३० चैत्र २०८०, शुक्रबार
सहकारीमा किन देखिए समस्या र के हो समाधान ?

  • रामचन्द्र उप्रेती

  • १ चैत्र २०७९, बुधबार १०:३५

नेपालमा पञ्चायती व्यवस्थाको अन्त्य भएपछि विस्तारित भएको धेरै क्षेत्रमध्ये सहकारी क्षेत्र पनि एक हो । छोटो समयमा यसको जति विस्तार भयो यसको सही व्यवस्थापन हुन नसक्दा यो अभियानमा पटक पटक बेतिथि र विकृति पनि देखा पर्‍यो । यही विकृतिका कारण कतिपय सर्वसाधारणको सहकारीमा भएको सम्पत्ति जोखिममा पर्न गयो ।

धेरै सहकारीहरू जोखिममा पर्नुको मुख्य कारण सहकारी संस्थामा भएको सम्पत्तिको सन्तुलन नमिलेर हो, सही व्यवस्थापन नभएर हो । एउटा समयमा सहकारीमा तरलता बढी भयो अर्थात् निक्षेप धेरै भयो । यसरी निक्षेप भएको रकम सञ्चालक र कर्मचारीले सुझबुझ नपुर्‍याई लगानी गरे, भएको यति नै हो । कसैले निजी व्यापार व्यवसायमा लगानी गरे, कसैले संस्थाकै व्यापारमा लगानी गरे, कसैले कमसल धितोमा आफ्नालाई लगानी गरे, कसैले आफै चलाए, कसैले बिना धितोमा लगानी गरे, कसैले स्थिर सम्पत्ति घरजग्गामा अधिक लगानी गरे, कसैले आम्दानी नहेरी खर्च गरिरहे । यस्तै यस्तै भयो ।

सहकारीमा कर्मचारी जागिर खान गए । सञ्चालक नेता हुन गए । राजनीतिक भागबन्डा मिलाएर नेता भए । सहकारीको कारोबार बिग्रिएको जिम्मा कसैले लिएनन् भने त्यस्ता सहकारी अलि चाँडै सङ्कटमा हेलिए । कतिपय प्रारम्भिक सहकारीहरू लहडमा खोलिएका थिए । कतिपय सङ्घहरू चुनावमा आफ्नो पक्षलाई भोट हाल्न मात्र खोलिएका थिए । लहडमै खोलेको भए पनि सहकारीमा पैसा जम्मा हुन थाल्यो । पैसा के गर्ने खासै थाहा थिएन जे आइलाग्यो त्यही गर्दै गएकाले अहिलेको अवस्था आयो । यस्ता सहकारीमा केही टाठा बाठाले ल्याएको योजनामा अरूले ‘हो ! हो !’ भन्दै गए । धेरैलाई केही थाहा नै भएन सहकारी सङ्कटमा पुगेको । जब समस्या सार्वजनिक हुन थाल्यो तब मात्रै आफू सञ्चालक भएको सहकारीमा समस्या आएको थाहा पाउने सञ्चालक थुप्रै छन् ।

सहकारीमा सञ्चालक भएको १५–२० वर्ष भएकालाई पनि सहकारीका सिद्धान्त कति वटा छन् त्यो नै थाहा नभएको अवस्था समेत छ । त्यसको पालनाको कुरा त भन्नै परेन । सहकारीका सिद्धान्त, मूल्य मान्यता पढाउँदै हिँड्ने कतिपय नेताका सहकारीमा नै बेथितिको चाङ थुप्रिएको छ । कतिपय नेताका सहकारीमा सुशासनको नितान्त अभाव छ । यसरी सहकारीमा समस्या गहिरिनुमा दुई वटा समस्या महत्त्वपूर्ण छन् एउटा नितान्त ज्ञानको अभाव र अर्को सुशासनको अभाव । यो सच्याउन सकिने विषय हो । तर इच्छा शक्ति चाहिन्छ ।

