४ जेष्ठ २०८१, शुक्रबार
कोहलपुरका ५ जनामा देखियो डेङ्गी

कसरी अपनाउने सावधानि


  • टाइम्स संवाददाता

  • १७ बैशाख २०८०, आईतवार १२:४८

कोहलपुर,बाँके: कोहलपुरमा ५ जनामा डेङ्गी देखिएको छ । कोहलपुर नगरपालिका नगर अस्पतालको ल्यावमा परिक्षण गरिएका मध्ये ५ जनामा डेङ्गी संक्रमण देखिएको अस्पतालका प्रयोगशाला इन्चार्ज दिपक शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार डेङ्गी संक्रमण पुष्टि भएकाहरुमा १ जना पुरुष र ४ जना महिला छन् । कोहलपुर नगरपालिका वडा न. २ का १ जना, वडा न.५,,११ र १४ का १/ १ जना गरि ५ जनामा डेङ्गी संक्रमण देखिएको हो । उनीहरु सबैमा लक्षण चिन्ह देखिएको छ ।

अस्पतालका डा.रबी शर्मा वाग्लेले संक्रमित बिरामीलाई अस्पतालको निगरानीमा राखेर उपचारसँगै परामर्श दिरहेको बताउनुभयो । उहाँका अनुसार बिरामीको स्वास्थ्य अवस्था सुधार भैरहेको छ ।

के हो डेङ्गी ?
डेङ्गी  एक प्रकारको भाइरसबाट लाग्ने रोग हो । यो एडीस  प्रजातिको एडीस एजिप्टी र एडीस एल्बोपेक्टस नामको पोथी लामखुट्टेबाट मानिसमा सर्दछ । यो प्रजातिका लामखुट्टेले डेङ्गी रोग भएको मानिसलाई टोकेमा ती भाइरस उक्त लामखुट्टेको पेटमा पुग्दछन् र फेरि स्वस्थ व्यक्तिलाई टोक्दा ती भाइरस स्वस्थ्य मानिसको शरीरमा प्रवेश गर्दछन् र ३ देखि ७ दिनसम्ममा स्वस्थ मानिसमा पनि रोगका लक्षण देखाउन थाल्दछन् ।

  डेङ्गी सिधै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन । यो रोग सार्नको लागि माध्यम मच्छड नै हो, डेङ्गी  मच्छड सङ्लो, जमेको पानीमा बसेर प्रजनन् क्रिया तीव्र बनाउने हुन्छ । त्यसैले गर्दा डेङ्गी पानी पर्ने र ओसिलो समयमा बढी फैलने हुन्छ । लगभग २० जना डेङ्गी प्रभावितमध्ये १ जना बिरामीलाई गाह्रो पार्न सक्छ  र यो रोगको मृत्युदर १–२  प्रतिशत हो । यो रोगले गर्भवती महिला, साना बच्चाहरूमा  र दोहोरिएर भएको डेङ्गी  रोगमा जटिल समस्याहरू आउन सक्छ ।

लक्षणहरूः
–अत्यधिक ज्वरो आउनु  (१०२ डिग्री फरेनहाइटभन्दा माथि) ।
–आँखाको वरिपरि र ठीक पछाडिको भागमा अत्यधिक दुख्नु ।
–छालामा रातो डाबर वा धब्बा आउनु ।
–हड्डी फुट्ने गरी दुख्नु आदि ।

यी माथिका लक्षणहरू मुख्य लक्षणहरू हुन् र यस्ता लक्षण देखा परेमा डेङ्गी रोग भएको अनुमान गर्न सकिन्छ ।

अन्य लक्षणहरूः
–वाक्वाकी लाग्छ ।
–छट्पटी हुन्छ ।
–बान्ता हुन्छ ।
–शरीरमा बिमिरा आउन सक्छ ।
–नाडी कमजोर तथा रक्तचाप कम हुन सक्छ ।
–यदि शरीरमा प्लेटलेट्सको मात्र कम भएमा शरीरको कुनै पनि ठाउँबाट रक्तश्राव हुनसक्छ ।
–धेरै रक्तश्राव भएमा बिरामी बेहोस हुन्छ ।
–समयमा उपचार नभएमा मानिसको मृत्यु पनि हुनसक्छ ।

उपचारः
डेङ्गी भाइरसको कारणले गर्दा हुने रोग हो । विश्वमा अहिलेसम्म यसको भाइरसलाई मार्ने औषधि बनेको छैन । त्यसैले गर्दा यसमा लक्षणअनुसारको उपचार गर्नुपर्ने हुन्छ ।
–ज्वरो कम गर्न प्लेन सिटामोलको प्रयोग गर्ने ।
–ब्रुफिन र स्प्रिनजस्ता औषधिको प्रयोग नगर्ने ।  किनकि यस्ता औषधिको प्रयोगले रगत पातलो बनाई धेरै रक्तश्राव हुने भएकाले जोखिम बढ्न सक्छ ।
–बिरामीलाई आराम गराउने ।
–बिरामीलाई झोलिलो र चाँडै पच्ने खालको खानेकुराहरू दिने ।
–यदि बच्चा, गर्भवती महिला र डेङ्गी दोहोरिएर भएमा तुरुन्त स्वास्थ्य संस्थामा गई जाँच गराउने ।
–होमियोप्याथिक  उपचार पद्दतिअनुसार लक्षणका आधारमा औषधि दिइने हुँदा यो रोगमा होमियोप्याथिक उपचार लाभप्रद देखिन्छ ।
–बान्ता, चक्कर र छट्पटी लागि शरीर कमजोर भई बेहोस भएमा तुरुन्त अस्पताल भर्ना गर्ने ।
–शरीरमा पानीको मात्रा कम हुने हुँदा एकदम झोलिलो खाने कुरा दिने ।

सावधानीः
डेङ्गी सार्ने मच्छड सफा र जमेको अनि कम पानीमा पनि यसले आफ्नो प्रजनन् प्रक्रिया पूरा गरी सङ्ख्या बढाउने हुँदा सम्पूर्ण पानी जम्ने प्रकृतिका वस्तुहरू नष्ट गर्नुपर्छ ।
यो प्रजातिको मच्छड उज्यालो समयमा बढी सक्रिय हुने हँुदा बिहान सूर्य उदाएपछि र बेलुका सूर्य अस्ताउनुभन्दा अगाडि यसबाट बच्ने उपायहरू अपनाउनु पर्छ ।
–झुल टाँगेर मात्र सुत्ने बानी बसाल्ने ।
–गाउँ, टोल र बस्तीहरू सफा राख्ने ।
–मच्छडको टोकाइबाट बच्ने क्रिमहरू लगाउने ।
–मच्छड भगाउने धुप बालेर सुत्ने ।
–विभिन्न चिकित्सा पद्दतिअनुसार तीतो चिराइतो, निमपत्ती, मेवाको पातलगायतका औषधिहरू खानुपर्छ भन्ने मान्यता भएको हुँदा धेरै जनाले त्यसो गरेको पाइन्छ तर, नाडीको गति र रक्तचाप कम भएको छ भने त्यस्तो बेलामा तीतोले गर्दा बिरामीको अवस्था झन् जोखिममा पर्न सक्छ । त्यसैले यस्ता कुरामा विश्वास नगरी चिकित्सकको सल्लाह लिएर मात्र यस्ता औषधिहरू सेवन गर्नु उचित हुन्छ ।

Nabintech