२०५२ साल माघ २२ गतेका दिन तत्कालीन संयुक्त जनमोर्चाका नेता डा. बाबुराम भट्टराईले राष्ट्रियता र जनजिविकाका सवाल ४० बुदे मागमा समेटी १५ दिने अल्टिमेटम सहित तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटी ज्ञापन पत्र बुझाए । तर उल्लेखित मागको सुनुवाइमा शेर बहादुर देउवाले तदारुकता नदेखाएपछि अल्टिमेटमको समय सिमा नसकिदै २०५२ साल फागुन १ गते नेकपा माओवादी पार्टीले नेपालमा सशस्त्र युद्धको सुरुवात गर्यो ।
माओवादी पार्टीले रुकुम रोल्पाका दुर्गम स्थानहरुलाई आफ्नो आधार इलाकाका रुपमा विकास गर्दै लग्यो भने दुर्गम पिछडिएका बस्तीका युवा युवतीहरूलाई सैन्य स्रोतको रुपमा । देशमा हत्या प्रती हत्याको शृङ्खला शुरुभयो। कयौं मानिसहरूले सुराकीको आरोपमा अमानवीय तरिकाले मृत्यु बरन गरे त कयौंले शोषक शामान्ती भएको अभियोगमा । कयौंले देशद्रोहीको रुपमा गोलि पिए त कसैले आतंककारीको रुपमा । दुबै पक्षबाट मारिनेहरु मध्ये कयौं निर्दोषहरु थिए । यो कहालीलाग्दो शृङ्खला एक दशक चल्यो।
गरिब र उत्पीडित बर्गका अमुल्य सन्तानहरुले आफ्नो साहदतले बर्गियमुक्ती प्राप्त हुन्छ भने किन बलि नचढ्ने भन्ने मान्यताले सगौरब युद्ध भुमिमा होमिए। त्यहाँका गरिब र सर्बहारालाई भनिएको थियो यो अन्तिम युद्ध हुनेछ र यो युद्धको विजयी हामिनै हुनेछौ, हाम्रो विजय पछि यहाँ दासता हुनेछैन । सम्पूर्ण बिभेदको अन्त्य हुनेछ र क्षमता अनुसारको काम गर्ने र आवश्यकता अनुसारको दाम पाउने साम्यवादी ब्यबस्थाको उदय हुनेछ। राष्ट्रिय दुश्मनहरुको प्राजय पछि भारतीय बिस्तारवाद र अमेरिकी साम्राज्यवादको विरुद्धमा हाम्रो लडाइ हुनेछ। भारत सग सुरुङ्ग युद्द लडिनेछ अमेरिकी सामराज्यवाद र भरतिय विस्तारवादको समुल नस्ट गरिनेछ। हाम्रो विजय पछि देश स्वर्ण युगमा प्रवेश गर्नेछ।
यस्तै गुलियोले भरिएका भाषणले युवा युवतीहरूलाई मर्ने र मार्ने मानसिकताको उच्चतम भावनामा पुर्याइदियो । माओवादी पार्टीको सशस्त्र युद्धको प्रभाव नेपालका ग्रामीण भेगमा बिस्तार हुदैगयो भने सरकारको प्रभाव नेपालका सुगम र शहरी क्षेत्रमा सिमित हुन पुग्यो। माओवादी पार्टीका तल्लो तहका लडाकु र कार्यकर्तामा देश परिवर्तन र समृद्धिको उत्कट आकाङ्क्षा र गहिरो राष्ट्रप्रेम थियो। उनीहरुको इमानदारीतामा कहिँकतै खोट थिएन। ग्रामीण क्षेत्रमा हुने अन्याय अत्याचारमा पुर्ण प्रतिबन्ध लाग्यो । तर जनयुद्धका लागि सहयोग भन्ने आतंक बाट कोही जनता मुक्त रहेनन् । किसान बाट अन्न उठाइन्थ्यो । मिलिसियाहरुको खानपिनको प्रबन्ध किसानहरुको जिम्मामा थियो । कर्मचारीबाट तलबको निश्चित प्रतिशत मासिक चन्दा स्वरुप असुल गरिन्थ्यो । कुनैपनी ब्यक्तिले गाउछोड्न जनसरकारको अनुमती लिनुपर्थ्यो । कुनैपनि ब्यक्तिले उनीहरुको विरोध गरेमा वा नियम पालन नगरेमा कडा कार्वाहीको सिकार हुनुपर्थ्यो।
