२३ बैशाख २०८१, आईतवार
राष्ट्रपतिको राजकीय पदमा रामचन्द्र निर्वाचित

राजनीतिलाई नै आफ्नो जीवन मानेर हिँडेका उनी निरन्तर सत्ताको छेउछाउमा रहिरहे


  • टाइम्स संवाददाता

  • २५ फाल्गुन २०७९, बिहीबार १६:५८

काठमाडौं :नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र संघीय गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका छन्।  बिहीबार भएको मतदानमा संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन्। उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन्।

पौडेललाई १० राजनीतिक दलले मतदान गरेका हुन्। उनले राष्ट्रपतिका उम्मेदवार नेकपा एमालेका सुवासचन्द्र नेम्वाङलाई पराजित गरे। एमाले राष्ट्रपति निर्वाचनमै एक्लै भएको थियो। एमाले उम्मेदवार नेम्वाङले १५ हजार ५१८ मत प्राप्त गरेका छन्।

यस्तो छ रामचन्द्रको राजनीति

वि.सं २००० असोज २९ गते तनहुँको व्यास नगरपालिकामा बुबा दुर्गाप्रसाद पौडेल र आमा ऋषिमाया पौडेलबाट रामचन्द्र पौडेलको जन्म भएको हो। संस्कृतमा शास्त्री, नेपालीमा एम.ए गरेको पौडेलले राजनीतिबाहेक अन्य पेसा व्यवसाय अंगालेनन्।

राजनीतिलाई नै आफ्नो जीवन मानेर हिँडेका उनी निरन्तर सत्ताको छेउछाउमा रहिरहे। पुराना राजनीतिज्ञको रूपमा परिचित पौडेलले सांसद, मन्त्री, उपप्रधान एवं गृहमन्त्री हुँदै प्रतिनिधिसभाको सभामुखसमेत भएर काम गरिसकेका छन्।

बिपी कोइरालाको सान्निध्य र त्यागबाट प्रभावित भई राजनीतितर्फ आकर्षित भएका ७९ वर्षीय पौडेलको राजनीतिक यात्रा विद्यार्थी अवस्थादेखि नै सुरु भएको हो। पञ्चायतविरोधी आन्दोलनमा लागेका कारण उनी पटक–पटक गरी १३ वर्ष जेल परेका छन्।

१६ वर्षको उमेरदेखि राजनीतिमा सक्रिय रूपमा लागेका पौडेलले बिपी कोइरालाको चेला भएर काम गरेका छन्। ०१७ सालमा राजा महेन्द्रले बिपीलाई जेल हालेपछि उनी सक्रिय राजनीतिमा होमिएका हुन्।

०१८ मा कांग्रेसले सञ्चालन गरेको सशस्त्र क्रान्तिमा सक्रियतापूर्वक लागेका उनी ०२३ मा सरस्वती क्याम्पसका विद्यार्थी युनियन सभापतिमा निर्वाचित भए। ०२४ सालमा उनी प्रजातान्त्रिक समाजवादी युवा लिगको महासचिव बनेका उनी ०२७ सालमा नेविसंघको स्थापनामा सहभागिता जनाए।

०१७ देखि ०४६ सालसम्म विभिन्न कालखण्ड गरेर १३ वर्ष जेलजीवन बिताएका उनलाई पार्टीले ०४० सालमा केन्द्रीय प्रचार समितिको संयोजक बनाएको थियो।

प्रतिगमनविरोधी आन्दोलनमा अग्रपङ्क्तिमा रहेका पौडेल पछिल्लोपटक एक वर्षसम्म नजरबन्दमा परेका थिए। २०४४ सालमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनेका पौडेल ०४६ सालमा प्रजातन्त्रको पुनःस्थापनापछि ०४८ को निर्वाचनमा पहिलोपटक सांसद बने।

तनहुँ १ बाट विजयी बनेका उनी ०४९ मा उनी स्थानीय विकास तथा कृषि मन्त्री बने। ०५१ सालको मध्यावधि चुनावमा तनहुँ २ बाट सांसद निर्वाचित भए। ०५१ सालमा सभामुखका लागि भएको निर्वाचनमा उनी विजयी बने। पाँच वर्ष सभामुख भएर काम गरेका पौडेल ०५६ सालमा तनहुँ–२ बाट तेस्रोपटक सांसदमा निर्वाचित भए।

उनी ०५७ सालमा उपप्रधानमन्त्री, गृह तथा सञ्चारमन्त्री बने। त्यसबेला गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए। ०६२ सालमा कांग्रेस महामन्त्री बनेका पौडेलले माओवादी शान्ति प्रक्रियामा आएपछि शान्ति सचिवालयको संयोजक भएर काम गरेका छन्।

०६३ सालमा उनी शान्ति तथा पुनर्निर्माण मन्त्री भए। त्यसबेला गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री थिए।

०६४ सालमा उनी नेपाली कांग्रेसको उपसभापति भए। सोही वर्ष सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा पौडेल तनहुँ २ बाट चौथोपटक निर्वाचित भए।

०६५ सालमा उनी नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भए। संसदीय दलको नेतामा चुनिए पनि प्रधानमन्त्री बन्ने धोको अधुरै रह्यो।

उनले प्रधानमन्त्री पदमा १७ पटकसम्म पराजय भोगेको इतिहास छ। ०६७ साउनबाट सुरु भएको प्रधानमन्त्रीको निर्वाचनमा उनले १७ पटक पराजय भोगेका थिए। ०७० मा सम्पन्न संविधान सभाको दोस्रो निर्वाचनमा पौडेल तनहुँ २ बाट पाँचौँपटक निर्वाचित भए।

०७४ सालको निर्वाचनमा पराजित बनेका पौडेल ०७९ मा भने विजयी बने। निरन्तर सत्ताको यात्रामा रहेका पौडेल ०६३ यता पहिलो पटक राजकीय पदमा पुगेका हुन्।

Nabintech