नेतृत्वमा औषत मानिस भन्दा भिन्न क्षमता हुन्छ। नेतृत्व एक कौशल हो, समाजलाई सहि दिशा निर्देश गर्ने कौशल । यो अदितिय क्षमता सबैमा हुदैन र त सबै नेतृत्वमा पुग्न सक्दैनन् । कोही पुगिहाले पनि टिक्न सक्दैनन्, टिके पनि दुरगामी महत्त्वका काम गरेर अमर रहन सक्तैनन् । बिश्वमा औंलामा गन्न मिल्ने ब्यक्तिहरु छ्न जस्ले कठिन चुनौतीलाई अवसरमा बदल्दै आफ्नो नाम इतिहासका पानामा स्वर्ण अक्षरले दर्ज गर्न सफल भएका छ्न । ती सबै कथनीले हैन करणीले सफल भएका हुन।केही दृष्टान्त को चर्चा गरौं ।
भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो कर्मको कारण नेतृत्वमा स्थापित नेता हुन । सन २००१ देखि २०१४ मे २२ सम्म भारतको गुजरात राज्यको मुख्यमन्त्री भएर देशको सेवा गरे। गुजरातको मुख्यमन्त्री हुँदा उनले देखाएको सफलताले उनलाई भारतीय जनता पार्टीले सन २०१४ को लोकसभा चुनावमा प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सार्यो । उनी आफ्नो मिसनमा सफल भए र पार्टीलाई पनि सफल बनाए।
उनी सन २०१४ मे २६ मा भारतको चौधौं प्रधानमन्त्री नियुक्त भए । उनी प्रधानमन्त्री हुदैगर्दा भारत बिश्व अर्थतन्त्रको एघारौं स्थानमा थियो । तर उनको प्रधानमन्त्रीको रुपमा दोस्रो कार्यकालको उत्तरार्ध तिर आइपुग्दा ३(२ ट्रीलियनको जिडिपी सहित भारत बिश्व अर्थतन्त्रको पाँचौ स्थानमा आइपुगेको छ र २०२९ सम्म बिश्व अर्थतन्त्रको तेस्रो स्थानमा उक्लने लक्ष्य राखेको छ। कार्यकारी पदमा आसिन ब्यक्तिको स्पष्ट दृस्ठिकोण, दृढ इच्छाशक्ति र रचनात्मक कार्यशैलीले छोटै समयमा पनि तीब्रतर सकारात्मक परिवर्तन सम्भव छ भन्ने कुराको जिउँदो दृष्टान्त वर्तमान भारतलाई लिन सकिन्छ ।
त्यस्तै चर्चागर्न मिल्ने नाम हो महाथिर बीन मोहम्मद । महाथिर बीन मोहम्मदलाई आधुनिक मलेसियाका रचियता मानिन्छ। सन १९८० सम्म सामान्य आर्थिक अवस्था भएको मलेसिया आज दक्षिणपुर्बी एसियाको मात्र नभइ एसियाकै आर्थिक केन्द्रको रुपमा अगाडि आएको छ । लाखौं बिदेशी कामदारका लागि रोजगारीको गन्तव्य बनेको छ। मलेसियाले छोटो समयमै आर्थिक उन्नति गर्नुको पछाडी महाथिर बीन मोहम्मदको दृष्टिकोणको चर्चा हुनेगर्छ ।
महाथिर बीन मोहम्मद सन १९८१ मा मलेसियाको चौथो प्रधानमन्त्रीको रुपमा निर्वाचित भएका थिए। चिकित्सा क्षेत्रबाट राजनीतिमा आएका महाथिरलाई आधुनिक मलेसियाको निर्माताको रुपमा लिइन्छ। उनी सत्तामा आएपछि मलेसियाको सर्वाङ्गिन विकासका लागि नीति निर्माण गर्दै त्यसको इमानदार कार्यन्वयन र सतप्रयास बाट उनले मलेसिया लाई छोटै समयमा एउटा उम्दा राष्ट्रको रुपमा विकास गरे।
