५ जेष्ठ २०८१, शनिबार
महेन्द्र बहुमुखी क्याम्पसमा ९ विद्यार्थी संगठनको ताला

स्ववियू निर्वाचन प्रभावित, चार विद्यार्थी संगठनको विरोध


  • टाइम्स संवाददाता

  • २७ फाल्गुन २०७९, शनिबार २१:१३

बाँके: स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को मनोनयनका दिन माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीसहित ९ विद्यार्थी संगठनले नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा तालावन्दी गरेकाछन् । मनोनयन दर्ताको विहान करिव ११ बजेको समयमा संयुक्त विद्यार्थी संगठनको नाममा विज्ञप्ती निकालेर ९ विद्यार्थी संगठनले क्याम्पसमा तालाबन्दी गरेको सहायक क्याम्पस प्रमुख भूवनेश्वर लामिछानेले बताए ।

स्ववियू निर्वाचनलाई स्वतन्त्र र निश्पक्ष बनाउन माग गर्दागर्दै क्याम्पस प्रशासनले विद्यार्थीको विवरण चुहाएको आरोप विद्यार्थी संगठनले लगाएका छन् । ‘निर्वाचन समितिको बैठकमा विद्यार्थीको विवरण गोप्य राख्न र निर्वाचनलाई स्वच्छ, निश्पक्ष र मयरहित बनाउन जोड्दार माग गरेका थियौँ, तर क्याम्पस प्रशासनले विवरण चुहाएर निर्वाचनलाई प्रभाव पार्ने गैर कानूनी काम गरेको छ,’ ९ विद्यार्थी संगठनले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

विद्यार्थीको विवरण चुहाउनेलाई कानून बमोजिम कारवाही गर्न पनि विद्यार्थी संगठनले माग गरेका छन् । विद्यार्थी संगठनले भनेका छन्, ‘क्याम्पस प्रशासनबाट अशोभनिय काम भएको छ । विवरण चुहाएको विषय छानविन गरि दोषिलाई कारवाही निर्वाचन प्रक्रिया तत्काल अगाडी बढाउन माग गर्दछौँ ।’

मनोनयनकै क्रममा क्याम्पस प्रशासनमा ताला लगाउने कार्य न्यायोचित नभएको भन्दै एमाले निकट अनेरास्ववियू र कांग्रेस निकट नेपाल विद्यार्थी संघ लगायत विद्यार्थी संगठनले विरोध गरेका छन् । अनेरास्ववियूका सभापति उम्मेदवार माधव खत्रीले निर्वाचनको मुखमा ताला लगाउनु हार्ने मानसिकताको उपज भएको बताउँछन् । ‘निर्वाचनमा हारजित हुन्छ । निर्वाचन विथोल्ने गरि ताला लगाउनु हारको उपज बाहेक अरु हुन सक्दैन,’ उनले भने, ‘क्याम्पसलाई स्ववियू विहिन बनाउन मिल्दैन । निर्वाचनको माहोल बनाउन क्याम्पस प्रशासनसँग अनेरास्ववियू जोड्दार माग गर्दछ ।’

नेपाल विद्यार्थी संघ महेन्द्र बहुमुखी क्याम्पसका नेता जिवनजंग शाहीले स्ववियू निर्वाचन विथोल्न क्याम्पस प्रशासनमा गरेको तालावन्दी विद्यार्थीको हित विपरित भएको बताए । उनले जुनसुकै हालतमा निर्वाचन गराउने पक्षमा नेविसंघ रहेको बताए । ‘लोकतन्त्रमा विश्वास राख्नेहरु निर्वाचनबाट भाग्न मिल्दैन । असन्तुष्टिलाई वार्ता र छलफल टुंग्याउन सकिन्छ । तालावन्दी गर्नु हारको मानसिकताबाट ग्रसित भएको बुझ्नु पर्छ,’ उनले भने ।

अनेरास्ववियूका माधव खत्री, नेविसंघका जिवनबहादुर शाही, अखिल क्रान्तिकारीका टरेन्द्र विक, राप्रपा निकट राप्रवि संघ र मुकेशसिंह कुँवरले चुनावी कार्यक्रम अविलम्ब सुरु गर्न क्याम्पस प्रशासनलाई ज्ञापन पत्र बुझाएका छन् । ‘तालावन्दी प्रति आपत्ती जनाउँदै उनीहरुले तालाबन्दी सिंगो विद्यार्थी र क्याम्पसको हित विपरित भएको हाम्रो ठहर छ,’ प्रशासनलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख छ ।

Nabintech