१२ श्रावण २०८१, शनिबार
सल्यानमा ब्लड बैंक सञ्चालनका लागि अक्षयकोष स्थापना

‘अहिले अस्पताल १५ शैयाबाट सञ्चालन भइरहेको छ, यसलाई ५० शैय्याको रुपमा विकास गर्ने लक्ष्य


  • बुद्धि पुन

  • २६ फाल्गुन २०७९, शुक्रबार १२:४९

सल्यान: सल्यानमा ब्लड बैंक स्थापना गरिने भएको छ । ब्लड बैंक नहुँदा बिरामी र बिरामीका आफन्तले सास्ती भोग्दै आएकोमा अब भने जिल्लामा नै ब्लड बैंक स्थापना गरिने भएको हो ।

१५ शैय्याबाट ५० शैय्यामा स्तरोन्नतिको तयारीमा रहेको जिल्ला अस्पतालमा ब्लड बैंक स्थापना हुने भएपछि स्थानीय खुशी भएका छन् । सल्यानमा एउटा जिल्ला अस्पताल, दुईवटा प्राथमिक स्वास्थ्य केन्द्र, ४५ वटा स्वास्थ्य चौकी र दर्जनभन्दा बढी निजी अस्पताल छन् । पाँचौं पटक रक्तदान गर्नुभएका रक्तदाता जयराम सिंहले ब्लड बैंक जिल्लाको आवश्यकता भएकाले छिटोभन्दा छिटो यसको सञ्चालन गरिनुपर्ने बताउनुभयो ।

ब्लड बैंक स्थापना, सञ्चालन तथा व्यवस्थापनका लागि अस्पताल परिसरमा तीनकोठे भवन निर्माणसँगै आवश्यक उपकरणको व्यवस्था भएको जिल्ला अस्पतालमा ब्लड बैंक स्थापनाका लागि नेपाल रेडक्रस सोसाइटी सल्यानले अक्षयकोष स्थापना गरेको छ । फागुन ११ गते नयाँ युगबोध राष्ट्रिय दैनिकमा ‘सल्यानमा छैन ब्लड बैंक ः रगत अभावमा छट्पटाउँदै बिरामी’ शीर्षकको समाचार प्रकाशन भएको थियो । ब्लड बैंक स्थापनाका लागि नागरिक र सञ्चार माध्यमले दिएको दबाबका कारण ब्लड बैंक स्थापनाका लागि अक्षयकोष स्थापना गरिएको हो । हालै सम्पन्न नेपाल रेडक्रस सोसाइटी सल्यानको बैठकको निणर्य अनुसार ब्लड बैंक स्थापनाका लागि नेपाल बंैक लिमिटेड सल्यान शाखामा अक्षयकोष स्थापना गरिएको हो ।

कोषमा तत्कालको लागि शारदा नगरपालिकाले उपलब्ध गराएको एक लाख पचास हजार रुपैयाँ राखिएको र अक्षयकोषमा सहयोग प्राप्त हुने क्रम शुरु भएको नेपाल रेडक्रस सोसाइटी सल्यानका मन्त्री इन्द्रकुमार शर्माले जानकारी दिनुभयो । उहाँले ब्लड बैंक सञ्चालनका लागि रेडक्रससँग आफ्नो छुट्टै बजेट नभएकाले अक्षयकोष मार्फत सञ्चालन गर्ने तयारी गरिएको बताउनुभयो ।

‘जिल्लामा ब्लड बैंक स्थापना गर्नु आजको आवश्यकता हो, भवन र उपकरणको व्यवस्था भइसकेको अवस्थामा जनशक्ति व्यवस्थापन गर्नु चुनौती थियो’- उहाँले भन्नुभयो- ‘अहिले अस्पताल १५ शैयाबाट सञ्चालन भइरहेको छ, यसलाई ५० शैय्याको रुपमा विकास गर्ने लक्ष्य छ, त्यसो भए जिल्लामा रगतको माग पनि धेरै हुन्छ, त्यसैले सेवालाई थप व्यवस्थित गर्न अक्षयकोष स्थापना गरेका हौं ।’

उहाँले अक्षयकोषलाई एक करोडबढी बनाउने लक्ष्य रहेको बताउनुभएको छ । ‘तीनै तहका सरकार, विभिन्न दातृनिकायसँग सहयोग माग गर्छौं, कोषलाई बढाएर एक करोड पुर्‍याउने लक्ष्य छ, त्यसैको व्याजबाट आएको रकमले पुग्नेगरी ब्लड बैंक स्थापना गर्दैछौं’- उहाँले भन्नुभयो । विरामीलाई आवश्यक पर्ने रगतका लागि भौंतारिनु पर्ने बाध्यताको अन्त्य हुने गरी अक्षयकोषमार्फत ब्लड बैंक सञ्चालन गरिने उहाँको भनाइ छ । जिल्लामा मासिक १ सय ५० भन्दाबढी सुत्केरी गराइने जिल्ला अस्पतालमा औसतमा १० जनालाई शल्यक्रियामार्फत सुत्केरी गराउनुपर्छ । उनीहरुलाई मात्र होइन दुर्घटनाका घाइतेको उपचारमा पनि रगत चाहिन्छ । स्वास्थ्य सेवा कार्यालय सल्यानका व्यवस्थापक दशरथ श्रेष्ठले ब्लड बैंक स्थापनाका लागि भवन समेत निर्माण भइसकेको अवस्थामा रेडक्रसले अक्षयकोष स्थापना गरेसँगै ब्लड बैंक सञ्चालनमा टेवा पुगेको बताउनुभयो ।

Nabintech