यस्तै अर्को चर्चागर्न मिल्ने नाम हो आधुनिक सिङ्गापुरका निर्माता लि क्वान यु । सिङ्गापुर मलेसिया र इन्डोनेशियाको बिचमा रहेको राष्ट्र हो । झण्डै सातसय पचास बर्गकिलोमिटर क्षेत्रफल भएको यो राष्ट्रको अवस्था सन १९६० को दशक सम्म नाजुक थियो। सन १९५९ मा जब लि क्वान यु सत्तामा आए, विभिन्न उतारचढावका बाबजुद सिङ्गापुरको स्थितिमा क्रान्तिकारी परिवर्तन ल्याए । आज सिङ्गापुर जापान पछि उच्च प्रतिब्यक्ती आय भएको एसियायी मुलुक हो ।
अब कुरा गरौं कोहलपुर विकासको । मिति २०८० साउन १९ गतेको नगरप्रमुखद्वारा हस्ताक्षरित सूचना पत्रमा कोहलपुर नगरपालिकाको बेरुजु रकम ४३ करोड ६६ लाख ३२ हजार ७ सय ८६ रहेको जानकारी दिदै यसलाई ट्रयाकमा ल्याउन पहलकदमी लिने कुरा उल्लेख छ।
सर्बप्रथम त बेरुजु के हो ? सार्बजनिक आय र व्ययको कार्य प्रचलित कानुनी विधि, प्रक्रिया पूरा नगरी गर्दा देखापर्ने अनियमित रकमलाई बेरुजु भनिन्छ । यो आर्थिक कारोबारको हिनामिना हो जसलाई आर्थिक अनुशासन हिनताको उपजको रुपमा लिइन्छ। यो प्रचलित कानुन बमोजिम पुर्याउनुपर्ने रीत नपुर्याई कारोबार गरेको, राख्नुपर्ने लेखा नराखेको, बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको रकमकलम हो जुन लेखापरीक्षकले लेखापरीक्षण गर्दा औंल्याएको हुन्छ।
बेरुजु जस्को पालाको होस ,आर्थिक बेरुजु भनेको सुशासनको बर्खिलाप हो भन्ने बुझ्न जरुरी छ। सुशासन बिना कुनैपनी सस्थाको उन्नयनको परिकल्पना गर्न सकिदैन । त्यस कारण नगरप्रमुखले गरेको वाचा बमोजिम आउँदा दिनमा बेरुजु शुन्यमा झरोस शुभकामना ।
कोहलपुर टाइम्सको श्रावण १७ को अङ्कमा मैले आफ्नो लेख मार्फत सात वटा विषयमा सवाल उठाएको थिए । पत्रीकाको स्तरमा प्रश्न उठाइयो, सम्पादक प्रती रोष प्रकट गरियो,सञ्चार माध्यमलाई नजर अन्दाज सम्म भयो । तर म अहिले पनि विश्वस्त हुनसकेको छैन कि कुनैपनी विकासका आयोजना सम्बन्धित स्थानीय सरकारको जानकारी बिना कसरी सम्पन्न हुन्छन ?
ल मानिदिउ स्थानीय सरकारलाई जानकारी भएन । अब जागौ र सचेत हौ । पालिका भित्र कुनैपनी निकायबाट हुने विकासका कार्यक्रम स्थानीय सरकारको सहकार्य बिना गर्न नपाइने नियम बनाएर कार्यन्वयन गरौं । पालिका छ, पालिका अन्तरगत पन्ध्र वडा छ्न, प्रत्यक वडामा पाँच जना जनप्रतिनिधि हुने संबैधानिक ब्यबस्था छ । कसरी संभावना रहन्छ पालिका अन्तरगत हुने विकास निर्माणमा पालिकाको अनभिज्ञता ?
यदी कोहलपुरले स्मरण गर्ने खालको विकास गर्ने सतविचार नै हो भने नगरप्रमुखको । कोहलपुर नगरपालिकाको विकासको एउटा उन्नत मोडालिटी बनाउ । अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाको स्तरीकरण गरौं । तत्काल पुरा गर्न सकिने योजना तत्काल पूरा गरौं । मध्यकालीन योजना पाँच बर्षमा पूरा गरौं । दीर्घकालीन योजना अहिले शुरुआत गरौं । दीर्घकालीन योजनालाई पालिका गौरवका आयोजनाको रुपमा ब्यबस्था गरौं । इमानदारी प्रयत्न गर्ने हो भने बिरोध घट्दै जानेछ समर्थन बढ्दै जानेछ।