३१ असार २०८१, आईतवार
झिमरुकमा बयलिन हिँडेको मन

बजारका घरहरु बाक्लै देखिन्थे । मान्छेहरुको चहलपहल देखिन्थ्यो निकै । हामी बसेको झ्यालबाट केही पर बजारको पुर्वपट्टि मोटर हिँड्ने पक्की पुल देखियो


  • अनिल श्रेष्ठ

  • २७ फाल्गुन २०७९, शनिबार १४:०५

बित्थैमा साँढे चार घण्टा एकै ठाउँमा बिताएर बस्नुजस्तो गाह्रो पनि केही होइन । अझ चकमन्न, रातको बढ्दै गइरहेको अँध्यारोको एकान्त र चिसोपन, छिनछिनमा उङ्ने आँखा । घरीघरी बजिरहने रात्रीबसको हर्न र बिस्तारै चहलपहल हराउँदै गइरहेको रात्रीकालीन होटलहरु । सडकछेउमा उभिएर साथीहरु पर्खिरहनुपर्ने योभन्दा उदेकलाग्दो क्षण अरु क्यै छ ?

भिम रानाभाट र नारायण मरासिनीका औंलाहरु मोबाइलका नम्बरहरु थिच्न व्यस्त छन् घरीघरी सुनसान बन्दै गइरहेको त्यो सडकमा उभिएर । खगेश्वर सापकोटा र म ती दुई साथीहरुको व्यग्रतालाई नियाल्दै छौ नजिकैबाट । रातजस्तै मौन देखिन्छन् डा. कृष्णराज अधिकारी ।

‘हैन ए अनिलजी, ती साथीहरुले खै के गरेका हुन् क्या ! फोन पनि उठाउँदैनन्, कस्ता हुन् ! काँ आइपुगे, था पनि दिन्नन् क्या ।’ सडकबत्तीको त्यो उज्यालोमा भिम रानाभाटको निधारको मुजा देखियो ।निरुपाय थियौं सबै ।

छिप्पिदै गइरहेको रातको त्यो चिसोले हामीलाई लखेटुँला झैं ग¥यो । अघि हामीले खाना खाएर निस्केको सिराइचुली होटल पनि यतिबेला बन्द भइसकेको थियो । उतिसारो जाडो शुरु भइसकेको समय पनि होइन यो । तर नजिकै बगिरहेको मस्र्याङ्दी र त्रिशुली नदीले ल्याएको सियाँठले होला मुग्लीङ बजारको रातको समयको यो चोकलाई चिसो बनाइरहेको थियो ।

रात्रीबसहरु हुइँकिएर आउँथे । हाम्रो छेवैनिर रोकिन्थे । हाम्रा आँखाहरु बसका ढोकानिर पुगेर एकैछिन अल्मलिन्थे । बसको ढोकामा उभिएर ‘कहाँ जाने हो ?’ भन्दै कराइरहेको खलासीको एक्लो स्वरले हाम्रा आँखाहरु फेरि त्यहाँबाट लस्कन्थे र पर पुग्थे । निकैबेरदेखि यस्तै गरी मुग्लीङ बजारको चोकको बत्तीको उज्यालोमा हामी पाँच जनको छायाँ चल्मलाइरहेको थियो ।
०००

‘गाडी काठमाण्डौबाट तीन बजे हिँड्ने कुरो छ । मुग्लीङ आइपुग्न सातै बज्ला । तपाईंहरु बेलैमा मुग्लीङ आएर साथीहरुलाई पर्खनुहोला । पोखराका साथीहरुलाई तपाईंले सम्पर्क गर्नुस । बारपाकबाट खगेश्वरजी हिँडिसकेको कुरो छ ।’ दिउँसो विजयराज आचार्यसँग फोन सम्पर्कमा भएको कुरा हो यो ।

