७ श्रावण २०८१, सोमबार
ह्याप्पी एनिभर्सरी श्रीमान‍ ज्यु !

मलाई केही चाहिएको होइन, मात्र तिमी चाहिएको थियो, तिम्रो साथ र तिम्रो माया चाहिएको थियो


  • धना के.सि.

  • २८ श्रावण २०८०, आईतवार ११:०४

उटा सानो घर । तिमी, म र हाम्रो मायाको चिनो हाम्री छोरी । बस, यत्ति थियो सपना र चाहना, तर मैले चाहेको सबै भत्किएर गयो, के–के भयो भयो । आज (२८ साउनमा) हामी विवाह बन्धनमा बाँधिएको ११ वर्ष भएछ, तर तिमीले मलाई छाडेर गएको तीन वर्ष भयो ।

प्रिय श्रीमानज्यू ! अपार माया र मुटुभरिको सम्झना तिमीलाई । तिमीसँगको यात्रा निकै छोटो रह्यो, तिम्रो जीवनजस्तै छोटो तर माया र सम्झना मेरो जिन्दगीभरिलाई रह्यो ।

कति निठुरी तिमी, मलाई यो सहरमा एक्लै छाडेर कहाँ हो कहाँ हरायौ, न खोजेर भेट्छु न हेरेर देख्छु । तिमीले यदि मलाई देख्न र कहीँकतैबाट सुन्न मात्रै पनि सक्छौ भने बस धेरै माया मेरो । तिम्री धना तिमीबिना एक्ली र रित्तिएकी छे । तिमीले छाडेर गएपछिका यी तीन वर्ष तीन जुनी बराबर भइसकेको छ । खोइ, कसरी बितेका छन् दिनरात, म स्वयंलाई थाहा छैन । रात पर्छ निद्रा नलागेर, घाम उदाउँछ उमंग र खुसीबिनाको । हरेक पलमा तिमी छौ, तर मात्रै महसुसमा । महसुसमा होइन मैले त तिमीलाई काखमा पो चाहेकी थिएँ, तर म अभागीले चाहेर के भयो र ? भयो त केवल भगवानले चाहेको ।

मलाई आज पनि भर्खरै जस्तो लाग्छ, तिमीसँग जोडिएको र किस्मतले तिमीलाई र मलाई जुराएको त्यो दिन ।  तिम्रो र मेरो बिहे छिनेको दिन साँच्चै मलाई धर्ती फाटेजस्तो भएको थियो । सास फेर्न अप्ठेरो भएजस्तो भएर आमासँग गएर चिच्याउँदै रोएकी थिएँ । किनभने नितान्त नौलो मान्छेसँग मेरो बिहे हुँदै थियो । त्यसअघि हाम्रो भेटघाट र कुनै प्रकारको चिनजान थिएन, तैपनि एकैचोटि हाम्रो बिहे छिनिएको थियो । मेरी आमा अनि मेरो परिवारको खुसीका लागि भए पनि मैले तिम्रो हात थामेँ । देखेको होइन लेखेकै हुन्छ भन्छन् नि ! सायद हामीलाई भगवान्ले जुराएका थिए ।

तिम्रो हात थामेर अगाडि बढ्दै गर्दा म तिम्रो प्रेममा हराउँदै गएकी थिएँ, तिम्रो माया र तिम्रो साथ मलाई निकै प्यारो लाग्न थालेको थियो । मेरा टुक्रिएका सपना जोडिँदै थिए, जोडिँदै गरेका मेरा रहर अनि मेरा सपनालाई फेरि किन टुक्राएर गयौ तिमी ?

तिमी मेरो साथमा हुँदा मलाई रित्तो सहर पनि भरिभराउ लाग्थ्यो, अन्धकार पनि उज्यालो लाग्थ्यो । आजभोलि जसरी एउटा माछा पानीबिना छटपटिन्छ, हो त्यसरी तिमीबिना म यो सहरमा छटपटिएकी छु । मलाई यो भरिभराऊ सहर पनि तिमीबिना रित्तो अनि शून्य लाग्छ । मलाई त तिमीसँगै अन्तिम यात्रा तय गर्न मन थियो । बुढो ! तिम्रो त कपाल फुल्यो नि, तिमी अब बुढो भयौ भन्दै जिस्काउन मन थियो । लौरो टेकेर सँगैसँगै गाउँ, चोक अनि यी गल्लीहरू घुम्न मन थियो प्यारा !

मेरा हरेक असफलता र सफलताका कुरा तिमीलाई सुनाउँथे । तिमीलाई सुनाएपछि यो मन कति हल्का हुन्थ्यो । तर अब म असफल हँुदा कसलाई सुनाउने, म सफल भएँ है भन्दै आफ्नो खुसी कोसँग साट्ने प्यारा ! मलाई मेरा हरेक सफलता तिमीसँगै साट्न मन थियो । म मेरो जिग्दगीमा सफल नहँुदै तिमी किन यो संसारदेखि विलीन भयौ प्यारा ?

हरेक दिन, हरेक रात र हरेक पल तिमीलाई खोजिरहेका यी आँखालाई र तिम्रो काखमा झम्टेर रुन नपाएको यो मनलाई कसरी सम्हालुँ ! जताततै अन्धकार र सुनसानबाहेक आजभोलि केही देख्दिनँ म । देख्छु त यी आँखा वरिपरि मात्र तिमीलाई, तिम्रो आवाज अहिले पनि मेरो कानमा गुन्जन्छ, हरेक साँझको निद्रामा तिमीलाई नै खोज्छ यो मन । तिमी मदेखि टाढा भएर भगवान्को प्यारो भइसक्यौ भनेर कसरी बुझाउँ यो मेरो मनलाई ?

