१३ बैशाख २०८१, बिहीबार
संरक्षण नहुँदा गिद्ध सङ्कटमा

गिद्ध संरक्षणका लागि तीनवटै तहका सरकारले ठोसरूपमा आवश्यक कार्यक्रम सञ्चालन गर्नुपर्ने


  • रासस 

  • ३० फाल्गुन २०७९, मंगलवार ०७:४२

बैतडी: बैतडीसहित सुदूरपहाडका पहाडी जिल्लामा प्रकृतिको कुचीकारका रूपमा रहेका लोपोन्मुख पक्षी गिद्ध संरक्षण नहुँदा सङ्कटमा परेका छन् । बासस्थानको समस्या, जलवायु परिवर्तन, औषधिको प्रयोग र आहाराको अभावले गिद्ध सङ्कटमा परेका हुन् । यहाँको पाटन नगरपालिका–८ स्थित सिद्धनाथधाम क्षेत्र, पाटनकै वडा नं ३, ४, ८, ९ र १०, सिगास गाउँपालिका–७ र ८ र पुर्चौडी नगरपालिकाका केही क्षेत्र गिद्धको मुख्य तथा उपयुक्त बासस्थानका रूपमा लिइन्छ ।

पछिल्लो समय मुख्य बासस्थान क्षेत्रमै गिद्ध देखिन छाडेका नेपाल पक्षी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल डगौराले बताए । विभिन्न अध्ययन तथा अनुसन्धानका अनुसार पछिल्लो केही समययता गिद्ध मुख्य बासस्थानमै देखिने छाडेका छन् । उनले भने, “अतिसङ्कटापन्न सूचीमा रहेको गिद्धको संरक्षण हुन नसक्दा सङ्कटमा परेका छन्, केही वर्षयता गिद्ध कम सङ्ख्यामा देखिन थालेका छन्, पहाडी क्षेत्रमा गिद्ध सङ्कटमा पर्नु आगलागी र आहारा अभाव मुख्य कारण हो ।”

फागुनदेखि जेठसम्म प्रजनन गराउने समयमा रहेकाले यही समयमा आगलागीका घटना बढ्ने गरेकाले गिद्ध लोप हँुदै गएका हुन् । उनले भने, “प्रजनन समयमा आगलागीका घटना बढी हुने गरेकाले गिद्ध  सङ्कटमा परेका छन्, आहार र बासस्थान कमी भएपछि पलायन हुने गर्दछन् ।”  प्रायः सिमलको रुखमा गुँड बनाउने गिद्धका लागि गुँड बनाउने ठुल्ठूला रुख नभएकाले लोप हुँदै गएको बताइन्छ ।

यसका साथै पछिल्लो समयमा डाइक्लोफेनेकसँगै किटोप्रोफेन, निमुस्लाइड (जनावरमा दुखाइ कम गर्ने औषधि)जस्ता औषधिको प्रयोगले पनि गिद्धको स्वास्थ्य प्रतिकूल असर पुर्याउने पनि गिद्ध संरक्षणमा चुनौती थपिएको चराविज्ञको भनाइ छ । साथसाथै आहाराको खोजीमा रहेका गिद्ध हाइटेन्सन विद्युत् लाइनमा ठोक्किएर मर्ने गरेका विज्ञ डगौराको भनाइ छ ।

चरा विज्ञका अनुसार बैतडीमा हिमाली, हाडफोर, गोब्रे (सेतो गिद्ध), राजगिद्ध, सुनगिद्ध, डङर तथा सानो खैरो गरी आधा दर्जन बढी गिद्ध बस्ने गरेका छन् । गिद्ध आफैँले सिकार नगरीकन मरेका जनावर तथा सिनो खाने गर्दछन् । फोहर तथा हानिकारक मासुजन्य सिनोलाई खाएर वातावरणलाई प्रदूषित बनाउनबाट जोगाउने गरेका छन् । गिद्धमा हानिकारक तत्वलाई पनि पचाउन सक्ने क्षमता हुने भएकाले वातारवरणलाई पनि स्वच्छ राख्ने काम गर्दछ ।

गिद्ध संरक्षणका लागि तीनवटै तहका सरकारले ठोसरूपमा आवश्यक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता छ । सरकारबाट गिद्ध संरक्षणका लागि छुट्टै कार्यक्रम नभएकाले पनि यस्तो समस्या आएको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीमप्रसाद कँडेलले बताए । उनले भने, “इकोसिस्टम जोगाउन गिद्धको ठूलो भूमिका छ, गिद्ध संरक्षणका लागि सरकारले ठोस कार्यक्रम ल्याउन सकेको छैन ।”

गिद्ध संरक्षणका लागि कुनै पहल नभएको र यसका लागि सरकारी र स्थानीय तवरबाट पहल हुनसके लोप हुँदै गएका गिद्धको संरक्षण हुने  दोगडाकेदार गाउँपालिका–३ श्रीकोटका हेमराज गिरीको भनाइ छ । उनले भने, “गिद्धले मरेको सिनो खाएर प्रकृति सफा राख्ने भएकाले मानव स्वास्थ्यका दृष्टिकोणले पनि यसको संरक्षण जरुरी छ, यसका लागि गिद्धको संरक्षण आवश्यक छ ।” गिद्ध संरक्षण गर्न वन कार्यालयले सिमलको रुख कटानीमा रोक लगाई नयाँ वृक्षारोपणको अभियानमा सिमललाई प्राथमिकता दिनुपर्नेमा गिरीको जोड छ ।

चुच्चो, नाङ्गो तथा लामो गर्धन देख्दा घिनलाग्दो र भद्दा जिउडाल रहे पनि यो पर्यावरणका लागि ठूलै भूमिका भएको पक्षी हो । यसको ठूलो धार्मिक महत्व पनि छ । गिद्धले जनावरको सिनो र फालेको मासुजन्य फोहर पदार्थ खाएर वातावरणलाई प्रदूषणमुक्त, दुर्गन्धमुक्त तथा रोगमुक्त बनाउन भूमिका खेलेको हुन्छ ।

गिद्ध पर्यावरणको शुद्धीका साथै प्राणी मात्रका लागि पूजनीय रहेको उनको भनाइ छ । धार्मिक र सांस्कृतिक आस्थासँग पनि जोडिने गिद्धलाई शनिदेवताको वाहनका रूपमा पुजिन्छ । प्रसिद्ध धर्मग्रन्थ रामायणमा रावण राक्षसले सीतालाई हरण गरी लङ्का लैजाँदा सीतालाई जोगाउन गिद्ध अन्तिम श्वास रहुञ्जेल लडेको उल्लेख छ ।

Nabintech