नेपालको ग्रामीण क्षेत्रमा माओवादीले समानान्तर सरकारको गठन र अभ्यास गर्यो। माओवादीको आफनै नियम थियो, आफनै कानुन थियो। उनीहरूको आफ्नै साम्राज्य थियो तर सो साम्राज्यमा जनताको जीवनस्तर उकास्ने कुनै प्रयोग थिएन। हिजोका माओवादीका आधार इलाकाहरुमा बसोबास गर्ने जनताको आजको अवस्था पनि आसातित परिवर्तन भएको छैन।
२०६३ साल मङ्सिर ५ मा माओवादी र सात राजनीतिक दल बिच भएको १२ बुदे दिल्ली सम्झौता पश्चात् दस बर्षे सशस्त्र युद्धको अन्त्य सगै माओवादी पार्टीको खुला राजनीतिक यात्रा सुरुभयो। जुन देशलाई विस्तारवादी भनेर सुरुङयुद्ध गर्ने भन्दै जनताका बिचमा चर्का भाषण र राष्ट्रवादी नारा लगाउने माओवादी ले विस्तारबादी भारतकै सहतीकरणमा भारतकै राजधानीमा युद्ध अन्तय गर्ने सम्झौतामा हस्ताक्षर गर्नु आफैमा बिरोधाभाष थियो र यसले कतै माओवादी सशस्त्र युद्धमा भारतको आशीर्वाद त थिएन भन्ने प्रश्न उब्जाइदियो। खुला राजनीतिमा आएको माओवादी २०६४ सालको पहिलो संविधान सभाको चुनावमा जबर्जस्त रुपमा उदाउदै पहिलो पार्टी बन्न पुग्यो ।
माओवादीलाई पहिलो पार्टी बनाउन दुईवटा मनोबैज्ञानले काम गर्यो, एउटा नेपाली जनता युद्धको बिभिषिका बाट मुक्त हुन चाहान्थे जस्कोलागि माओवादीलाई जिताउनुपर्छ र पुन युद्धमा फर्किनबाट रोक्नुपर्छ भन्ने थियो र अर्को माओवादीले आफुले उठाएका माग आफुसत्तामा जादा पूरा गर्यो भने देश एउटा युगान्तकारी परिवर्तनमा जाना सक्छ भन्ने थियो । विडम्बना माओवादीको उदयबाट देशमा साशकिय परम्परामा र संरचनामा त परिवर्तन आयो तर केही थान नेताको बाहेक अरुकसैको जिन्दगीमा गुणात्मक परिवर्तन आएन । खुला राजनीतिक यात्रामा आइसके पछि माओवादी सहायतै सत्ता बाहिर होला। तर हिजो अमुल्य जीवनको आहुती गर्ने योद्धाका परिवारमा परिवर्तनको कुनै गुणजायस छैन। जनताको जीवनस्तर खस्किरहेको छ । राष्ट्रियता झन्झन् कमजोर हुँदै गएकोछ। बेरोजगारी को समस्या विकराल हुँदै गएकोछ। देश प्रणालीमा चल्न सकेको छैन । माओवादीको ओरालो यात्रा निरन्तर चलिरहेको छ।
दस बर्षे सशस्त्र युद्धबाट उदाएको पार्टी डेढ दशकको अवधिमै कसरी आफ्नो बर्चस्व गुमाउन पुग्यो यो कुरा सोचनिय छ। माओवादी पार्टी खुला राजनीतिमा आउदा नै आफ्नो मूल्य मान्यता र सिद्धान्त लाई युद्ध मोर्चामै छोडेर आयो । मुठ्ठी भर नेताहरूको जीवनशैली कुलीन बर्गमा बद्लियो । सत्ता र शक्तिको आसक्तिले पाच्य अपाच्य गठबन्धनमा जोडिने र तोडिने सस्कृती बढ्यो। नातावाद, कृपावाद र विभिन्न आर्थिक अनियमितताको सस्कार बद्लिएन र पुराना भनिएका पार्टी र माओवादी पार्टी बिच कुनै तात्विक भिन्नता रहेन । माओवादी विभिन्न कालखण्डमा टुट्फुट्को शृङ्खला बाट गुज्रियो। यसको ओरालो यात्रा अझै रोकिने छाट्काट छैन।