कुरो थियो– प्युठान साहित्य परिषदले आयोजना गर्न गइरहेको ‘बृहत् साहित्य महोत्सव, प्युठान–२०७९’ । र, त्यस कार्यक्रमको लागि हामी सहभागी हुँदै थियौं पोखराबाट डा. कृष्णराज अधिकारी, नारायण मरासिनी, भिम रानाभाट, गोरखाबाट खगेश्वर सापकोटा र तनहुँबाट म । कार्यक्रमको मिति र कार्यक्रमको विवरणसहितको तालिका केही दिनअघि विजयराज आचार्यले मलाई फेसबुक मेसेन्जरबाट पठाइसक्नु भएको थियो । त्यसैले पनि त्यो कार्यक्रमको निम्तोले प्युठानको भूमिप्रतिको उत्सुकता र उत्साहले मेरा पाइतालाहरु त्यसै त्यसै उचालिइरहेका थिए । नेपाली कम्युनिष्ट आन्दोलनको केन्द्रभाग, कम्युनिष्ट आन्दोलनको प्रणेता मोहनविक्रम सिंह, राजनीति विचारक र सौन्दर्य चिन्तक मोहन वैद्यको जन्मभूमि रहेको प्युठान जिल्लालाई नजिकैबाट अनुभूति गर्ने यो उपयुक्त अवसरलाई अरु धेरै कार्यक्रमहरुका बिच पनि मैले छाड्न सकिनँ । यो मेरो लागि एउटा साहित्यिक यात्रा मात्र थिएन, प्युठानलाई समस्तमा बुझ्नका लागि एउटा अवसरको योग पनि थियो । उहिल्यै पढेको हुँ मोहन विक्रम सिंहको खण्डकाव्य किताब ‘झिमरुक नदी र चिबेचराको कथा’ । अहो ! कस्तो होला प्युठानमा त्यो झिमरुक नदी र त्यसको किनारमा सधैं छुल्याइँ गरी हिँड्ने त्यो दुष्ट चिबेचरो ।

यो लडाइँ
यो झिमरुक र चिबेचराको लडाइँ
त्यो बेलासम्म चलिरहने छ
जबसम्म धरतीमा
खालि धरतीका पुत्रहरुको
मात्र हक हुँदैन
त्यसकारण यो अनादिदेखि
अनन्तसम्म चल्ने लडाइँ हो
रोकेर नरोकिने लडाइँ हो
जीवन निभ्दछ
तर जीवनको बत्ती बलिनै रहन्छ ।
(मोहन विक्रम सिंह, झिमरुक नदी र चिबेचराको कथा)

यो झिमरुक नदी र एउटा छुद्र चिबेचराको द्वन्द्वको बिम्बात्मक कथा हो । यो सिङ्गो मानव जाति र सभ्यताको कथा हो । किताब पढेदेखि मेरो मनमा एउटा बिम्बले सधैं खेलिरहन्थ्यो । आज त्यही बिम्बले तानिएर म झिमरुक हेर्न जाँदैछु । र, यो साहित्यिक यात्राले मभित्र वर्षौदेखि प्युठानको राजनीतिक आन्दोलनसँग जोडिएका थुप्रै कथाहरुको एउटा रोमाञ्चक कल्पना खेल्दैछ ।

साँच्चै भनुँ भने गएको भदौ महिनादेखि यस्तै साहित्यिक कार्यक्रमहरुको व्यस्तताले दिनहरु बितेका थिए । भदौ ९ गतेखि १६ गतेसम्म भारतको ग्वालियरमा सम्पन्न भएको अखिल भारतीय साहित्य परिषदको अन्तर्राष्ट्रिय ग्वालियर साहित्य उत्सव, भदौ १८ गते काठमाण्डौमा अखिल नेपाल लेखक सङ्घले आयोजना गरेको काव्य गोष्ठी, भदौ २४ र २५ गते आँबुखैरेनी स्रष्टा समाज र आँबुखैरेनी वाङ्मय परिषदको स्रष्टा सम्मान र आँदिमुल शरदकालीन काव्योत्सवले दौडधुप बढाएकै थियो । प्युठानी बालसाहित्यकार विजयराज आचार्यको प्युठान साहित्य महोत्सवको कार्यक्रमको लोभलाग्दो विवरण तालिकासहितको निम्तोले मन त्यसै त्युसै फुरुङ्ग थियो ।

त्यसो त १८ गते काठमाडौको इच्छुक सांस्कृतिक प्रतिष्ठानको काव्य गोष्ठीमै पनि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा. गोपीन्द्र पौडेलले प्युठान साहित्य महोत्सवको निम्तो दिइसक्नु भएको थियो । नजिकिँदै थियो दशैं ।

