६ जेष्ठ २०८१, आईतवार
 प्रधानमन्त्री प्रचण्डलाई परदेशीको पत्र 

  • स्वतन्त्र नागरिक

  • ३१ श्रावण २०८०, बुधबार १३:२८

सम्माननिय प्रधानमन्त्री ज्यु सादर नमस्कार !
देशको बागडोर तपाइँको हातमा परेको यो तेस्रो पटक  । पहिलो र दोस्रो पटकको सत्तारोहणमा तपाईंले देशले सम्झना लायक काम गर्नुभयो भएन तपाईंले आत्मा समिक्षा गर्ने बिषय हो ।  तेस्रो पटकको सत्तारोहणमा तपाईंले  भनेजस्तो युरोपेली मुलुकको दाजोमा देश पुर्याउनुहोस त म भन्दिन तर भताभुङ्ग भएको देशको प्रणालीलाई केही हद सम्म सहिबाटोमा ल्याइदिनु भयो भने देशले  तपाईंलाई अवश्य सम्झनेछ ।
भनिन्छ हेर्ने दृष्टि  अनुसार बस्तुको आकृती बन्छ । मैले देखे भोगेको सबै कुरा सत्य नहुनसक्लान तर देशका सबै क्षेत्रहरु आज चरम निराशाको सिकार बनेको चाहिँ सत्य हो।
निराशाले पनि किन नछोपोस देशका पुर्ब प्रधानमन्त्री जस्ता सम्मानित ब्यक्ती ललिता निवास काण्डमा जोडिए पछि । हिजो देशको मुहार फेर्ने भन्दै वलिवेदिमा होमिएका हामीले महान मानिदिएका योद्धाहरु नै  अनैतिक राष्ट्रघाती घटनामा सङ्लग्न देखिँए पछि। जनताको शान्ति सुरक्षाको जिम्मा लिएको ब्यक्ती नै अनैतिक कर्मको अनुसन्धानमा तानिए पछि बिश्वास कस्को गर्नु ? जनताको जीवनस्तर झन्झन्  नजुक बन्दैछ कसरी खुशी मनाउनु ?
सम्माननिय प्रधानमन्त्री ज्यु !
बिदेशीने युवायुवतीको लस्कर झन्झन् लामो हुदैछ । विद्यालय महाविद्यालय बन्द हुदैछन । ब्यापार ब्यबसाय धरासायी हुदैछन । उधोगधन्दा, कलकारखाना धोम्स हुदैछ्न । महङ्गी आकाशिदो छ। बिदेशी ब्यापार घाटा बढ्दो क्रममा छ । भ्रष्टाचारका काण्ड छोपी नसक्नु छ। पाखोबारी बाझो हुदैछ। किसानले समयमा मल पाउदैन, उत्पादन बेच्न बजार पाउदैन ।
के यहीँ हो हामीले बनाउन खोजेको नयाँ नेपाल?
तपाईंको युद्ध अभियानमा दिलोज्यानले साथ दिएका सयौं  योद्धा र म जस्तै निम्न बर्गिय ब्यक्तिहरु बिदेशीएर काम गर्ने खाडी मुलुकहरु प्राकृतिक रुपमा नेपाल  भन्दा धेरै नै पछाडी छ्न  तर सगरमाथा र बुद्धको देशका लाखौं मानिसलाई रोजगारी दिइरहेका  छन । जलस्रोतको धनी देशका लाखौं परिवारको लागि दानापानी उनिहरुकै देशबाट आउँछ । यो त एक लज्जाको बिषय भएन र?
देशको अस्तव्यस्ततालाई हेरेर पुर्पुरोमा हात लगाएर निराश भएर बस्नुहोस म भन्दिन । महान ब्यक्तिहरु चुनौती विच नै अवसर सृजना गर्छन र इतिहासको पानामा स्वर्ण अक्षरले आफ्नो नाम दर्ज गरेर जान्छन् ।
यो सुनौलो अवसरको सदुपयोग गर्नेकी प्रधानमन्त्रीको जागीर खाएर जाने विकल्प हजुरकै सामु छ।
मेरो अनुरोध छ पहिलो विकल्प छनोट गरिदिनुहोस । हाम्रा छिमेकी लगाएत विश्वका कयौं देशले छोटो समयमा गरेको उन्नतिको दृष्टान्त सम्बन्धमा हजुर जानकार नहुने कुरै भएन। अरु सबैले गर्न सक्छन् भने हामीले किन नसक्नु ?
