछि फेला परेको हो । उनको श्रीमती भद्रकला कामी र दुई छोराहरु तुल्सीराम कामी र गोविन्द कामीले हत्या गरेर शौचालयको खाडलमा गाडेका थिए ।
२०७४ पुस ३० गते राती भद्रकलाले आफ्ना श्रीमानलाई निधारमा लाठीले हानेर हत्या गरेको प्रहरीले जानकारी दिएको छ । गुपचुप राखिएको घटनाबारे यही माघ १७ गते प्रहरीले गोप्य सूचना पाएपछि खोजतलास गरेको थियो ।
खाडलमा पूरै दाँतसहितको प्रहरीले खप्पर, प्लाष्टिकको डोरीले बाँधिएको ज्याकेट, पाइन्ट र ती कपडाभित्र मानव हड्डी भेट्टाएको छ ।भद्रकला र दुई छोराहरुलाई प्रहरीले पक्राउ गरेको छ । थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।