२९ असार २०८१, शुक्रबार
बाघको आक्रमणमा परेकि महिला फेला नपर्दा स्थानियले गरे ढुंगामुढा

ड्रोनमा बाघ देखिए पनि महिलाको भने अत्तोपत्तो लाग्न सकेन


  • टाइम्स संवाददाता

  • ८ बैशाख २०८०, शुक्रबार १५:११

बेलौरी,कचनपुर: बाघको आक्रमणमा बेपत्ता भएकी बेलौरी नगरपालिका–८ पचुइँकी गंगादेवी चन्द अझैँ भेटिएकी छैनन। शुक्रबार (आज) बिहान करिब ११ बजेतिर चन्दलाई बाघले आक्रमण गरेको सँगै रहेका अन्य महिलाले बताएका थिए। गाउँका ३/४ जना महिला घाँस काटन बिहान खप्टिनाला क्षेत्रमा गएका थिए।

आत्तिदै गाउँमा आएका महिलाले घटनाको बेलिबिस्तार लगाएपछि स्थानीयबासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र जिल्ला सव डिभिजन वन कार्यालय कुण्डाका कर्मचारी उक्त क्षेत्रमा पुगेका थिए। उनीहरु अहिलेसम्म खोजी कार्यमा जुटेका छन्। तर बेपत्ता महिलाबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन।

ड्रोनमा बाघ देखिएको छ। खप्टिनाला भन्दा ४०–५० मिटर पर रुखमुनि बाघ बसेको देखिएको छ। बाघलाई नियन्त्रणमा नलिएको भन्दै स्थानीयबासिन्दा आक्रोशित छन्।

पुनः आक्रमण गर्न सक्ने भन्दै बाघलाई नियन्त्रणमा लिनुपर्ने उनीहरुको माग छ। तर त्यसका लागि माथिल्लो निकायको अनुमति चाहिने जानकारी प्रहरी र जिल्ला सव वन डिभिजन कार्यालय कुण्डाका कर्मचारीले दिएपछि स्थानीय झनै आक्रोशित भएका छन्। भीडबाट ढुंगा प्रहार हुँदा एक जना प्रहरी कर्मचारी घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी नायव निरीक्षक (सई) चन्द्र खडायत घाइते भएका हुन। आक्रोशित स्थानीयले ढुंगा प्रहार गर्दा उनको टाउँकोमा चोट लागेको छ। घाइतेलाई उपचारका लागि बेलौरीस्थित अस्पताल लगिएको छ।

चन्दसँगै घाँस काटन गएका अन्य महिलाले भागेर ज्यान जोगाएका थिए। यो घटनाले पचुइँ क्षेत्रमा त्रास फैलिएको छ। यसअघि चैत मध्यतिर घाँस काटन दुधुवा राष्ट्रिय निकुञ्ज क्षेत्रमा गएकी पुनर्वासकी एक महिलाको बाघको आक्रमणमा मृत्यु भएको थियो।

त्यस लगत्तै सीमावर्ती भारतीय गाउँमा पनि बाघकै आक्रमणमा अर्की एक महिलाले पनि ज्यान गुमाएकी थिइन। यी घटनाहरुले यो क्षेत्रमा त्रास बढेको हो। जिल्ला सव डिभिजन वन कार्यालयले बाघ विचरण गर्ने सम्भावित स्थानहरूमा स्वचालित क्यामेरा जडान गरेपनि तस्बिर भने कैद हुन नसकेको जनाएको छ।

Nabintech