२० बैशाख २०८१, बिहीबार
खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाउन शुरु

  • टाइम्स संवाददाता

  • ८ बैशाख २०८०, शुक्रबार १४:२४

नेपालगञ्ज : नेपालगञ्जमा खोप लगाउन छुटेका बालबालिकाहरूलाई खोप लगाउन शुरु गरिएको छ । १६ महिनादेखि ५९ महिनासम्मका खोप लगाउन छुटेका बालबालिकाहरूलाई घरधुरी सर्वेक्षणमार्फत खोजेर खोप लगाउन शुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाले जनाएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका निमित्त प्रमुख जागेश्वर बस्नेतका अनुसार अहिलेसम्म कुनै पनि खोप नपाएका १६ देखि ५९ महिनाका बालबालिकाको घरघरमा गएर खोप लगाउन थालिएको हो ।

प्रमुख बस्नेतले बिहीबारसम्म ५० जना बालबालिकालाई खोजेर खोप लगाइएको र अन्यलाई लगाउने कार्य चलिरहेको बताए । सोही प्रकारले आंशिक खोप छुटेका ८० जना बालबालिकालाई पनि नियमित खोप केन्द्रमै गएर खोप सेवा दिएको बस्नेतले जानकारी दिए ।

यही वैशाख महिनाको अन्तिममा नेपालगञ्ज उपमहानगरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नका लागि खोप लगाउन छुटेका बालबालिकाहरूलाई घर–घरमा पुगेर खोजिएको स्वास्थ्य महाशाखाले जनाएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका २३ वटै वडामा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरेर ‘खोज र खोप’ अभियान सञ्चालन गरिएको महाशाखाका निमित्त प्रमुख बस्नेतले बताए ।

‘‘सो अभियानलाई प्रभावकारी बनाउन वडा–वडामा कार्यशाला गोष्ठी गर्यौ, पूर्ण खोप सुनिश्चितता र दिगोपनामा निरन्तरताका लागि कार्ययोजना तयार गरेर स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई वडा–वडामा खटाएका थियौँ,’’ बस्नेतले भने, ‘‘चैत मसान्तसम्ममा खोप नलगाएका बालबालिकाहरूको लाइन लिष्टिङ गरेका छौँ, उनीहरूलाई अहिले खोप लगाउने कार्य भइरहेको छ ।’’

नेपालगञ्जमा सबैभन्दा ठूलो जनसङ्ख्या भएको मधेशी र मुस्लिम समुदायमा बालबालिकालाई खोप लगाउने कार्य निकै कम भएको पाइएको स्वास्थ्य महाशाखाले जनाएको छ ।

Nabintech