कार्यक्रमको तालिकामा थियो– असोज ११ गते स्वर्गद्वारीमा कार्यक्रमको उद्घाटन । १३ गते बाग्दुलामा समापन । भित्तेपात्रोले १५ गतेदेखि दशैंको सार्वजनिक बिदाको रातो जनाएको थियो ।

मितिः २०७९/०६/१०
बिहान ठीक ६ बजे काठमाडौबाट प्युठान प्रस्थान, स्वर्गद्वारीमा रात्रीको खानपीन र बास ।

विजयराज आचार्यले पठाउनु भएको कार्यक्रमको विवरणले दिएको पहिलो दिनको जानकारी थियो । तर हिँड्ने भनेको दुई दिनअघि दिउँसो मेरो मोबाइलमा विजय सरको फोन बज्यो, ‘९ गतेको साँझको नाइटबसमा हिँड्ने कुरो भो है । बाटोको कारणले गर्दा १० गते बिहानको हिँडाइले बेलुकी प्युठान पुग्न नसकिने कुरो आयो साथीहरुबाट । पोखराका साथीहरुलाई तपाईंले खबर दिनुस ।’ पोखरा फोन हानें डा. कृष्णराज अधिकारीलाई ।

‘सर, प्युठान भोलि हिँड्ने कुरो आयो । काठमाडौबाट दिउँसो ३ बजेको रात्रीबसको टिकट छ रे । पोखराबाट हिँड्ने साथीहरुले त्यही अनुसार समय मिलाएर हिँड्नु होला । आँबुखैरेनीमा हामी तपाईंहरुलाई पर्खेर बस्ने छौं ।’ ‘हुन्छ । भोलि यहाँबाट हिँड्ने बेला तपाईंलाई फोन गरौँला ।’ कृष्णराज सरले भन्नुभयो ।

९ गते दिउँसो बारपाकदेखि खगेश्वर सापकोटा पनि आँबुखैरेनी आइपुगे । यात्राको कुम्लो काम्लो बाँधेर बसेको हामी दुवैलाई सँगै देखेपछि मेरो पसलको आडैमा रहेको शुभकामना खाजा घरका मामा गणेशकुमार श्रेष्ठ भन्दै थिए, ‘हैन यी कविहरु फेरि कता हो ? कति हिँड्न सक्या ! दशैंको खर्चपर्च आउँछ ?’

‘आउँछ, आउँछ । एक कन्तुर कविता आउँछ । मासु खान्न क्यारे यल्ले । दशैंमा त्यै कविताको भुटन बनाउँछ, खान्छ ।’ दैलोमा उभिएर सानुकान्छा श्रेष्ठले ठट्टा गरे । वरिपरिकाहरु मज्जाले हाँसे । हामी पनि हाँस्यौं । हामीलाई हेर्दै मुसुमुसु हाँसे सानुकान्छा काका ।

उनले जिस्क्याएको पनि रमाइलो मानें । जिस्क्याउन पनि कसरी शब्दहरु आ’को । यी दुई अदुवाखर्के नेवार मलाई कहिलेकाहीँ कतै हिँड्न लागेको देख्यो कि यसैगरी परिहास गरिरहन्छ । दुवै छिमेकी नातेदार हुन् । उनीहरुसँग गफिएरै ५ बज्यो । पोखराबाट साथीहरु आइपुगेपछि हामी मुग्लीङ हिँड्यौं ।
०००

‘तपाईं आविष्कार कलालाई फोन हान्नु त ।’ भिम रानाभाट मलाई भन्दै हुनुहुन्थ्यो । आविष्कार कला विजयराज आचार्यले हामीलाई नाम दिएको सम्पर्कको साथी हुनुहुन्थ्यो । यसअघि म उहाँसँग परिचित थिइनँ । फोन सम्पर्कमा उहाँले बस नागढुङ्गाबाट हिँडेको जानकारी दिनुभयो । उहाँहरुले तीन बजे हिँड्ने समय दिएको बस छ बज्दा पनि काठमाडौ छाडिसकेको थिएन । यसै पनि उहाँहरु ढिला हिँड्नु भएको कुरा थाहा भयो । त्यसपछि उहाँलाई फोन लागिरहेको थिएन । कहिले फोन सम्पर्क हुँदैनथ्यो । कहिले फोनको घण्टी गइरहेको हुन्थ्यो, उठ्दैनथ्यो । भिम र नारायण मरासिनीको फोन पनि उस्तै थियो । फोनले पनि एउटा अकर्मण्यता थप्यो ।

