५ जेष्ठ २०८१, शनिबार
भक्तपुरमा बर्डफ्लु भेटियो : तीन वटा फार्मबाट ११ हजारभन्दा धेरै कुखुरा र चल्ला नष्ट

तीनवटै फार्ममा रहेका १० हजार चार सय ८० वटा कुखुरा, एक हजार ५० चल्ला, चार हजार पाँच सय २३ वटा अण्डा र एक हजार चार सय ७५ केजी दाना नष्ट


  • टाइम्स संवाददाता

  • ११ फाल्गुन २०७९, बिहीबार ०८:४२

भक्तपुर: भक्तपुरमा कुखुरामा बर्डफ्लु भेटिएको छ । चाँगुनारायण नगरपालिका–८ सुडालको रातोपाटीमा तीन वटा कुखुरा फार्ममा पालिएका कुखुरामा बर्डफ्लु भेटिएपछि कुखुरा, चल्ला, अण्डा र दाना तथा अन्य पदार्थ नष्ट गरिएको छ । कुखुरामा बर्डफ्लु देखिएपछि तीन वटा फार्मबाट ११ हजारभन्दा धेरै कुखुरा र चल्ला नष्ट गरिएको पशुसेवा विभागले जनाएको छ ।

विभागका अनुसार चाँगुनारायण पोल्ट्री एण्ड ह्याचरी उद्योग प्रालि, अर्जुन गिरी पोल्ट्री फार्म र आदित्य पोल्ट्री फार्ममा पालिएका कुखुरामा बर्डफ्लु भेटिएको हो । तीनवटै फार्ममा रहेका १० हजार चार सय ८० वटा कुखुरा, एक हजार ५० चल्ला, चार हजार पाँच सय २३ वटा अण्डा र एक हजार चार सय ७५ केजी दाना नष्ट गरिएको छ । फार्ममा पालिएका कुखुरा मर्न थालेपछि गरिएको परीक्षणमा तीन वटै फार्मका कुखुरामा बर्डफ्लु भेटिएको पशु विभागका पशु चिकित्सक डा. श्रीजा वाग्लेले जानकारी दिनुभयो ।

बर्ड फ्लु थप फैलन नदिन पशुपक्षी र पशुपक्षीजन्य उत्पादन तथा तिनको ओसारपसार लगायतका काममा संलग्न हुनेहरूले विशेष ध्यान दिन पनि उहाँको सुझाव छ । कुखुराको मासु राम्ररी पकाएर खान, पोल्ट्री फार्ममा काम गर्नेले जैविक सुरक्षामा ध्यान दिन, खोरमा काम गर्दा आवश्यक मास्क, पन्जा तथा बुट लगाउन, काम सकेर निस्किने बेला राम्ररी सरसफाइ गर्न, चल्ला र दाना खरिदकर्ताले बिक्री गर्ने स्वास्थ्य प्रमाणित भए/नभएको बुझ्न, फार्ममा कुखुरा वा चल्ला मर्न थालेमा सम्बन्धित निकायलाई तत्काल खबर गर्न पनि डा. वाग्लेको आग्रह छ ।

Nabintech