नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ठगी तथा संगठित अपराधको कसुरमा दुई पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादव तथा मन्त्रालयका तत्कालीन सचिव र सहसचिवसहितका अधिकारी छन् ।
सीआईबीले बुधबार विज्ञप्ति जारी गर्दै उनीहरूलाई काठमाडौँ, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट पक्राउ गरिएको जनाएको छ । पक्राउ पर्ने अन्यमा मन्त्रालयका तत्कालीन सचिव बिनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुख (सहसचिव) उमेश ढुङ्गाना र राजिव पोखरेल तथा तत्कालीन कानुन अधिकृत (उपसचिव) निर्मला गुरुङ छन् ।
सीआईबीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र र विकास रानाभाटसमेतको जाहेरीका आधारमा उनीहरूमाथि अनुसन्धान अघि बढाइएको हो ।
नेपाल सरकार वादी र कैलाश खड्कासमेत प्रतिवादी रहेको मुद्दामा ठगीसम्बन्धी कसुर तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।
के हो आरोप ?
सीआईबीका अनुसार नेपाल र मलेसिया सरकारबीच भएको समझदारीपत्र (एमओयू) विपरीत श्रमिकबाट गैरकानुनी रूपमा रकम असुली गरी विदेश पठाइएको विषयमा अनुसन्धान भइरहेको छ ।
ब्यूरोका अनुसार यसरी संकलन गरिएको रकममध्ये अमेरिकी डलर ८३ लाख ७० हजार ४३९ दशमलव ९२ र बेलायती पाउन्ड ३७ लाख १७ हजार ९८० दशमलव ८० गरी नेपाली रुपैयाँ १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा बराबरको रकम रहेको छ ।
पक्राउ परेकाहरूले समझदारीपत्रको दायरा र कानुनी प्रक्रियाविपरीत अधिकार क्षेत्र नाघेर बदनियतपूर्वक विदेशी मुद्रा अपचलन गराएको सीआईबीको आरोप छ । यसबाट देशको अर्थतन्त्र र विदेशी मुद्रा सञ्चितिमा नोक्सानी पुगेको ब्यूरोको दाबी छ ।
त्यस्तै, संगठित समूहको लाभका लागि आफ्नो पदीय जिम्मेवारी र कर्तव्यविपरीत श्रमिकमाथि भइरहेको ठगी रोक्न कानुनी उपचार नखोजेको तथा गैरकानुनी रूपमा संकलन भएको रकम मलेसिया पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोप उनीहरूमाथि लगाइएको छ । पक्राउ परेका पूर्वमन्त्रीमध्ये तत्कालीन नेकपा एसका नेता कुँवर देउवा सरकारमा श्रम मन्त्री थिए । यसैगरी रामेश्वर राय यादव २०७६ सालमा केपी ओली सरकारमा श्रम मन्त्री थिए । उनी माओवादी केन्द्रबाट निर्वाचित भएका थिए।
सीआईबीले जिल्ला अदालत काठमाडौँ, बबरमहलबाट पक्राउ पुर्जी जारी गर्ने अनुमति लिएर उनीहरूलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।





