‘कति ढिला गरेका हुन् है साथीहरुले ।’ भिम रानाभाटको छटपटी उस्तै थियो । पर्खिनुपर्ने कुरा त छँदैछ, मेरो त अब मोबाइलको चार्ज पनि सकिँदै छ । चार्जलाई फारु गर्न मोबाइललाई थिचिरहन पनि कम गर्नुपर्ने भयो । बस आइपुग्न लाग्ने समयको अनिश्चितता अझै कति हो !
०००

‘हेल्लो । हजुर, हजुर ।’
नारायण मरासिनीको फोनमा एउटा संवाद चल्यो । ‘ए । हुन्छ, हुन्छ ।’ नारायण सरको छोटो फोन संवाद टुङ्गियो ।‘समीरको फोन ।’ नारायण सरले भन्नुभयो, ‘बसले रमाइलो डाँडामा खाना खान रोकेछ । बस रोकेको ठाउँमा मोबाइलको नेट लाग्दो रैनछ । खाना खाएर बस हिँडिसक्यो रे । दशपन्ध्र मिनेटमा आइपुग्छौं भन्नुभा’छ ।’

यो फोन संवादले हामीलाई राहत दियो । हाम्रा आँखाहरुले अब चनाखा भएर बसमा लेखिएका नामहरुलाई पछ्याउन थाले । ‘रोल्पा–काठमाडौंको बस हेर्नुस है ।’ मरासिनी सर भन्दै हुनुहुन्थ्यो । एकैछिनपछि एउटा बस आएर हामी उभिएको ठाउँनिर रोकियो । आविष्कार कला बसबाट ओर्लिएर हामीनिर आइपुग्नु भयो र आफ्नो परिचय दिनुभयो । हामी चढेपछि बसले आफ्नो गति लियो ।
०००

हैन, यो गाडीले काठमाण्डौका सबै रोल्पाली बोकेर ल्या’छ क्या हो ! ढोकाबाट अघि बढ्ने बाटो त कता हो, ढोकामै पाइताला अड्याएर उभिने ठाउँ छैन । बसको सिटमा बस्नेहरु त भइहाले । ढोकादेखि पुछारसिटसम्म उभिनेहरु उस्तै, क्याबिनमा बस्नेहरु उस्तै । अघि बस पर्खिदाको अत्यास उस्तै, अहिले बस चढिसकेपछिको अत्यास उस्तै । ए आम्मै, यही कन्तबिजोगले हामीले रातभरिको यात्रा तय गर्नुपर्ने हो ! मनको अत्यास उस्तै ।

‘यो बसको भाइ खै ? हामीलाई सिट मिलाउनु प¥यो ।’ भिम सर कराउन थाल्नु भयो । सँगै आविष्कार कला गाडीको सहचालकसँग टिकटमा बुकिङ भइसकेका हाम्रा सिटहरु खाली गरिदिन भन्दै हुनुहुन्थ्यो ।

‘पछाडि सिटमा टिकट नहुनेहरु उठिदिनुस है ।’ सहचालक कराउँदै थिए । ‘ल तपाईंहरु पाँच जना पछाडि जानुस् त ।’ सहचालकले हामीलाई त्यो भीडमा अगाडिबाट पछाडितिर घचेडे । ‘ए अनिलजी ।’

त्यो घचेडाइसँगै मैले आवाज आएको सिटतिर हेरें । प्रमोद प्रधान, मुस्कुराउँदै हुनुहुन्थ्यो । अघिसम्म को, कहाँ, के, यादै थिएन । त्यसपछि यी तिर्मिर आँखाहरुले त्यहाँ देखिरहे ठाकुर बेलबासे, प्रोल्हास सिन्धुलीय, प्रगल्भा, समीर सिंह, भावेश भुमरी, दिपेन्द्रसिँ थापा, युवराज नयाँघरे, बैरागी जेठा । अनि अरु पनि हुनुहुन्थ्यो अपरिचिति तर आत्मीय आँखाहरु । त्यसपछि त के थियो, त्यो पुरै बसको वातावरण साहित्यको सभाहल जस्तै लागिरह्यो ।
०००

