५ जेष्ठ २०८१, शनिबार
९ जिल्लामा आगलागी, चार जनाको मृत्यु

बर्दिया: फ्रेस हाउस पसलमा ग्यास लिक भई बिहीबार साँझ आगलागी हुँदा करिब ६ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट


  • टाइम्स संवाददाता

  • २९ बैशाख २०८०, शुक्रबार १२:५४

काठमाडौं : देशका विभिन्न जिल्लामा आगोलागी हुँदा चार जनाको मृत्यु भएको छ। ९ जिल्लाका विभिन्न स्थानमा आगोलागी भएको प्रहरीले जनाएको छ जाजरकोट, भेरि नगरपालिका-७ पाथीहाल्ना सामुदायिक वनमा बिहीबार बिहान लागेको आगो निभाउने क्रममा जलेर सोही नगरपालिका रुपाकोट बस्ने ४९ वर्षीय दलजिते कार्कीको बिहीबार बिहान मृत्यु भएको छ।

पाँचथर, फाल्गुनन्द गाउँपालिका-१ लाक्सेबुङ जंगलमा बिहीबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने प्रेम नेम्वाङको घरमासमेत आगलागी हुँदा उक्त आगलागीमा पारी उनकै छोरा ३२ वर्षीय मन कुमार नेम्वाङको मृत्यु भएको छ। साथै आगलागीबाट प्रेमको घर जलेर करिब १२ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

तेह्रथुम, छथर गाउँपालिका-३ पञ्चकन्या बस्ने तुलसीजंग थापाको बाँसघारीमा बिहीबार बिहान लागेको आगो निभाउने क्रममा जलेर २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने ५० वर्षीया दिल कुमारी भुजेल र उनकै छोरा १४ वर्षीय भुपेन्द्र भुजेल रहेका छन्। आगलागीबाट तुलसीजंगको घर जलेर करिब ६० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

यसैगरी तेह्रथुम, छथर गाउँपालिका-४ फाक्चामारास्थित खौवा सामुदायीक वन र घुम्ती सामुदायीक वनमा लागेको आगो फैलिएर सोही ठाउँ बस्ने नगेन्द्र बहादुर विकसहित २ जनाको घरमा बिहीबार दिउँसो आगलागी हुँदा दुवै जनाको घर जलेर करिब १६ लाख ७६ हजार ६ सय रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

यसैगरी तेह्रथुम, म्यङलुङ नगरपालिका-१० सुस्लिङस्थित सुस्लिङ सामुदायिक बनमा लागेको आगो फैलिएर सोही ठाउँ बस्ने लालकुमार लिम्बु र भिममाया लिम्बुको घरमा बिहीबार दिउँसो आगलागी हुँदा दुवै जनाको घर पूर्णरुपमा जलेर करिब ७ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

बर्दिया, मधुवन नगरपालिका-१ कैलासी बस्ने गोरी रोकायको घरमा विद्युत सर्ट भई बिहीबार साँझ आगलागी हुँदा  सोही घरसँग जोडिएका ७ वटा घर पूर्णरुपमा जलेर करिब ३३ लाख ३० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

यसैगरी बर्दिया, गुलरीया नगरपालिका-४ बस्ने गोपाल वलीको घुम्तीमा किराना पसल र फ्रेस हाउस पसलमा ग्यास लिक भई बिहीबार साँझ आगलागी हुँदा करिब ६ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।

उदयपुर, ताप्लि गाउँपालिका-५ कटहरे जंगलमा लागेको आगो फैलिएर सोही ठाउँ बस्ने तुल बहादुर जिउ मगरसहित २ जनाको घरमा बिहीबार दिउँसो आगलागी हुँदा दुवै जनाको घर जलेर करिब १३ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

इलाम, माई नगरपालिका-२ बस्ने ४८ वर्षीय पुर्ण बहादुर माबो लिम्बुको घरमा बिहीबार आगलागी हुँदा लत्ताकपडा, खाद्यन्न, फर्निचरका लगायतका सामान जलेर करिब १५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

बारा, कोल्हबी नगरपालिका-५ आसामटोल बस्ने ६५ वर्षीय बिष्णु रेग्मीको घरमा विद्युत सर्ट भई बिहीबार दिउँसो आगलागी हुँदा करिब ८ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।

कपिलवस्तु, विजयनगर गाउँपालिका-७ मननगर बस्ने कनैराम हरिजनसहित ४ जनाको घर र गोठमा बिहीबार दिउँसो आगलागी हुँदा करिब ६ लाख ७० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ। प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

Nabintech