१३ बैशाख २०८१, बिहीबार
पश्चिम रुकुम सोती घटनाको तीन बर्ष, न्याय पाउने लालसामा काठमाण्डौ धाउदै पिडित परिवार

कति छुटिसके रे अहिलेसम्म फैसला भएको छैन, दोषीलाई जन्मकैद होस्, मेरो छोरो मरे पनि न्याय नमरोस


  • टाइम्स संवाददाता

  • ११ जेष्ठ २०८०, बिहीबार १२:२३

रुकुम पश्चिम:  जाजरकोट भेरी नगरपालिका ४ रानागाउँका नवराज वि.क.सहित ६ जनाको सामूहिक हत्या गरेको जेठ १० गते तीन वर्ष पुग्यो। तर, नवराजकी आमा उर्मिला वि.क.का आँखा अहिले पनि रसाइरहन्छन्। छोराको सम्झनामा उनी टोलाइरहन्छिन्।

हत्याकाण्डको मुख्य दोषी छुट्दा न्यायको आशा मर्दै गएको उनले बताइन्। उनीहरूलाई जन्मकैद भए छोराको आत्मले शान्ति पाउने थियो। हामीले न्याय पाउने थियौं,’ उनले भनिन्, ‘न्यायकै लागि तीन /चारपटक काठमाडौं पुगिसक्यौं। रुकुम त जाने–आउने भइरहेको छ।’

पटक–पटक फैसलाको पेसी सरिरहेको छ। गत वैशाख २४ मा पेसी तोकिएकोमा जिल्ला न्यायाधीश विदेश भ्रमणमा रहेकाले जेठ ३० मा पेसी सारिएको छ। उर्मिला व्यग्रतापूर्वक जेठ ३० गतेलाई पर्खिरहेकी छन्। रुकुम जिल्ला अदालतले उक्त दिन अन्तिम फैसलाको पेसी तोकेको छ। तर, न्यायका लागि पर्खिनुपरेको तीन वर्ष धेरै लामो भएको उनी बताउँछिन्। आफ्ना छोराको हत्या गर्नेलाई कारबाहीका लागि आमाहरूले आवाज उठाउन भने छाडेका छैनन्। कहिले रुकुम अदालत पुग्छन् त कहिले धर्ना बस्न काठमाडौंको माइतीघर।

अन्तरजातीय प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्न भनेर २०७७ जेठ १० गते पश्चिम रुकुमको चौरजहारी ८ सोती पुगेका जाजरकोट खलंगाका नवराज वि.क. गाउँलेको कुटाइबाट मारिए। उनी मात्र होइन उनलाई साथ दिन गएका अरू पाँच जना युवाहरू पनि सँगै मारिए।

नवराजसहित ६ जनाको ज्यान गयो। नवराजको मल्ल थरकी एक किशोरीसँग दुई वर्षदेखि प्रेम सम्बन्ध रहेको र उक्त सम्बन्धलाई केटी पक्षले अस्वीकार गरेका कारण दुवै परिवारबीच सम्बन्ध राम्रो थिएन। छोरीको प्रेम सम्बन्ध मल्ल परिवारले सदाको लागि छुटाउन चाहन्थ्यो तर प्रेमी–प्रेमिकाले त्यो सम्बन्धलाई बिहेमा परिणत गरेर अझ मजबुद बनाउन चाहन्थे। केटा कथित तल्लो जातको र गरीब भएकै कारण केटीका आमाबाबुले त्यो प्रेमलाई स्वीकार गर्न नसक्दा ६ जनाको सामुहिक नरसंहार भएको दलित अधिकारकर्मीको भनाइ छ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका सोती गाउँमा ६ जनाले ज्यान गुमाएको घटनामा ३४ जनाविरूद्ध सामूहिक हत्या, जातीय छुवाछुत तथा भेदभावलगायतको अभियोगमा मुद्दा दायर भएको र ३४ जना नै पक्राउ परेकामा ११ जना उच्च र सर्वोच्च अदालतको आदेशले रिहा भएका र बाँकी २३ जना पुर्पक्षका लागि जेलमा रहेको जिल्ला अदालत, रुकुम पश्चिमका तहसिलदार विष्णुप्रसाद पौडेलले बताए। मुद्दाको फैसला अहिलेसम्म भएको छैन। आगामी जेठ ३० गते पेशी तोकिएकोे तहसिलदार पौडेलले बताए।

 

 

Nabintech