५ जेष्ठ २०८१, शनिबार
एन्फा बैठकमा तनाव, कार्यसमिति सदस्यहरुबीच भनाभन र धकेलाधकेल

  • टाइम्स संवाददाता

  • १७ फाल्गुन २०७९, बुधबार १३:५९

काठमाडौँ:अखिल नेपाल फुटबल संघ (एन्फा)को विवाद बढ्दै गएको छ। अध्यक्ष पंकज नेम्वाङ एक पक्षीय रुपमा अघि बढेको आरोपपबीच बुधबार कार्यसमिति बैठक बसेको थियो। बुधबार बिहान ८ बजे बस्ने गरी बोलाइएको बैठक ढिलो गरी सुरु हुँदा पनि विवाद भएको हो। यो बैठकका लागि ११ वटा एजेन्डा तय गरिएको थियो।

एजेन्डालाई लिएर भएको विवादका क्रममा एन्फाका सदस्यहरुबीच बैठकस्थलमै धकेलाधकेलको अवस्था आएको छ। अध्यक्ष नेम्वाङले बैठकलाई ११ वटा एजेन्डा तय गरेका थिए। तर कार्यसमितिका तीनजना उपाध्यक्षसहित बहुमत केन्द्रीय सदस्यहरुले थप ६ एजेन्डा पनि दर्ता गराएका थिए। उनीहरुले राखेका प्रस्तावहरुमध्येमा कार्यसमिति महासचिव र कोषाध्यक्षलाई पनि बर्खास्त गर्नुपर्ने उल्लेख छ।

तर अध्यक्ष नेम्वाङले उक्त प्रस्तावमा उल्लेखित एजेन्डालाई बैठकमा अघि बढाउन नसकिने अडान लिएपछि  कार्यसमिति सदस्यहरुबीच बैठकमै धकेलाधकेल भएको हो।

अध्यक्ष नेम्वाङले आफूहरुको कुरा नसुनेको भन्दै आक्रोशित केन्द्रीय सदस्यहरुले बैठकबाट उठेर टेबुल ठोकेका थिए। दुई पक्षका केन्द्रीय सदस्यहरुबीच भनाभनसँगै धकेलाधकेल नै भएको हो।

विवाद र धकेलाधकेलबीच अहिले नेम्वाङले बैठक अघि बढाइरहेका छन्। तर असन्तुष्ट पक्षले आफूहरु र एजेन्डालाई पनि पाखा लगाएर नेम्वाङ अघि बढेको आरोप लगाएका छन्।  त्यहीकारण नेम्वाङका समर्थक केन्द्रीय सदस्य र अर्को पक्षका केन्द्रीय सदस्यहरुबीच हात हालाहालको अवस्था आएको हो।

Nabintech