जातीय अहंकारको अदृश्य आगोले त देशभर दिनदिनै दलितको मन जलाइरहेकै छ। दलितलाई पाइला–पाइलामा पोलिरहेकै छ। कथित उच्च जातकी केटीसँग प्रेम-विवाह गरेका कारण असार १७ गते (२०८०) जुम्लामा मुकेन्द्र नेपालीको घरमा दन्केको आगो त त्यसैको प्रकट रूप मात्रै हो। जातीय विभेदको आगो सयौँ वर्षदेखि मुलुकभरि नै दन्किरहेको छ। जसले सामाजिक सद्भाव, राष्ट्रिय एकता र मानवता जलाइरहेको छ। यो आगो अझै नियन्त्रण नगर्ने हो भने यसले एकदिन सिंगो देश मुकेन्द्रको घरझैँ सखाप नपार्ला भन्न सकिन्न।
जब आफ्नी बहिनी ‘तल्लो जाति’ले भगाएको कुरा काठमाडौंमा अध्ययनरत २२ वर्षीय हिक्मत गिरीले थाहा पाउँछन्, तब उनी ‘आगो’ हुँदै असार १६ गते घर फर्किन्छन् र भोलिपल्ट बिहानै ३ बजेतिर मुकेन्द्रको घरमा आगो लगाउँछन्। जतिबेला सबै जना मस्त निद्रामा थिए। यसैले वरपरका छिमेकीले पनि मुकेन्द्रको घरमा आगो सल्किएको एक घण्टापछि मात्रै थाहा पाउँछन्, त्यतिबेलासम्म घर जलिसकेको थियो। संयोगवश त्यस दिन घरमा कोही नभएकाले तीनतले कच्ची घर र त्यसभित्रका सबै सामान स्वाहा भए पनि मान्छेलाई केही हुन पाएन। नत्र मुकेन्द्रको परिवार जिउँदै जल्ने सम्भावना थियो।
एक सय ३ वर्ष (१९७७ असार २५) अघिसम्म यो मुलुकमा जसरी सतीप्रथाले महिलाहरूलाई जिउँदै जलाइरहेको थियो, त्यसैगरी जातिप्रथाले त आजसम्मै दलितहरूलाई जिउँदै जलाइरहेको छ भन्दा अत्युक्ति नहोला। छुवाछूतजन्य दुर्व्यवहारले दलितहरू मानसिक रूपमा त यसै पनि जलिरहेका छन्, भौतिक रूपमै पनि उनीहरूको जीवन ध्वस्त पारिरहेको छ- जातिप्रथाले। छोराले तथाकथित उच्च जातकी युवतीसँग विवाह गरेकै कारण मारिएका दैलेखका सेते दमाई, अन्तरजातीय प्रेम गरेकै कारण हत्या गरिएका रुकुम-पश्चिमका नवराज विक र काभ्रेका अजित मिजार यसैका प्रमाण हुन्।
मान्छे (दलित)–मान्छे (गैरदलित) बीच माया बस्नु, प्रेम हुनु प्राकृतिक कुरा हो। जसलाई कृत्रिम (बनावटी) जातले कहाँ रोक्न सक्छ र! तर जातीय विभेदको विषाक्त विचारले ‘बेहोस’ व्यक्तिहरूले आजसम्म दलित पनि हामीजस्तै मान्छे हुन् भनेर चिन्न सकेका छैनन्। यसैकारण उनीहरू हत्या गरेर हुन्छ कि घरमा आगो लगाएर- दलित-गैरदलित प्रेम/विवाह रोक्न भरमग्दुर प्रयास गरिरहेका छन्। तर जातपातका मानसिक रोगीहरूले के बुझ्न जरुरी छ भने व्यक्ति हत्याले शाश्वत मायाप्रेमलाई कहिले छेक्न सकिन्न। सकिने भए अजित मिजार मारिएयता नवराज विकले गैरदलित केटीसँग प्रेम नगर्नुपर्ने, अनि ५ साथीसहित उनको बीभत्स हत्यापछि फेरि अहिले जुम्लाका मुकेन्द्र नेपाली गैरदलित केटी लिएर नभाग्नुपर्ने! किनकि साँचो प्रेम गर्नेहरू मर्नदेखि डराउँदैनन् अथवा प्रेमका अगाडि मृत्यु गौण कुरा हो। यहाँनिर भन्न मन लाग्छ– ए जातिवादीहरू हो! बरु तिमीहरू पनि दलित युवाहरूबाट सिक वास्तविक प्रेम गर्न। विशेषगरी दलित समुदायका छोरीहरूसँग प्रेमको नाटक गरेर जातकै कारण धोका दिने गैरदलित पुरुषहरूले।
अहिले मुकेन्द्र आफ्नी प्रेमिकाका साथ जहाँ छन्, पक्कै असुरक्षित छन्। कुनै पनि बेला उनी मारिने खतरा छ। पंक्तिकार यही लेखमार्फत सरकारसँग आग्रह गर्छ- उनीहरूको ज्यानको सुरक्षा गरियोस्। खासमा मुकेन्द्रलाई नभेटेकै कारण उनको घरमा आगो लगाइएको हो।
