२६ बैशाख २०८१, बुधबार
व्यवसायी कँडेल आत्महत्या प्रकरण : आरोपीमध्ये रावल पक्राउ

कँडेलले  ‘सुसाइड नोट’ मा रावल र सोही कम्पनीको ८५ प्रतिशत शेयर किनेका प्रदीप रुङ्गटाका कारण आफूले आत्महत्या गर्नुपरेको लेखेका थिए


  • टाइम्स संवाददाता

  • २२ बैशाख २०८०, शुक्रबार १०:१०

चितवन : व्यवसायी शंकर कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी परेकामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ। अनमोल फिड्सका चार्टर एकाउन्टेट जीवन रावल पक्राउ परेका हुन्।

भरतपुर महानगरपालिका–८ का ३७ वर्षीय रावललाई बाराको सिमाराबाट गए राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए। उनलाई राति नै चितवन ल्याइएको छ । शुक्रबारदेखि नै अनुसन्धानको प्रक्रिया अघि बढाउने उनले बताए।

लुकेर बसेकोअवस्थामा रावललाई प्रहरीले पक्राउ गरेको हो । कँडेलले  ‘सुसाइड नोट’ मा रावल र सोही कम्पनीको ८५ प्रतिशत शेयर किनेका प्रदीप रुङ्गटाका कारण आफूले आत्महत्या गर्नुपरेको लेखेका थिए।

रुङ्गटा पक्राउका लागि नेपाल र भारतीय भूमिमा खोजी भइरहेको प्रहरीले जनाएको छ । पण्डितले नेपाल प्रहरी, सीआईबीलगायत सङ्गठनका निकाय परिचालन भएकाले छिटै पक्राउ पर्ने बताए। कँडेल मंगलबार साँझ चितवनको नारायणगढस्थित आफ्नै कार्यालयमा झुण्डिएको अवस्थामा भेटिएका थिए।

कँडेलले आफूले नेतृत्व गर्दै आएको अनमोल फिड्सको ८५ प्रतिशत शेयर रुङ्गटालाई बिक्री गरेपछि सो समूहले मानसिक तनाव दिएकै कारण आत्महत्या गर्नुपरेको ‘सुसाइट नोट’मा लेखेका छन्। नेपालका परिचित पोल्ट्री व्यवसायी कँडेल नेपाली कांग्रेसका महासमिति सदस्यसमेत थिए।

Nabintech