काठमाडौं : नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका पार्टीका सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ। बुधबार विज्ञप्ति जारी गर्दै एमाले महासचिव शंकर पोखरेलले राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरिएको जानकारी दिएका छन्।
सांसद रायमाझीलाई सांसद पदबाट पनि निलम्बन गर्न बुधबारको संसद् बैठकमा समेत आवाज उठेको छ।
फरार टोपबहादुरलाई एमालेको आग्रह : अनुसन्धानमा सघाउनुस्
नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका सचिव टोपबहादुर रायमाझीलाई अनुसन्धानमा सघाउन आग्रह गरेको छ। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले उपमहाचिव तथा प्रवक्ता पृथ्वीसुब्बा गुरुङले पार्टीको बैठकले अनुसन्धानमा सघाउन निर्देशन दिइसकेकोले रायमाझीलाई पनि सहयोग गर्न आग्रह गरे।
गुरुङले विधिको शासनमाथि विश्वास गर्ने पार्टीको हैसियतले विधिपूर्वक, कानुन पूर्वक भइरहेको छानबिनलाई सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन्।
उनले भने, ‘सरकारले दायाँबायाँ तलमाथि नगरिकन दोषीहरू कोही पनि नछुटुन्। निर्दोष कोही पनि नपरुन् अभियानका साथ लागोस्। एमाले सहयोग र समर्थन गर्न तयार छौँ।’