कुनैपनी देशको उन्नतिको पहिलो र अनिवार्य सर्त हो सत्यताको धरातलमा टेक्नु।  तपाईं देशको प्रधानमन्त्री हो, झण्डै  तीन करोड नेपालीको अभिभावक हो, भावावेशमा नबोल्नुहोस । भिडको आकार हेरेर  भावाशेषमा धारणा नबनाउनुहोस, यथार्थताको मानकमा धारणा  बनाउनुहोस ।  भिडलाई सही दिशा दिनुहोस् त्यो हो महानता । कुनैपनी कुरा सत्यता र बस्तुनिष्ठताको कशिमा जाचेर बोल्नुहोस। अनिमात्र देशमा शान्ति सुरक्षा, अमन चयन कायम हुन्छ, जो देश विकासको अनिवार्य पुर्व सर्त हो।
तपाईं त अहिले पनि जातिय प्रदेशको  आगो ओकलिरहनु भएको छ। यो देशको लागि कदापि शुभ संकेत हैन । तपाईं त जानकार हुनुहुन्छ नि रुवाणडा, कङ्गो, लगाएतका अफ़्रिकि मुलुकको दुर्दशा के छ । जहाँ जातीय युद्धको आगोले कसरी तहसनहस पार्यो । एक सय दिनको छोटो समयमा दश लाख मानिसको ज्यान गएको र पचास लाख अङ्गभङ्ग भएको तितो यथार्थ त तपाई हाम्रो आमुन्नेमा छ।  विश्वका कयौं देशमा शल्केको साम्प्रदायिक हिंसाको आगोले कति क्षती पुर्याइरहेको छ तपाईं जानकार हुनुहुन्छ ।
पहिचान सबैलाई प्यारो लाग्छ,  कसैको पनि पहिचानको बर्खिलापमा कोही जानुहुदैन । तर यो सत्य हो कि, हामी सबैको पहिचान तब मात्रै बलियो हुन्छ जब देश आर्थिक, सामाजिक रुपमा बलियो हुन्छ ।  भोको पेटले पहिचानको अर्थ बुझ्दैन ।  सर्ब प्रथमतः हामी नेपाली हौं नेपाली हुनुमा गर्व गर्ने वातावरण बनाउन लाग्नुहोस । नेपाल आर्थिक, शैक्षिक, सामाजिक रुपमा उन्नत भयो भने हामी सबैका पहिचान पनि बर्करार रहने छ्न ।
तपाईंले भ्रष्टाचारका फाइलहरु खोल्दै गर्दा नेपाली जनतामा केही आशाको संचार भएको छ भने केही शंका  पनि उब्जेको छ। केहि फाइल खोलेर बिरोधिलाई तर्साउने स्टन्ट मात्रै हो भने बन्द गर्नुहोस् यो सब नाटक । हैन भने भ्रष्टाचारका सम्पुर्ण फाइल खोल्नुहोस । एउटै मानक र विधि बाट कारबाही गर्नुहोस् । जुनसुकै पार्टीको ब्यानर पछाडि लुकेको अपराधी किन नहोस, अपराधी  आफ्नो वा  पराइ हुनै सक्दैन । अपराधी अपराधी नै हो, अपराधीलाई कानुनको कठघरामा उभ्याउनै पर्छ ।त्यो  मानकले तपाईंलाई नै किन नतानोस सजाय भोग्न तयार हुनुहोस् ।
हामी विश्वको सुन्दर मध्य एक देश नेपाल भनेर रटान लगाई रहन्छौ । त्यहीँ सुन्दर देशका आफ्नै जनता आज बिदेशीन किन लालायित छ्न ? कतै तपाईंहरु जस्तै राजकाज सम्हालेका आदरणीय नेताहरूकै कारण देश युवाहरूको भविस्य सुरक्षीत बनाउन नसक्ने अवस्थामा त पुगेन ? कुरो सोचनिय छ।
तपाईंले हिजो जनतालाई बाडेका आश्वासन कति पूरा भए कति पूरा भएनन, मूल्याकंन गर्नुपर्ने भएन र ? तपाइँले परिकल्पना गरेको देश बन्यो बनेन,  जनतालाई भन्ने बेला भएन र ? तपाईं देशको सर्बोच्च कार्यकारी पदमा हुनुहुन्छ,  तपाईंलाई कस्ले रोक्छ आफ्ना एजेन्डा लागू गर्न ? आजको सूचना र प्रबिधिको युगले नेपाली जनतालाई पनि प्रभाव पारेको छ। उनीहरूको चेतना स्तरमा कयौं गुणा गुणात्मक सुधार आएको छ। आफू सत्तामा हुदा केही गर्न नसक्ने अनि दोष जति अरुको टाउकोमा हालेर गोहीको आँसु झार्दैमा जनताले मन्नेवाला छैनन् ।