मुकेन्द्रको घरमा झोसिएको आगो कसैलाई लाग्नसक्छ– केवल एउटा दलितको घरमा झोसिएको हो। तर होइन। त्यो त ‘जात व्यवस्था नमान्ने’ गणतन्त्र, संविधान र सिंगै परिवर्तनविरुद्ध झोसिएको आगो हो। यसलाई यसरी बुझ्ने हो भने त्यो घटना दलित समुदायको मात्र मुद्दा होइन, सामाजिक न्याय, समानता र मानवताका पक्षधर सम्पूर्ण नागरिक, राजनीतिक दल र संघसंस्थाकै सवाल हो/हुनुपर्छ।
पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई भन्छन्, ‘यो एउटा दलित युवा र परिवारमाथि गरिएको अपराध मात्र हैन, एक्काइसौँ शताब्दीको उन्नत चेतना, मूल्य/मान्यता र मानवताविरूद्धकै अपराध हो। तीन हजार वर्षदेखिको शास्त्रको आड पाएको वर्ण विभेदको जुन अमानवीय प्रणाली नेपाल र दक्षिण एसियामा जरो गाडेर बसेको छ, त्यसलाई समूल नष्ट गर्न दलित मात्र हैन, सम्पूर्ण मानवतावादी उन्नत चेतना भएका मानिसहरूको संयुक्त पहलमा अर्को एउटा क्रान्ति अनिवार्य भइसकेको छ।’
दलितका लागि अहिले पनि राजतन्त्र !
२३९ वर्षदेखि जरा गाडेर बसेको राजतन्त्र देशबाट बिदा (२०६५ जेठ १५ गते) भएको १५ वर्ष बितिसकेको छ। तर दलित समुदायका लागि अहिले पनि राजतन्त्र नै छ भन्दा फरक पर्दैन। किनकि निश्चित कुल/परिवारमा जन्मेकै कारण मुलुकको मालिक (राजा) हुने व्यवस्था राजतन्त्र त हट्यो तर जन्मकै आधारमा कोही सर्वाेच्च जाति त कोही नीच (अछूत) हुने हजारौँ वर्ष पुरानो ‘जाततन्त्र’ जिउँका तिउँ छ। तसर्थ जबसम्म देशबाट ‘जाततन्त्र’ अन्त्य हुँदैन, तबसम्म दलितका लागि गणतन्त्र आउँदैन।
यसो भन्दा कतिपयलाई लाग्नसक्छ– अब त कहाँ छ र जातीय भेदभाव/छुवाछूत? दलितले हीन भावना हटाउनुपर्यो। यसमा मेरो प्रतिप्रश्न छ– जहाँ जातकै कारण मान्छे मारिँदै छ, घर जलाइँदै छ, त्यहाँ जातप्रथा जिउँदै छ भन्ने योभन्दा ठूलो प्रमाण के चाहियो?
दलितसँग प्रेम/विवाह गर्दा के हुन्छ?
यसको जवाफ सोच्नुभन्दा पहिला यो प्रश्न गर्नु आवश्यक हुन्छ– दलितले छोएको खाँदा के हुन्छ? किनभने जातीय विभेदको सुरुवात बिन्दु यही हो।
दिनदिनै देखिने प्रमाणले भन्छन्– दलितले छोएको खानेकुरा खाँदा केही हुँदैन। दलितले छोएका पानी, खाना खानेहरू कसैलाई अहिलेसम्म पखाला लागेको छैन, एड्स लागेको छैन,…।
अब जाऊँ– गैरदलितले दलितसँग प्रेम/विवाह गर्दा के हुन्छ? अहिले त यसका पनि थुप्रै प्रमाण उपलब्ध भइसकेका छन्। जसले भन्छन्– केही हुँदैन, हुँदै हुँदैन। दलित–दलित वा गैरदलित–गैरदलितबीच प्रेम/विवाह गर्दा जस्तो हुन्छ, त्यस्तै हुन्छ।
आजसम्म तपाईंले दलित-गैरदलित युवक-युवती वा युवती-युवकबीच समागम हुँदा ‘देउता रिसाएर’ चट्याङले हानेको देख्नुभएको छ? अथवा, उनीहरूबाट मान्छे नभएर अर्कै जन्तु जन्मिएको पाउनुभएको छ? अझ भनिन्छ फरक जातिका महिला-पुरुषबीचको यौन सम्बन्धबाट जन्मने बच्चा तीक्ष्ण बुद्धिका हुन्छन्।
यसबाट प्रस्ट हुन्छ– ‘जात’ नितान्त भ्रम, अन्धविश्वास, फोस्रो आडम्बर र अहंकारबाहेक केही होइन। र, पनि हाम्रो बुद्धिमा लागेको बिर्काे किन खुल्दैन!
