२४ बैशाख २०८१, सोमबार
पत्रकारहरुका बिभिन्न संगठनले बुझाए पत्रकार महासंघलाई ज्ञापन पत्र

महासंघ बाँकेमा १३ जना थप सदस्य स्थानान्तरण गरिएपछि बिरोध, आन्दोलन गर्ने चेतावनी


  • टाइम्स संवाददाता

  • ४ जेष्ठ २०८०, बिहीबार १८:४८

नेपालगन्ज :  नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयले सबै प्रदेश र जिल्ला शाखाहरुलाई जारी गरेको सदस्यता शुद्धिकरण अभियानलाई तत्काल कार्यान्वयन गर्न प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति बाँकेले बिहीवार नेपाल पत्रकार महासंघ बाँके शाखालाई एक ज्ञापनपत्र बुझाएको छ ।

‘नेपाल पत्रकार महासंघले स्वेच्छिक रुपमा सदस्यता परित्याग गर्ने, नवीकरणका क्रममा क्रियाशीलताको आधार खोज्ने लगायतको अभियानको कार्यतालिका सार्वजनिक गरेको अवस्थामा नेपाल पत्रकार महासंघ बाँके शाखाले हालसम्म कुनैपनि प्रक्रिया सुरु नगरेको प्रति हाम्रो संगठनको घोर आपत्ति छ । अविलम्ब शुद्धिकरण अभियानसँगै नयाँ सदस्यता वितरणको प्रक्रिया सुरु गर्न जोडदार माग गर्दछ ।’ ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

 

प्रेस सेन्टर बाँकेका अध्यक्ष राजेस आचार्यद्वारा हस्ताक्षरित उक्त ज्ञापनपत्रमा अगाडी भनिएको छ, ‘केन्द्रले सुरु गरेको शुद्धिकरण अभियानदेखि आत्तिएका केही संगठनहरुले केही सदस्य संख्याको बखेडा झिकेर महासंघ केन्द्रको मूल उद्देश्य र स्प्रीडभन्दा बाहिर जान गरिएको प्रयास र प्रचारप्रति आपत्ति जनाउदै केन्द्र र प्रदेशले सुरु गरेको अभियान अनुसार अगाडी बढ्न र नेपाल पत्रकार महासंघको विधान अनुसार संस्थागत तरिकाले शाखाको काम कारवाहीलाई अगाडी बढाउन आग्रह गर्दछ । नेपाल पत्रकार महासंघ केन्द्रले सर्कुलर गरेको निर्णय अनुसार महासंघको गरिमा बढाउन गरेको अभियानमा हाम्रो साथ समर्थनका साथै यदि नेपाल पत्रकार महासंघ केन्द्रले जारी गरेको नामावली जिल्लाले सार्वजनिक गरेर शुद्धिकरण र नयाँ सदस्यताको प्रक्रिया अविलम्ब कार्यान्वयन नगरिए हाम्रो संगठन चरणवद्वरुपमा आन्दोलनमा उत्रिने खबरदारी गर्दछ ।’

प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य शिव सुनारको नेतृत्वमा गएको एक टोलीले नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीलाई उक्त ज्ञापनपत्र बुझाएको हो । टोलीमा प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य डा. डक्टप्रसाद धिताल, नीति तथा परामर्श समिति सदस्य सुशील लामिछाने, प्रदेश उपाध्यक्ष प्रदिप वाग्ले, सचिब गजेन्द्र गुरुङ, जिल्ला अध्यक्ष राजेस आचार्य, उपाध्यक्ष सीता वलि, सचिब केपी घिमिरे, सह-सचिबद्वय तिलक नेपाली र डिल्ली शाही लगायत रहेका थिए ।