बिहान ७ बजे बसले बनबासाको उकालो लाग्यो । जङ्गल देखिन्थ्यो बाक्लै । झ्यालबाट बाहिर देखिने भनेको तिनै जङ्गलका बुट्यानहरु थिए । नागबेली थियो सडक । तल तल हेर्दा उही दोहारिँदै बेरिएको सडक देखिन्थ्यो । रातभरिको अनिदोेले घरीघरी झप्किरहेको आँखाले ती सुन्दर दृश्यहरुलाई टिप्न सकिरहेको थिएन । आँखामा अनिद्राको पिरो थियो ।

सुस्त थियो बसको गति । ‘यतिन्जेल त गाडीले भालुवाङ काटिसक्नुपर्ने हो ।’ बसमा रहेका बाटोसँग परिचित यात्रुहरु भन्दै थिए ।

‘भालुवाङ पुग्न अझै लाग्छ दुईघण्टा ।’ भन्दै थिए कोही, ‘ड्राइभरको यो छाँटले चार बजे लिवाङ पु¥याउँछ । काम विशेष परेर हिँड्ने मान्छेहरु हुन्छन् । बेलामा पुग्न हिँड्या हुन्छन् । यिनीहरुलाई अरुको समयको ख्याल राख्नु पर्दैन ?’ बसभित्र ड्राइभरप्रति उनीहरुको असन्तुष्टि छरियो ।‘ए खलासी भाइ, धानखोलामा गाडी रोक है ।’ ‘यसो पानी भएको शौचालय हेर ।’ खलासीसँग यात्रुहरु भन्दै थिए ।

यो बिहानको बेला ड्राइभरले बाटोमा देखिने होटलहरु हेरेर शौच र चिया नास्ताको लागि गाडी रोक्छ होला भन्ने अघिदेखि सबै यात्रुहरुलाई लागेको थियो । तर गाडी कतै पनि नरोकिएपछि यात्रुहरु खलासीसँग कराए । एकछिनपछि केही होटलहरु देखिए । होटलहरुमा धानखोला लेखिएको साइनबोर्डहरु थिए । ‘अब गाडी रोकिन्छ ।’ मेरो मनले सोच्यो ।

तर गाडी रोकिएन । अगाडि बढ्यो । केही मान्छे आफू बसेको सिटबाट जुरुक्क उठे र खलासी अडेसिएर उभिएको क्याबिनको ढोकालाई ड्याम्म ड्याम्म हिर्काए । धानखोला काटेर बसले तीनचार मोड परको बाटो छिचोलिसकेको थियो । ज्याद्रो रैछ ड्राइभर । निकैबेरपछि गाडी एउटा मोडनिर रोक्यो । गाडीबाट ओर्लिएर केही मान्छे हुरुरुरु ड्राइभरनिर पुगे र घेरा हाले । उनीहरु ड्राइभरसँग आक्रोशित थिए ।स्थिति एकैछिन आवेगपूर्ण बन्यो । ‘के मान्छेले पिसाब गर्नु पर्दैन ?’ ‘दिसा गर्नु पर्दैन ?’

‘बसमा बिरामी छन् । केटाकेटी र बुढाबुढी छन् । उनीहरुले औषधि पानी खानु पर्दैन ? तिमीले मात्र यो बाटोमा गाडी चलाका छौ ? कि ठाउँमा बेलामा पुग्ने गरी हिँड्नु प¥यो । रातीको यति लामो बाटो हिँड्दै छौं । दिसा, पिसाबले गारो साँगुरो पारेको हुन्छ । गाडी चलाएपछि यात्रुको असुबिस्ता हेर्नु पर्दैन ? तिमी त यात्रुमाथि ज्यादती गर्दा रैछौ । तिम्रो यो व्यवहार ठीक हैन हेर भाइ ।’ उनीहरु ड्राइभरसँग चर्काचर्की गरिरहेका थिए ।

केही यात्रुहरु हातमा भएको पिउने पानीको बोतल लिएर झाडीभित्र पसे । निकैबेरदेखि गाडीभित्र शौचको मार खपिरहेका यात्रुहरुलाई केही सहजता मिल्यो । उनीहरुका अनुहार शान्त देखिन्थे र शरीरले हलुका महसुस गरेको भान देखिन्थ्यो । ‘ल, जाउँ जाउँ । यहाँ झन् अबेर गरेर हुँदैन ।’ सहजकर्ताहरु बोले स्थितिलाई केही मत्थर बनाएपछि गाडी हिँड्यो ।
०००