सहकारी अभियानलाई यथास्थितिमा छाड्दा सबैभन्दा धेरै क्षति सहकारीसँग जोडिएका आम नागरिक र सहकारी अभियानमा लागेका सहकारी नेता कार्यकर्तालाई नै हुन्छ र हँुदैछ त्यसैले यो अभियानलाई सुधार गर्न पनि सहकारी अभियानमा जोडिएका आम नागरिक सहकारीका सदस्य, सहकारीका सञ्चालक, कर्मचारी, सहकारी नेताहरू नै लाग्नुपर्छ । यसका लागि सबैभन्दा पहिला आफूmभित्रको शुद्धता पहिलो सर्त बनाउनुपर्छ । हामीभित्रका खराबलाई सुधार्नुपर्छ । सुधार्ने अभियानमा प्रतिबद्धता, व्यवहारमा परिवर्तन, इमानदार प्रयास, पारदर्शिता, वित्तीय अनुशासन, नीति विधिको पालना, सिद्धान्त र मूल्य मान्यताको अनुसरण, नियामक निकायको सक्रियता आदि महत्त्वपूर्ण पक्ष हुन् । तर यी कुरा कुनै नयाँ र कसैले थाहा नपाएर सहकारी बिग्रिएको होइन । यो जानेर पनि पालना नगरेर र नगराएर भएकाले सहकारी धेरै समस्यामा परेका हुन् । त्यसैले यहाँ समस्या भनेको ज्ञानको भन्दा धेरै व्यवहारको हो । त्यसैले अलि कठोर शब्दमा भन्दा सुध्रिन सक्नेलाई सुधार गरेर लिएर जाने र सुधार्न सकिँदैन भने सँगै लिएर हिँड्न छाड्नुपर्छ । तिनलाई यी खराब हुन् यी सुध्रिँदैनन्, सुधार्न सकिँदैन, नसुध्रिने भए भनेर खराबको सूचीमा राख्नुपर्छ । त्यसो गर्दा खराब र असलको पङ्क्ति छुट्टिन्छ । जो आम मानिसलाई छुट्याउन सजिलो हुन्छ । अहिले त सबै उस्तै हुन् भन्ने भ्रम सिर्जना भएर सहकारी अभियानमा नै अन्योल र अविश्वास देखा परेको अवस्था छ । जतिसक्दो चाँडो यो अवस्थाबाट सहकारी अभियानलाई मुक्त गर्नु सहकारीका शुभचिन्तक सबैको कर्तव्य हो ।

अलि यथार्थ र कठोर भएर भन्ने हो भने सहकारीमा नजानेर आर्थिक कारोबार बिग्रिएकालाई सुधार्नु र सिकाउनुपर्छ, जिम्मेवार बन्न प्रेरित गर्नुपर्छ । तर, जानाजान नीति नियम उलङ्घन गरेर स्वार्थवश संस्थालाई हानी पुग्ने गरी काम गर्ने संस्थाका हर्ताकर्ता सञ्चालक र कर्मचारीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । बदमासी गरेको भेटिएमा त्यस्ता सञ्चालक र कर्मचारीको सम्पत्ति रोक्का राखेर असुली प्रक्रिया सुरु गर्नुपर्छ । यस्ता कतिपय सञ्चालक र कर्मचारीले राजनीतिक पहुँचको आधारमा पदको दुरुपयोग गरेर सहकारी जोखिममा पारेर सदस्यको निक्षेपको दुरुपयोग गर्नेलाई सम्मान गर्न जरुरी छैन । अलि कठोर नभईकन सहकारी अभियान सुध्रिने वाला छैन । सहकारीमा सिधासाधाको पैसामा धूर्त र टाठा बाठाले रजाइँ गर्ने अवस्थाको अन्त्य गरेर नै सहकारी अभियानलाई सही बाटोमा हिँडाउन सकिन्छ । यसरी सहकारीमा देखिएको जोखिम कम गर्न र सहकारीको शुद्धीकरण गर्न सकिन्छ । यसरी समाज रूपान्तरणमा सहकारीको अहम् भूमिका स्थापित गर्न सकिन्छ । यसमा भएका नीति विधिको कार्यान्वयनमा सरकार उदासीन बन्नुभएन । नियामक निकाय दबाब र शुभ लाभको पछि लाग्नुभएन ।