आजका जनताले कुनै पार्टीको आजिवन भक्त भएर बस्न चाहादैनन, जनताका आबश्यक्ताको सम्बोधन गर्नसक्ने सक्षम नेतृत्वको खोजीमा छन भन्ने कुराको संकेत  नयाँ राजनीतिक शक्ति र ब्यक्तिहरुको उदयले दिइसकेको छ।
 तपाईंलाई जनताको ताकतमा विश्वास छ भने आफ्नै पार्टी बाट शुरु गर्नुहोस् शुद्धीकरणको अभियान । तपाईंको पार्टीका  दुईचार नेता अपराधी प्रमाणित भएर जेल गए पनि चिन्ता नगर्नुहोस् लाखौ जनता तपाईंको पक्षमा उभिने छन । सत्ताको आयु लम्ब्याउन कुनै पनि अपराधका दोषी सग सम्झौता नगर्नुहोस् ।
तपाइँका प्रीय कमरेडहरुलाई भाला रोपीरोपी मारिएको गौर घटनाको अनुसन्धान के ले रोक्यो ? भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएका केही उच्चपदस्थ ब्यक्तिलाई अनुशन्धानको दायरामा किन ल्याइएन ? निर्मला पन्त जस्ती अबोध बालिकाको निर्मम हत्या गर्ने हत्याराको पहिचान किन हुन सकेन ? लडाकु शिविरमा अनियमितता भयो भएन भनी किन अनुशन्धान भएन?  वाइडबडी, ॐनी लगाएत भ्रष्टाचार काण्ड भनिएका सबै काण्डको छिनोफानो किन भएन ? हिजो युद्धको डडेलोले घाइते र अङ्गभङ्ग भएका हजारौं पीडितहरुका घाउमा आज सम्म किन मलम लगाउन सकिएन ? हिजो बिस्तारवादी र साम्राज्यवादीको आरोपमा धारेहात लगाइएका शक्तिसग आज  किन चु बोल्न नसक्ने भयौं ?
 यी प्रश्नले हजुरलाई कहिलेकाही घोच्दैन र ?
जब सत्यता र इमानदारीको धरातलमा टेकेर अस्थित्व बचाउन सक्दैनौ तब हाम्रो अन्यशक्ती सग मुकाबिला गर्ने नैतिक ताकत हराएर जान्छ, जो आजको यथार्थ हो।
मेरो अनुरोध छ, राज्यका अङ्ग प्रतिको जनताको अविश्वासलाई बदलेर विश्वास गर्नसक्ने वातावरण बनाइदिनुहोस । यहाँ निमुखाले पनि न्याय पाउछ भन्ने विश्वास दिलाइदिनुहोस । कानुनी राज्यको अनुभुति गराइदिनुहोस । कसैको भन्सुन बिना  जनताले उपचार सम्म नपाउने अवस्था छ,  के यहीँ हो गणतन्त्रको सुन्दरता ? राज्यका कुनैपनी सम्यन्त्र कसैको प्रभावले हैन कानुनको मार्गनिर्देशनमा चल्छन भन्ने कुराको प्रमाणित गरिदिनुहोस । आफ्नै देशमा केही गरीखाने वातावरण बनाइदिनुहोस । आज तमाम नेपाली सिस्टमले चल्ने देश चाहेका छन ।
 हामी जस्ता बिदेशीएका लाखौं नेपालीहरुले पठाएको रेमिटेन्सले देश चलाउने भन्दा उधोगधन्दा, कलकारखाना, कृषिको आधुनिकीकरण गरेर हामीलाई स्वदेश फर्कने वातावरण बनाउनुहोस । हामी आतुर छौ स्वदेश पर्कन । कसलाई रहर हुन्छ र रोजिरोटीको लागि पराइ देशमा  जीवन बिताउन ?   कुरो होइन काम गर्नुहोस् । क्रान्तिकारी परिवर्तन त सम्भव नहोला तपाइँले चाहे थोरै भएपनी सुधार सम्भव छ। एकपटक काठमाडौको मेयर बालेन्द्र शाहलाई हेर्नुहोस त केही न केही त हुदोरहेछ नि गरेपछि ।  यसपटकको  तपाईंको प्रधानमन्त्रीत्वमा देशले केही न केही सकारात्मक बाटो समातोस । यति भन्दै अहिलेलाई  विदा हुन्छु।
तपाइँको शुभचिन्तक
Nabintech