युवा र ‘शिक्षा’प्रतिको भ्रम
हामीलाई लाग्छ– जातीय अन्धविश्वास त बूढा–पुराना व्यक्तिमा मात्र छ, नयाँ पुस्ता र युवामा भेदभावको भावना छैन। तर जुम्लामा मुकेन्द्र नेपालीको घर जलाउने हिक्मत गिरी भर्खर २२ वर्षका युवा हुन्। खोइ त उनमा परिवर्तन आएको? अतः शरीर नयाँ (युवा) हुँदैमा विचार पनि नयाँ हुँदैन। सर्वेक्षण गर्ने हो भने हामी धेरै त्यस्ता युवा भेट्नेछौँ, जसको दिमाग भने हजारौँ वर्ष पुरानो छ। किनभने जातीय परम्परा पुस्तान्तरण भइरहेको छ। जसले गर्दा शरीरले नाति भए पनि विचारले ऊ हजुरबा नै रहनसक्छ। तसर्थ युवाजति सबै जात नमान्ने र वृद्धजति सबै जातिवादी हुन्छन् भन्ने भ्रमबाट पनि हामी मुक्त हुन जरुरी छ। मान्छे उमेरले होइन, विचारले नयाँ–पुराना हुन्छन्। अहिले हाम्रो देशमा त्यस्ता धेरै गैरयुवा पनि छन्, जो जातको भ्रमबाट मुक्त भइसकेका छन्।
धेरैले भन्ने गरेको अर्काे कुरा हो– जातीय भेदभाव र छुवाछूत हटाउन शिक्षाको जरुरी छ। तपाईं भन्न सक्नुहुन्छ– पढेलेखेकाहरू कोही जात मान्दैनन्? उनीहरू सबै दलित–गैरदलित प्रेम/विवाहका पक्षमा छन्? कदापि छैनन्। विश्वविद्यालयबाट ठूलठूला डिग्री लिएकाहरू पनि जातका कुरामा कट्टर छन्। तसर्थ शिक्षा र चेतना फरक कुरा हुन्। जसमा मानवताको चेतना जागेको छ, ऊ एक कक्षा नपढेको भए पनि जातीय छुवाछूत मान्दैन। त्यसो त हाम्रा विद्यालय/विश्वविद्यालयले राष्ट्रकै गम्भीर समस्या, अझ मानवताकै कलंक जातपात प्रथाविरुद्धको शिक्षा नै कहाँ दिन्छन् र! त्यसैले औपचारिक अध्ययनका आधारमा कोही चेतनशील र मानवतावादी हुन्छ भन्ठान्नु पनि भ्रम हो।
यसको ताजा प्रमाण मुकेन्द्र नेपालीको घर जलाउने हिक्मत गिरी हुन्। जो काठमाडौंमा पढिरहेका छन्। २२ वर्षका उनी पक्कै यहाँ उच्च शिक्षा अध्ययन गरिरहेका छन्। हामीले भनेको शिक्षाले मानवीय चेतनाको विकास गर्ने भए हिक्मतले मुकेन्द्रको घर जलाउने दुस्साहस होइन, बरु आफ्ना आमा–बुवालाई सम्झाउने हिम्मत गर्नुपर्थ्यो। तर दलितले आफ्नो बहिनीसँग प्रेम–विवाह गरेकामा सबैभन्दा बढी रिस उनैलाई उठ्यो। जसका कारण अहिले उनी प्रहरीको हिरासतमा पुगेका छन्।
अन्तरजातीय प्रेम गर्नेले पनि विचार गर्नुपर्ने पक्ष
जुम्लाका मुकेन्द्रले भगाएकी केटी नाबालिग भएको दाबी अभिभावकले गरिरहेका छन्। यसर्थ सहमतिमै भए पनि नाबालिग (१८ वर्षभन्दा कम उमेरकी) किशोरीसँग सम्बन्ध बनाउनु हुँदैन, त्यो काम कानुनविपरीत हुन्छ भन्ने कुरा बुझ्न जरुरी छ। भावनामा बहकिएर गैरकानुनी काम गर्दा आफैँले दुःख पाइन्छ। जातिवादीहरूलाई जित्ने ठाउँ बन्छ।
तर यसो भनेर बालविवाह गर्नेको घरै जलाउनु पनि कानुनसम्मत काम कदापि होइन। त्यो अर्काे अपराध हो। त्यसमा पनि जातकै कारण त्यसो गरिनु मानवताविरुद्धकै महाअपराध हो। हिक्मत गिरीलाई हदैसम्मको सजाय हुनुपर्छ।