बसको सबैभन्दा पछिल्लो सिटको अघिल्लो एकापट्टिको दुई सिटमा भिम रानाभाट र म थियौं । अर्कोपट्टि डा. कृष्णराज अधिकारी र खगेश्वर सापकोटा हुनुहुन्थ्यो । नारायण मरासिनी सायद अलि अघिल्तिर हुनुहुन्थ्यो क्यारे । म बसेको सिटभन्दा पछिल्लो सिटमा एकजना दम्पती थियो । काखमा भर्खरको नानी थियो उनीहरुको । उज्यालो भएदेखि निकै बजिरहेको थियो उनीहरुको मोबाइल । लोग्ने, स्वास्नी पालैपालो गरी मोबाइलमा बोलिरहेका थिए ।

‘हामी आउँदै छौं । गाडीले हिँडाउने कुरा, अब कति बेला पो त्याँ आइपुग्छौं ।’ मोबाइलमा भएको कुराकानी सुन्दा निकै हतासमा थिए उनीहरु । उनीहरुको स्वरमा संवेदना थियो, ‘….. आइरहेका छौँ त, गाडीमा छौं । गाडीले ढिलो गरिदिएको छ । हिजो ३ बजे गाडी चढेको । अहिलेसम्म बाटैमा छौं । भालुवाङ आइपुग्दै छौं ।’ सायद उनीहरु निकै दबाबमा थिए ।

‘फोनले पनि हैरान बनायो तपाईंलाई ।’ उनीतिर फर्किएर भनें उनलाई । उनको आँखामा एकप्रकारको शून्यता देखिन्थ्यो । मानसिक तनावमा देखिन्थे ।

‘हेर्नुस न घरमा हिजो बुबा बित्नु भयो । आफन्तका फोनहरु हुन् यी । आफू चढेको गाडीको गति यो छ, उनीहरु छिटो आइज भन्छ । गाउँका मान्छेहरु कुरा बुझ्दैनन् । ढिला हुने भए शव उठाउँछौं भन्छ । यहाँ आइसकेको मान्छे, बाउको मुख नहेरी कसरी उठा भन्नु मैले ।’ उनको स्वर चिसो थियो । भन्दै थिए, ‘हिजै दोलखाबाट हिँडेको । जागिर खाएपछि सबै कुरा मिलाएर हिँड्नु प¥यो । बिदा नमिलाइ हिँड्न पाइएन । साथीलाई डिउटी खप्ट्याएर हिँडेको । काठमाडौं आइपुग्दा ढिलो भयो । बिहानै पुगौंला भनेको, बसको यो चाला छ ।’

नेपाल प्रहरीका जागिरे रहेछन् उनी । प्युठानको भिङ्ग्री नजिकैको गाउँ रैछ उनको । जागिरको क्रममा दोलखामा रहेछन् । उनका कुराहरुले त्यहाँ हामी सबैलाई नरमाइलो बनाइरह्यो ।

‘नआत्तिनु अब । कहिलेकाहीँ परिस्थिति आफ्नो अनुकूल रहन्न । यात्रामा हिँड्दा आफूले भनेको समय हुन्न । गाडीको गुरुजीलाई कतै पनि नरोक्नु भनुँला हामी पनि ।’ ढाडस दिनु भयो भिम रानाभाटले ती भाइलाई ।
०००

भालुवाङमा विजयराज आचार्य हामीलाई पर्खेर बसिरहनु भएको थियो । केही दिनदेखि काम विशेषले उहाँ काठमाडौं छाडेर दाङतिर हुनुहुन्थ्यो । भालुवाङमा भेटेर सँगै प्युठानको कार्यक्रममा जाने कुरा थियो । उहाँ चढ्नु भएपछि बस भालुवाङबाट उत्तरतिर लाग्यो । गाडीबाट केही छिन पर परसम्म राप्ती खोला देखिइरह्यो । बिहानको चिसो हावाले राप्ती खोला बगरका काँसहरु झुलिरहेका थिए ।