के माओवादी अब देशबाट हरायरै जानेहोत ? यो प्रश्नको उत्तर उसको व्यबहारमा निर्भर गर्नेछ। अहिले सम्मको उसको व्यबहारबाट कुनै राम्रो छनक देखिएको छैन। सन १९८० मा गठन भएको भारतको भारतीय जनता पार्टी र भारतकै आमआदमी पार्टीको जबर्जस्त उदय, बेलायती प्रधानमन्त्री ऋषि सुनकको सत्तारोहण, चीनिया राष्ट्रपति सिजिङ्पिङ लाई नेतृत्वमा राख्न संविधान नै संसोधन गरेको नजिर , नेपालमै केही स्वतन्त्र ब्यक्ति र नयाँ पार्टीको उदयले के देखाउछ भने अब चिल्ला भाषणले मात्रै जनताले मान्नेवाला छैनन् ।
बिश्व भुमण्डलीकरमा गालिएका जनता हिजोका जस्ता छैनन् । आजका जनाताले परिणाममुखि काम गर्ने सक्षम नेतृत्व चाहिरहेका छन। त्यसकारण माओवादीले नेपाली राजनीतिको नेतृत्व गर्न चाहन्छ भने जनपक्षीय कामको शुरुआत गर्न कुनै कसर बाकी राख्न हुदैन । प्रचण्ड नेतृत्वको वर्तमान सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खोल्दा मात्रै पनि जनतामा माओवादी प्रतिको आशाको सुचक ह्वात्तै उकालो लागेको थियो तर जब केही अभियुक्तहरुले नाम पोलेका र जनताले शङ्का गरेका शक्तिशाली ब्यक्तिहरुलाई अनुसन्धानको दायरामा ल्याउन सकेन त्यही गतिमा उ प्रतिको जनविश्वास ओरालो लाग्यो ।
यसबाट के देखिन्छ भने देशको वास्तविक समस्या सामाधान गर्नुभन्दा पनि जसरी हुन्छ सत्ता र शक्तिमा रहिरहन चाहान्छ माओवादी र त्यसको लागि उ जेसुकै गर्न तयार छ। हुनत माओवादीको बिगत हेर्नेहो भने कयौं मुद्दामा दोहोरो रुप देखिएको छ । यसको उदाहरणका लागि एमसीसी पासकै मुद्दालाई लिन सकिन्छ। माओवादीका उच्च तहका नेताहरू नै कुनैपनी हालतमा एमसीसी पास गर्दैनौ भन्ने रटान गरिरहे । सडकमा आफ्न कार्यकर्ता उतारेर बिरोध गर्न लगाए तर अन्ततोगत्वा ब्याख्यात्मक टिप्पणीको टालो ओडी माओवादी एमसीसीको पक्षमा उभियो र पास गरियो।
माओवादी पुनर्जागरणको उपाय के त ? त्यसको एउटै उत्तर छ जनपक्षीय काम । समकालीन माओवादी नेताहरू प्रती जनविश्वास हटेको अवस्था छ। पछिल्लो पुस्ताका कुनै नेताले कर्म बाट जनताको विश्वास जिते भने सम्भावना रहन्छ। भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातको मुख्यमन्त्री हुदा देखाएको परिणामले भारतीय जनता पार्टीलाई सत्तामा पुर्याइदियो । उनी प्रथम कार्यकालको लागि प्रधानमन्त्री हुदा बिश्वको ११ औं ठूलो अर्थतन्त्रको रुपमा रहेको भारत आज बिश्वको पाचौ ठूलो अर्थतन्त्रमा उक्लिएको छ। माओवादीले बुझ्नुपर्छ यदी उसले पुनर्जागरण चाहान्छ भने जनताको जनजीवनमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्ने कार्य शुरु गर्नुपर्छ।