महासंघ बाँकेमा १३ जना थप सदस्य स्थानान्तरण गरिएपछि बिरोध, आन्दोलन गर्ने चेतावनी

नेपाल पत्रकार महासंघ बाँकेमा १३ जना थप सदस्य स्थानान्तरण गरिएकोप्रति जिल्लास्थित विभिन्न आस्थागत संगठनले बिरोध जनाएका छन् । महासंघ केन्द्रले गत बैशाख २५ गते जिल्ला शाखा बाँकेको हाल कायम सदस्य संख्याभन्दा धेरै अर्थात १३ जना सदस्य थप गरेर पठाएको थियो । महासंघ बाँके शाखालाई बिहीबार संगठनका अध्यक्षहरुले संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाउँदै गम्भिर ध्यानाकर्षण भएको जनाएका हुन् ।

गैरपत्रकारलाई सदस्य बनाएर ल्याउन खोजिएको जानकारी पाएपछि यसअघि गत पुसमा पनि प्रेस युनियन बाँके, प्रेस चौतारी लगायत संगठनले छुट्टा छुट्टै ध्यानाकर्षण पत्र महासंघ बाँके शाखालाई बुझाएका थिए । ‘नियोजित ढंगबाट काठमाण्डौंका एशोसिएट शाखाबाट हुलका हुल सदस्य बाँके शाखामा स्थानान्तरण गरिएको बिषय बिवादित बनेको थियो, ती सदस्यलाई नेपाल पत्रकार महासंघ बाँके शाखाले अस्वीकार समेत गरेको अवस्था छ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ ‘गत पुष २३ गते सम्पन्न १३ औं साधारण सभामा समेत सामुहिक तरिकाले सदस्यता स्थानान्तरण गरेको लगायतका विषयको उठान भएपछि विवाद समाधानका लागि साधारणसभाले सर्बसम्मत रुपमा विवाद समाधान समिति गठन गरेको सर्बवितितै छ ।’

जिल्लामा सदस्यताको बिषय बिवादित बनिरहेको अवस्थामा केन्द्रले १३ जना सदस्य थप गरी नाम सार्बजनिक गरेको कार्यले अचम्मित बनाएको ध्यानाकर्षण पत्रमा उल्लेख गरेका छन् । ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘देशभर उत्साहजनक तरिकाले सदस्यता शुद्धिकरण अभियान सञ्चालन भइरहेको परिप्रेक्ष्यमा बाँके जिल्लाका हकमा बिवादित बनेको बिषयलाई केन्द्र र प्रदेश समितिले जबरजस्ती थोपार्ने काम गरेको हाम्रो ठहर छ ।’

अतः बिवादित बनेका सदस्यहरुको नामावली हटाई तत्काल यसअघिको साधारणसभाले समेत पारित गरेका ३ सय २३ जना सदस्यहरुको मात्रै नामावली तत्काल सार्बजनिक गरी शुद्धिकरण अभियान, नयाँ सदस्यता वितरण र नवीकरण जस्ता कामहरु अघि बढाउन अनुरोध अनुरोध गरिएको छ ।

काठमाडौंका एशोसिएट शाखामा गैरपत्रकारलाई सहज तरिकाले सदस्यता दिने र एकमुष्ट रुपमा उनीहरुलाई जिल्ला शाखामा स्थानान्तरण गरेर महासंघ जिल्ला शाखालाई ‘भोट बैंक’ बनाउने जस्ता गतिबिधिलाई प्रोत्साहित नगर्न संगठनहरुले आह्वान पनि गरेका छन् । अन्यथा चरणबद्ध आन्दोलन गर्न बाध्य हुने चेतावनी दिइएको छ ।

पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीलाई नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, प्रेस चौतारीका अध्यक्ष दुर्गा रोकाय, प्रगतिशिल पत्रकार संघका जिल्ला संयोजक तिलक गाउँले र समाजवादी प्रेस संगठन बाँकेका अध्यक्ष लोकनाथ शर्माले उक्त ध्यानाकर्षण पत्र बुझाएका हुन् । ध्यानाकर्षण पत्रमा पत्रकार महासंघ केन्द्रीय समिति र काठमाण्डौं र महासंघ लुम्बिनी प्रदेश समितिलाई बोधार्थ दिइएको छ ।

Nabintech