२ श्रावण २०८१, बुधबार
बाँकेका बन हेरालुहरु जिवन हत्केलामा राखेर वन सुरक्षा गर्दै

‘वन्यजन्तु बढ्दा डर लाग्दैन, बरु खुशी लाग्छ’


  • टाइम्स संवाददाता

  • १६ जेष्ठ २०८०, मंगलवार १०:४३

बाँके : ‘हाम्रो वनमा जन्तु बढेका छन्। घरपालुवा जनावर र मान्छे नै वन्यजन्तुले मारेका छन्। तर पनि हामीलाई डर लाग्दैन खुसी लाग्छ’, यो भनाइ हो बाँकेको राप्तीपीडित तथा गुलरी सामुदायिक वनका वन हेरालु धनीराम थारूको।

उमेरले ५६ वर्ष लागेका थारुको भनाइअनुसार आजभन्दा पाँच वर्ष पहिले उक्त सामुदायिक वन उजाड थियो। पाँच–छ वर्षयता वन जोगाउन थालेपछि वन हरियाली हुन थालेको र वन्यजन्तु पनि बढेको उनले बताए। बिहानै झिसमिसेमा उठेर वनभित्र छिरिसक्नुपर्ने उनी बताउँछन्। ‘एकाबिहानै उठेर वनमा छिरिसक्नुपर्छ। अलि ढिला गर् यो भने त घाँसदाउरा काट्ने र तस्करले जे पनि गर्न सक्छन्’, उहाँले भने, ‘घामपानी जे परे पनि समयमै वनभित्र छिरिसकेका हुन्छौँ हामी वन हेरालुहरू।’

बिहान ६ बजे वन कुर्न गएका थारु खाना खान ११ बजेमात्र घर फर्किने गरेका छन्। ‘भोकप्यास जे लागे पनि सहेरै वनलाई घाँसदाउरा चोर्न आउनेबाट जोगाउनका लागि साँझ ७ बजेसम्म बस्नैपर्छ’, उनले भने, ‘शिकारी पसेको सूचना पाउँदा त झनै रातिको ११–१२ बजेसम्म वनमै बस्नुपर्छ।’ वन्यजन्तुको आक्रमण हुने सम्भावना उच्च रहे पनि वन र सिकारीबाट वन्यजन्तुलाई जोगाउनकै लागि ज्यानको बाजी लगाएर वन हेर्नैपर्ने उनी बताउँछन्।

१२ वर्षदेखि वनको हेरचाह गर्दै आउनुभएका थारुले वन्यजन्तुको आक्रमणबाट कसरी जोगिने भन्ने विषयमा बेला–बेला तालिममा सहभागी हुने गरेको बताए। घरबाट २० मिनेटको बाटोमा साइकल चलाएर वनको हेरचाह गरेवापत् उनले मासिक १० हजार रुपैयाँ पाउँछन्। उनका अनुसार महिनाभरि वनको रेखदेख गरेर पाएको १० हजारले घर चलाउन गाह्रो छ। ‘दश हजारले के नै हुन्छ र! त्यै पनि मैले त आफ्नो जंगल हो भनेर काम गरिरहेको छु’, उनले भने, ‘पैसाभन्दा पनि जंगल र वन्यजन्तुले गर्दा हाम्रो चिनारी नै फरक भएको छ, म त वन हेरालु हुन पाएकोमा खुशी छु।’

धनीरामजस्तै सोही सामुदायिक वनमा हेरालुका रूपमा कार्यरत छन्, ४० वर्षका फटाहु थारू पनि। उनीे पनि वनमा वन्यजन्तु बढेकोमा निकै खुसी लागेको बताउँछन्। ‘वनमा वन्यजन्तुको संख्या बढेपछि हाम्रो गाउँ र वनमा घुम्न आउने आन्तरिक पर्यटक पनि बढेका छन्’, उनले भने, ‘यो कुराले हामी सबै गाउँले निकै खुशी छौँ।’

आफ्नै वनसँग रमाउन मन लागेर अनि यहाँका पशुपक्षी र वन्यजन्तुको हेरचाह गर्न मन लागेर आफू ‘वन हेरालु’ भएको फटाहुले बताए। घरपरिवारले विदेश गएर पैसा कमाउने सल्लाह दिए पनि उनलाई भने वन हेरालु नै हुन मन परेको छ। ‘महिनाको जम्मा १० हजारले केही हुँदैन, उमेर छँदै विदेश गएर अरु साथीले झैँ टन्नै पैसा कमा भन्नुहुन्छ बाआमा। तर मलाई आफ्नै वनको सुरक्षा गर्नुछ’, उनले भने, ‘पैसा थोरै छ तर आफ्नो वनलाई जोगाउने काम गरेको छु। वन जोगिएसँगै वन्यजन्तु पनि जोगिएका छन्। उनीहरूको सङ्ख्यामा वृद्धि भएको छ, म यसैमा खुसी छु।’

राप्ती पीडित तथा गुलरी सामुदायिक वनका संयोजक अजोदया थारूले वन संरक्षण भएदेखि उक्त सामुदायिक वनमा केही भारतबाट र केही बाँके राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु आउने गरेको बताए। ४९८ हेक्टर क्षेत्रफलमा रहेको उक्त सामुदायिक वनमा पाटेबाघ, चितुवा, नीलगाई, चित्तल, बँदेल, खरायो, स्याल, रतुवालगायत रहेका छन्। उहाँको भनाइअनुसार अहिले उक्त सामुदायिक वनको ‘वन हेरालु’का रूपमा छ जना छन्।

२०६४ देखि ‘वन हेरालु’का रूपमा काम गरेर अहिले हेरालुको संयोजक रहेका अजोदयाका अनुसार बाँकेको कम्दी करिडोरमा ३८ वटा सामुदायिक वन छन् भने २८  हेरालु’ छन्। मासिक तीन हजारबाट वनको हेरचाह गर्न सुरु गरेका उनले उनको मासिक तलब १५ हजार रुपैयाँ छ। वनको रेखदेख गरेवापत उहाँले पाउने उक्त रकम थारै भए पनि धनीराम र फटाहुलाई जस्तै वनको मायाले संयोजकको जिम्मेवारी सम्हाल्दै काम गरिरहेको उनी बताउँछन्।

Nabintech