२३ बैशाख २०८१, आईतवार
भारतका कारण सात सय टन जडीबुटी गोदाममा सड्दै

भारतीय रोकावटका कारण नेपालगञ्जबाट हुने जडीबुटी निर्यात बर्सेनि घट्दै


  • टाइम्स संवाददाता

  • १४ चैत्र २०७९, मंगलवार १३:१४

नेपालगञ्ज : भारततर्फ निकासी गर्ने गरी दुई वर्षअघि खरिद गरिएको सात सय टन जडीबुटी निकासी हुन नसक्दा सड्ने अवस्थामा पुगेको व्यवसायीले बताएका छन् । भारतीय प्लान्ट क्वारेन्टाइनले १६ प्रकारका जडीबुटीलाई निकासी सूचीमा नसमेटेकाले निर्यात हुन नसकेको जडीबुटी व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष टङ्कप्रसाद शर्माले बताएका छन् ।

निर्यातका लागि तयार गरिएको जडीबुटी अलपत्र हुँदा व्यवसायीको करोडौँ रुपियाँ नोक्सान हुने अवस्था आएको भन्दै सरकारले निर्यातको वातावरण बनाइदिनुपर्ने उनको माग छ । शर्माका अनुसार जटामसी मार्क, अमला, सिकाकाई, तिगेडी, कुट्की, दालचिनी, पाखनभेद, चुत्रो बोक्रा, चुत्रो काठ, पदमचाल, तेजपात, सुगन्ध कोकिला, अश्वगन्धा पाउडर, अमलवेद र टिमुरलगायत १६ प्रकारका जडीबुटीको निकासी बन्द भएको छ ।

जडीबुटी व्यवसायी सङ्घका महासचिव भानुभक्त रिजालले नेपाली जडीबुटीको ८० प्रतिशत बजार भारत नै भएकाले निकासीमा हुने अड्चन हटाउने विषयलाई पनि प्रधानमन्त्रीको भारत भ्रमणको एजेन्डा बनाउनुपर्ने उल्लेख गरेका छन् । निकासी रोकिएपछि गोदाममा थन्किएका अधिकांश जडीबुटी कुहिन थालेको व्यवसायी मोहम्मद याकुब अन्सारीले जानकारी गराए ।

भारतीय रोकावटका कारण नेपालगञ्जबाट हुने जडीबुटी निर्यात बर्सेनि घट्दै छ । सङ्घका अनुसार आव २०७७/७८ मा नेपालगञ्ज हुँदै ४२ थरीका ४५ लाख १८ हजार ७७७ केजी जडीबुटी निकासी भएको थियो । आव २०७८/७९ मा घटेर ४२ लाख २० हजार २२८ केजी जडीबुटी निर्यात भएको थियो ।

बाँकेमा जडीबुटीसम्बन्धी १२ उद्योग छन् । नेपालका विभिन्न जिल्लामा सङ्कलन गरिएका ३० प्रकारका जडीबुटी नेपालगञ्ज ल्याएर भारततर्फ निकासी हुँदै आएकामा निकासीमा अवरोधले व्यवसाय नै धरापमा परेको व्यवसायीको गुनासो छ ।

Nabintech