५ जेष्ठ २०८१, शनिबार
बदनाम गराउन मुद्दा दायर गरियोः कमरुद्दिन राई

उपप्रमुख कमरुद्दिन राईले आफूले बाबुको नाम र ठेगाना फरक नराखेको दावी


  • टाइम्स संवाददाता

  • २ चैत्र २०७९, बिहीबार १२:०९

 बाँके : नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईले आफ्नो बदनाम गराउन पूर्व मन्त्री सर्वदेवप्रसाद ओझाले सर्वोच्च अदालतमा मुद्धा दायर गरेको बताएका छन् । उनले बुधवार पत्रकारमाझ यस्तो बताएका हुन् । मनीषा एग्री कन्सर्नका संचालक ओझाले ०६२ सालमा देवानसिंह चौधरी, अर्जुन उप्रती, आसिफ रियाज खान र कमरुद्धिन राई विरुद्ध बाँके जिल्ला अदालतमा ठगी तथा कागजात किर्ते मुद्धा दायर गरेका थिए । उक्त मुद्धामा प्रतिवादी सवैलाई बाँके जिल्ला अदालतले सफाई दिएको थियो । त्यसपछि उनी पुनरावेदनका लागि नेपालगन्जस्थित तत्कालिन पुनरावेदन अदालत गए ।

उक्त मुद्धामा पनि प्रतिवादीहरुले सफाई पाएको उपप्रमुख राईले स्पष्ट पारे । जिल्ला र पुनरावेदन अदालतले सफाई दिएपछि अन्तिम सुनुवाईका लागि ओझा सर्वोच्च अदालत पुगे । अहिले उक्त मुद्धा विचाराधिन छ । ‘सर्वोच्च अदालतमा मुद्धा चलिरहेकै बेला ओझाजीले अर्को मुद्धा दर्ता गराएको भन्ने सामाजिक संजालबाट थाहा पाएँ,’ उनले भने, ‘अहिलेसम्म मलाई आधिकारिक पत्र वा जानकारी आएको छैन । आधिकारिक पत्र आए प्रहरी र अदालतमा हाजिर हुन तयार छु । म लुकेर बस्दैन । सम्मानित अदालतको फैसलालाई शिरोधार्य गरि अगाडी बढ्ने छु ।’उनले ०६२ सालमा भएको घटनालाई लिएर अहिले उजुरी दिनु अशोभनिय भएको बताए । कानून बन्नुअघिको घटनालाई १० वर्ष पछि बनेको कानूनमा टेकेर मुद्धा दायर गर्न नमिलने बताउँदै उनले यसको खुलेर प्रतिवाद गर्ने स्पष्ट पारे । ‘उहाँ (ओझाजी) ले चुनावमा पनि मलाई हराउन ठूलो प्रयास गर्नुभयो, तर सक्नु भएन ।

अव मुद्धा हालेर मेरो बदनाम गर्न खोज्दै हुनुहुन्छ,’ उपप्रमुख राईले भने, ‘बदनियतपूर्ण ढंगले हालिएको मुद्धामा उहाँ सफल हुनुहुन्न भन्नेमा म ढुक्क छु । दुईटा सम्मानित अदालतले सफाई दिइसके छ । सर्वोच्चले पनि सफाई दिनेमा दुई मत छैन ।’उनले आफूले अहिलेसम्म कुनै सरकारी कार्यालयमा झुठा कागजात तथा बयान नदिएको जिकिर गरे । उनले ठगी र कागजात किर्ते मुद्धामा चार जना विरुद्ध मुद्धा दायर भए पनि सार्वजनिक न्याय विरुद्धको कसुरमा आफू विरुद्धमात्र मुद्दा दायर भएको बताए । ‘सार्वजनिक न्याय विरुद्धको कसुरमा पनि चार जना विरुद्ध मुद्दा दायर हुनु पथ्र्यो, तर ओझाजीले म विरुद्धमात्र उजुरी दिएको सुनेको छु ।

यो सत्य हो भने उहाँको नियतमाथि खोट छ भन्ने स्पष्ट हुनेछ,’ राईले भने । मनीषा एग्री कन्सर्न नेपालगन्जको तर्फबाट ओझाले ठगी कसुरमा मुद्दा हालेका थिए । मनीषा एग्री कन्सर्न र भारतमा रहेको मनीषा एग्री बायो टेक कम्पनी प्रा.लि. हैदराबाद बिच भएको सम्झौता अनुसार आयात हुने सामग्रीको भन्सार क्लीरिङ्गको जिम्मेवारी पाएका कमरुद्दिन विरुद्ध ठगीको मुद्दा परेको हो । २०६२ सालदेखि २०६९ सालसम्म कमरुद्दिनले भन्सार एजेन्टको रूपमा काम गर्र्ने क्रममा भन्सार, क्वारिन्टिन र अदालत समेतलाई भ्रममा पारेको आरोप ओझाले लगाएका छन् ।

उनले अनुसन्धानको क्रममा कमरुद्दिन राईको नागरिकता र अन्य कागजातमा बाबुको नाम फरक भएको पुष्टि भएको छ । नागरिकतामा बाबुको नाम गोवरे कवडिया छ भने भारतबाट पैठारी गर्ने मनिषा एग्री बायो टेक कम्पनी प्रा.लि.को कागजातमा अकबर अलि उल्लेख भएको दावी ओझाले गरेकाछन् ।तर, उपप्रमुख कमरुद्दिन राईले आफूले बाबुको नाम र ठेगाना फरक नराखेको दावी गर्दै आएका छन् ।

Nabintech