जिन्दगीको यात्रा गर्दैगर्दा यति छिटै तिमी किन थाक्यौ । हरेक रात आँसुमा डुबेर सिरानीलाई साथ लिएर बेस्सरी चिच्याउँदै रुन थालेको पनि तीन वर्ष भएछ । तिमीबिना सुनसान छ यो सहर, अन्धकार छन् हरेक दिन अनि रातहरू, हरेक दिन पलपल मरेर बाँचेकी छु म ।

आफैँलाई सम्झाउन सकिरहेकी छैन, तिम्रो र मेरो मायाको चिनो हाम्री छोरीलाई कसरी सम्झाउँ ? तिमी आफैँ भन न । ठूलो पानी पर्दा मेरो बाबा पानीमा भिज्नुभयो होला मम्मी भन्छे । मम्मी छिटो साँझ किन पर्दैन ? बाबालाई कस्तो हेर्न मन छ भन्दै साँझमा घरबाहिर आएर एकोहोरो ताराहरू हेर्दै टोलाउँछे । बाबाको बोली सुन्न मन लाग्छ मलाई, बाबासँग कुरा गर्न मन छ भन्छे । हरेक दिन स्कुल जाँदा बाबासँगै जान मन लाग्छ, अनि साँझपख बाबाको हातलाई सिरानी बनाएर निदाउन मन लाग्छ, कति दिन भयो बाबासँग नसुतेको भन्दा मेरो मन कस्तो हँुदो हो । त्यो ६ वर्षकी अबोध बच्चालाई तिम्रो बोली कसरी सुनाइदिउँ म । तिम्रो अभावलाई कसरी पूरा गरिदिऊँ म, तिम्रो यादमा छोरी कोठामा आएर रोएको देख्दा छियाछिया हुने यो मनलाई कसरी सम्झाउँ ?

काठमाडौँको ठूलो हस्पिटलमा लगेर उपचार गरी तिमीलाई निको बनाउने मेरो सपना अधुरै रह्यो । अन्नपूर्ण न्युरो हस्पिटलको बेडमा तिमीले पीडाले छटपटिएका थियौ, तिम्रो पीडामा मलम लगाउने र तिम्रो दुखाइलाई निको पारी दुःखसुख तिमीसँगै बिताउने मेरा सपना सबै अधुरै रहे प्यारा !

तिम्रो साथ गुमाएपछि आज पनि कति दिनहरू मेरा लागि रात बनेका छन्, अनि कति रातहरु दिन बनेका छन् । हेर्दाहेदै तिमीबिनाको यो जिन्दगीको यात्रा जसोतसो कटेको पनि तीन वर्ष पुगेछ ।

खै कसरी कटेका छन् यी दिनहरू मलाई थाहा छैन । प्रत्येक दिनको मिर्मिरे उज्यालोसँगै तिमी मेरो साथमा छौ भन्ने आभास अझै पनि हुन्छ । हरेक दिनको मिर्मिरे उज्यालोसँगै तिम्रो आगमन हुन्छ कि भनेर तिम्रो बाटो हेर्न मन लाग्छ ।

मेरा आँखाले सपनाको सट्टा तिमीलाई देख्छन् । तिमीलाई यति धेरै माया गर्छु होला भन्ने मैले कहिले सोचेकी थिइनँ, तर थाहा नपाई यति धेरै माया गर्न पुगेँछु । तिम्रो मायाले अनि तिम्रो यादले मलाई निदाउनै दिँदैन । औषधिको सहाराबिना निदाउन गाह्रोे हुन्छ प्यारा मलाई !  कपाल कोरिरहँदा तिमी मुस्कुराएर हेरिरहेजस्तै लाग्छ । मलाई केही चाहिएको होइन, मात्र तिमी चाहिएको थियो, तिम्रो साथ र तिम्रो माया चाहिएको थियो । आज तिमी नहुँदा पलपल मरेसरि भएकी छु ।

तिम्रो यादहरू समुद्रको छालझैँ उर्लेर आउँछ । आज फेरि अनायासै तिम्रो यादको सागरमा डुबेर आँसुको मोती निकाल्न सफल भएँ । हरेक रात मेरो सिरानको छेउमा रहेको टेबुल र टेबुलमा सदा मुस्कुराइरहने तिम्रो तस्बिर हेरिरहन्छु । मेरा आँखाले सपनाको सट्टा तिमीलाई देख्छन् । हो, समय र छालले कसैलाई पर्खंदैन तर मैले सधैँ तिमीलाई पर्खिरहनेछु ।

हामी एक–अर्काको भएको दिनको सम्झनास्वरूप तिमीले मलाई उपहार दिने गरेको हजार रुपैयाँको नोट अझै पनि सम्हालेर राखेकी छु प्यारा ! जसरी एउटा बुढीआमैले आफ्नो सुर्केथैलीमा पैसा पोको पारेर आफ्नो पटुकीमा बाँधेकी हुन्छिन्, हो त्यसै गरी मैले पनि तिमीले दिएका प्रत्येक उपहार अनि तिम्रा यादहरूलाई आफ्नो मनमा गाँठो पारेर राखेकी छु । तिमीले दिएको हिम्मतले त आजसम्म लड्दै छु प्यारा म ! तिमीले मलाई देखिरहेका छौ होला । फेरि पनि तिमीलाई हामी जोडिएको दिनको धेरै धेरै शुभकामना प्यारा !

@रातोपाटिबाट

Nabintech