५ जेष्ठ २०८१, शनिबार
कोहलपुरको ‘भिजन कम्पिटिशन’ : प्रस्ताव आह्वान

स्वदेश तथा विदेशमा रहेका विद्यार्थी सोधकर्ता, सम्बन्धित क्षेत्रका विज्ञ, योजनाकार, स्वतन्त्र अन्वेषक, लेखक, बुद्धिजिवी, नेपाली नागरिक र संघसंस्थाले उक्त प्रतियोगितामा भाग लिन सक्ने


  • टाइम्स संवाददाता

  • १९ फाल्गुन २०७९, शुक्रबार १४:०४

कोहलपुर (बाँके) : कोहलपुर नगरपालिकाले ‘भिजन कम्पिटिशन’ का लागि खुला प्रस्ताव आह्वान गरेको छ । चालू आर्थिक वर्ष २०७९–०८० को कार्यक्रम अन्तरगत कोहलपुरको समग्र विकासलाई समेट्ने गरि विज्ञ समुह तथा ब्यक्तिलाई भिजन कम्पिटिसनमा सहभागी हुन आह्वान गरिएको नगर प्रमुख पूर्णप्रसाद आचार्यले बताए ।

नगरको योजना निर्माण तथा कार्यक्रम चयनमा बौद्धिक ब्यक्ति तथा समुहको सहभागिताका लागि भिजन कम्पिटिसनको अवधारणा ल्याएको बताए । ‘कोहलपुरको दीर्घकालिन विकास, निर्माणका लागि जनप्रतिनिधिले नदेखेको र नजानेको हुनसक्छौँ । बौद्धिक ब्यक्ति तथा समुहको योजना तथा कार्यक्रम छनोटमा सहभागिता नभएर महत्वपूर्ण योजना छुटेको हुनसक्छ,’ नगर प्रमुख आचार्यले भने, ‘भिजन कम्पिटिसनबाट नयाँ योजना, विचार र आइडिया आउने र त्यसले कोहलपुरको समग्र विकासमा टेवा पुग्ने विश्वास छ ।’

स्वदेश तथा विदेशमा रहेका विद्यार्थी सोधकर्ता, सम्बन्धित क्षेत्रका विज्ञ, योजनाकार, स्वतन्त्र अन्वेषक, लेखक, बुद्धिजिवी, नेपाली नागरिक र संघसंस्थाले उक्त प्रतियोगितामा भाग लिन सक्ने उनले बताए । ‘कोहलपुरको वर्तमान अवस्थाको विश्लेषण गरि कोहलपुरको विकास, निर्माण, सुशासन लगायतका विषयमा आगामी दिनमा गर्नुपर्ने कामको योजनासहित अनुमानित रकम प्रस्तावनामा समेट्नु पर्नेछ,’ उनले भने ।

नगरपालिकाको पूर्वाधार विकास, आर्थिक विकास, संस्थागत विकास, सुशासन, वातावरण तथा विपद ब्यवस्थापनमा नविनतम प्रविधिको प्रयोगका साथै सूचना, संचार एवम् कुनै भए सो समेत उल्लेख गरि सो क्षेत्रको सुधारका लागि नगरपालिकाले अवलम्वन गर्नुपर्ने नीति एवम् ठोस कार्ययोजनासहितको सुझाव पेश गर्नुपर्ने शर्त राखिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले बताए ।

प्रस्ताव कार्यान्वयन गर्दा न्यूनतम मूल्य वा बिना मूल्यमा गर्न सकिने गरि अनुमानित बजेटसमेतको प्रस्ताव सूचना प्रकाशित भएको मितिले ६० दिनभित्र पेश गर्न आह्वान गरेको उनले बताए । ‘प्रस्तावकले नेपाली नागरिक खुल्ने कागजात, प्रस्तावकको विज्ञता वा अध्ययन विधि खुल्ने कागजात तथा कोहलपुर नगरपालिकाको समृद्धि र विकासका लागि कम्तिमा एक हजार शब्दको कार्ययोजनासहितको कागजात पेश गर्नुपर्ने छ,’ उनले भने ।

पेश भएका प्रस्तावनालाई नगरपालिकाले अध्ययन गरि संक्षिप्त सूचीमा परेका प्रस्तावक स्वयम नगरपालिकामा उपस्थित भई वा भर्चुअल माध्यमबाट प्रस्तुती गर्नुपर्ने नियम नगरपालिकाले बनाएको छ ।

नगरपालिकाको नीतिगत सुधारमा सघाउ पुग्ने प्रस्तावना मध्ये पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः एकलाख ५० हजार, एकलाख र ५० हजार रुपैयाँ प्रदान गरिने नगर प्रमुख आचार्यले बताए । ‘प्रथम हुने प्रस्तावक वा विज्ञलाई कोहलपुर नगरपालिकाको सद्भाव दूत वा विज्ञ समूहमा नियुक्त गर्न सकिने छ,’ उनले भने ।

Nabintech