वनजङ्गल ।
बस्ती । बस्तीका घरहरु ।
खेत, बारी, गाईगोठ ।
चौपाया ।
फेरि जङ्गल ।
अनि फेरि गाउँ,
मानिसहरु ।
सडक छेउका स–साना होटल ।

बसको झ्यालबाट छिनछिनमा फेरिँदै गरिरहेका यात्राका यी दृश्यहरुले मेरो आँखालाई निकै उत्सुक र उत्सवपूर्ण बनाइरह्यो । तर्पाया, तर्पाया हुँदै विस्तारै उकालिँदै गरेको पहाडको त्यो सडकमा मेरो मन बुर्कुसी मारेर कुदिरहेको थियो । र, यो यात्राले त्यसै त्यसै स्वप्निल बनिरहेका थिए मेरा आँखा ।

फेरि देखियो एउटा सानोसानो बजार । सडकछेउका पसलहरुमा ‘सरुमारानी’ लेखिएका साइनबोर्डहरु देखिए । कति प्रेमासक्त शब्द, सरुमारानी । र, यो शब्दको आसक्ति लिएर बसेको यो रुपसी बजार ।

सरुमारानी
तिमी निदाएपछि
मेरो सिङ्गो आकाशमा
लुकामारी खेल्ने
चुलबुले जून निदाउँछ ।

मलाई झट्ट कवि सुरेन्द्र देवकोटाको एउटा चर्चित कविताको याद आयो ।

खस्दै गरेको अलिकति उज्यालो
आकाशमै हराउँछ
बाँदरले कोपर्न थाल्छ
दुधिलो घाम
……………….
सरुमारानी
मेरो जोर परेलीहरुमा
तिम्रा जोर ओंठहरुले चुमेर
नछेक्नु अगाडिको उज्यालो बाटो
(तिमी निदाएपछि)

मैले निकै अघि पढेको हुँ यो कविता । मलाई निकै मन छोएको कविता हो यो । कवि सुरेन्द्र देवकोटाको यो कविता र अहिले हामीले देख्दै गरेको र टेक्दै गरेको सरुमारानीको निकटता कहाँनिर छ, थाहा छैन । तर पनि आज यो कविताले मेरो मस्तिष्कमा सरुमारानीको बिम्बलाई पुनसिर्जन गरिदिएको छ ।
०००

‘ल है, चकचके झर्नुस् ।’ गाडीको खलासी करायो । ‘चकचके !’ हामीलाई रमाइलो लाग्यो यो बजारको नाम । कहिलेकाहीँ यात्रामा देखिने यस्ता नामहरुले पनि ठाउँविशेषको महत्त्व राख्छ र यात्रालाई यादगार बनाउँछ ।

‘हैन, निकै चकचक गर्छन् कि क्या हो हँ यहाँका मान्छेहरु ?’ अघिल्लो सिटबाट नारायण मरासिनीको ठट्टाको मसिनो स्वर निस्क्यो ।गललल हाँसे साथीहरु ।

बजारका घरहरु बाक्लै देखिन्थे । मान्छेहरुको चहलपहल देखिन्थ्यो निकै । हामी बसेको झ्यालबाट केही पर बजारको पुर्वपट्टि मोटर हिँड्ने पक्की पुल देखियो । चल्तीको पुल लाग्थ्यो । पुलमा गाडीको आवतजावतको चाप थियो । माथिबाट बगेर आउँदो रैछ माडी र झिमरुक । र, यी दुई नदीहरु यहाँ आइपुगेर ऐरावती बन्दो रैछ । स्थानीयहरु माडीलाई माण्डवी र झिमरुकलाई धर्मावती भन्दा रैछन् धार्मिक आस्थाका शब्दहरुले । माडी र झिमरुक दुई दिदीबहिनी । र, यी दुई दिदीबहिनीको लोककथा निकै प्रचलित रैछ प्युठानमा । यी दुई नदीहरुले सिंचित रैछ प्युठानको माटो । ‘खलङ्गा जाने पुल यही हो । स्वर्गद्वारीबाट फर्किएर भोलि हामी यही पुल तर्छौ ।’ आविष्कार कला हामीलाई भन्दै हुनुहुन्थ्यो ।
०००

आँबुखैरेनी, तनहुँ

Nabintech