लुम्बिनी : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले नयाँ वर्ष २०८० मा लुम्बिनी प्रदेश समृद्ध र आत्मनिर्भर बन्ने बताएका छन् । नयाँ वर्षको शुभकामना सन्देश दिँदै उनले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएकाले परिवर्तनको जगमा स्थापित मौलिक विशेषता बोकेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था सञ्चालन गरिरहेका उल्लेख गरेका छन् ।
सङ्घीय शासन व्यवस्थामार्फत नागरिकका चुलिएका जनआकाङ्क्षा पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री गिरीको सन्देशमा उल्लेख छ । संविधान कार्यान्वयन र सङ्घीय शासनको आधार तयार पार्नेजस्ता महत्वपूर्ण र ऐतिहासिक कार्य गर्दै सरकार अगाडि बढेको उनको भनाइ छ ।