सहकारीमा हाल देखिएका समस्यालाई समाधान गर्न भएका ऐन कानुनको निर्ममतापूर्वक कार्यान्वयन गरेर दिगो समाधान खोज्ने हो भने सहकारीको भविष्य सुखद छ । यसमा केही नमिलेका कुरालाई कानुनमा सच्याउन पनि आवश्यक छ । तर कानुनको कार्यान्वयन गर्दा आफैलाई अप्ठ्यारो पर्ने रहेछ भनेर सधैँ टालटुले समाधान खोज्ने, आम मानिसको आँखामा छारो हाल्ने, शक्तिकेन्द्रलाई खुसी पारेर समस्या सार्ने र टार्ने जुक्ति मात्रै गर्ने समस्यालाई फाल्नेभन्दा पाल्ने काम धेरै गर्ने हो भने सहकारी अभियानमा बारम्बार परकम्पनहरू आइरहने छन् र यसले सहकारी अभियानको विश्वसनीयतामा ठुलो समस्या आउने छ ।

लघुवित्तको कारोबारमा ऋण लिनेहरू समस्यामा परेका छन् तर सहकारीमा बचत गर्नेहरू समस्यामा परेका छन् । लघुवित्तमा ऋण लिनेहरूले आफ्नो हैसियतभन्दा बढ्ता ऋण लिए होलान् । लगानी गर्नेले ऋणीको हैसियत नहेरी ब्याजको लोभमा लगानी गरे, कर्जा असुलीमा ज्यादती गरे । भएको यति नै हो । सहकारीमा सञ्चालकले नाम मात्रका सदस्यलाई भ्रममा पारे, ब्याजको लोभ देखाए । हर्ताकर्ता सञ्चालक र कर्मचारी (सबै सञ्चालक र कर्मचारीलाई थाहा नहुन सक्छ)ले जम्मा भएको पैसालाई आफूmखुसी परिचालन गरे । कमाउने धुनमा लागे, उनीहरूको व्यापार डुब्यो । बिचल्लीमा बचत जम्मा गर्ने मानिस परे ।

सहकारीमा देखिएको समस्याको समाधान सहकारीभन्दा बाहिर खोजेर भेटिँदैन । सहकारीमा नै खोज्नु पर्छ । एउटा सहकारीको समस्या अर्को सहकारीमा खोजेर भेटिँदैन । सहकारीका सञ्चालक, कर्मचारी, सदस्यले सहकारीको पैसा चलाउने, अपचलन गर्ने, समयमा नतिर्ने, नबुझाउने, नचाहिने सम्पत्तिमा लगानी गर्ने र समाधानका लागि पहल नगर्ने अनि समस्या भयो नेताले समाधान गर्नुपर्छ भन्नु किमार्थ ठिक मान्न सकिँदैन ।

सहकारीमा समस्या भयो अब सरकारले जिम्मा लिनुपर्छ, सरकारले पैसा दिनुपर्छ भन्नु समस्या अन्यत्र पन्छाएर आफू उम्कने दाउ मात्रै हो । यो समस्याको उपाय होइन । समस्याको समाधानका लागि जुन सहकारीमा समस्या छ त्यही केन्द्रित बनौँ । सहकारीको वास्तविक वित्तीय अवस्थाको श्वेतपत्र जारी गरौँ । जो र जसको कारणबाट समस्या सिर्जना भएको हो उसैलाई केन्द्रमा राखौँ । उ सहकारीको नेता, सञ्चालक, कर्मचारी, सदस्य, ऋणी, राजनीतिक नेता, व्यापारी, सामाजिक हैसियत भएको व्यक्ति जो पनि हुन सक्छ । उसको व्यवहारको सन्तुलन बिग्रिएको हुन सक्छ । उसैबाट व्यवहार मिलाउन र पैसा असुल गर्ने उपाय खोज्नुपर्छ । संस्थाभित्रका यस्ता एक एक व्यक्तिको पहिचान गर्नुपर्छ । प्राथमिकतामा राखेर आवश्यक परे कानुनी कारबाहीको दायरामा ल्याउनुपर्छ । सामाजिक दबाब सिर्जना गर्नुपर्छ । व्यक्तिलाई सार्वजनिक गर्नुपर्छ । चलअचल सम्पत्ति रोक्का राख्नुपर्छ । बेचबिखनमा सहयोग गर्नुपर्छ । फरफारकमा निक्षेपकर्ताको सहयोग लिएर समस्यालाई साँघुरो पार्दै लैजान सकिन्छ । यसरी सहकारीभित्रका समस्या साँघुरो पार्ने र नयाँ समस्या आउन नदिने हो भने मात्रै सहकारीको भविष्य उज्यालो बनाउन सकिन्छ ।

Nabintech